रौतहटको इशनाथ नगरपालिकाका मेयर र उनका भाइलाई पक्राउ गर्न जिल्ला अदालत मकवानपुरले पक्राउ पुर्जी जारी गरेको छ।
जिल्ला अदालत स्रोतले मकवानपुरले मंगलबार रौतहटस्थित ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहतालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको बतायो।
'मंगलबार जिल्ला अदालत मकवानपुरका न्यायाधीश डिल्ली रत्न श्रेष्ठको इजलासले मेहतालाई पक्राउ गर्न अनुमति दिएको हो,' अदालत स्रोतले सेतोपाटीसँग भन्यो।
मकवानपुरको पशुपतिनगरस्थित प्रहरी कार्यालयले गाँजा सहित पक्राउ गरेका व्यक्तिको वयानका आधारमा प्रहरीले मेहतालाई पनि पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो।
'इशनाथ नपाद्धारा संचालित बा २ झ १७४९ एम्बुलेन्सलाई माघ १० गते गते हेटौडा उपमहानगरपालिका १९ नेवारपानीमा नेपाल प्रहरीले रोकेर चेक गर्दा ३ वटा झोलामा ३० किलो ६०० ग्राम लागु औषध, गाँजा बरामद भएको भन्ने सूचना हामीलाई आएको छ,' रौतहट प्रहरी कार्यालयका एक इन्सपेक्टरले भने 'सो क्रममा इशनाथ ९ का चालक महम्मद खालिद, अशोक कुमार,भारत विहारका विनोद सहनीलाई नियन्त्रणमा लिएर मकवानपुर प्रहरीले कारवाही प्रक्रिया सुरू गरेको भन्ने छ।'
प्रहरीले गाँजासहित पक्राउ गरेका व्यक्तिले उक्त गाँजा मेयरको हो भनेपछि प्रहरीले मेयरमाथि पनि अनुसन्धान अघिबढाएको थियो।