लकडाउनले समस्यामा परेकाहरुका लागि राहत बाँड्ने क्रममा वीरगन्जमा झडप हुँदा २० जना घाइते भएका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर १९ बरेवा गाउँमा राहतका लागि नाम टिपाउने क्रममा दुई पक्षबीच झडप भएको हो।
घाइतेमध्ये केहीको टाउको फूटेको छ भने केहीको हात भाँच्चिएको छ। घाइते सबैको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।
सो ठाउँमा राहत बाँड्न मंगलबार १ लाख २५ हजार रुपैयाँ पठाइएको थियो। उक्त रकमबाट राहत सामग्री बाँड्नका लागि वडा अध्यक्ष सन्तोष तिवारीको अध्यक्षतामा बसेको बैठकले अर्को सर्वदलीय राहत समाग्री वितरण समिति गठन गरेको थियो।
लकडाउनका कारण पीडित परिवारको विवरण संकलन गर्ने क्रममा समितिका सदस्यहरुबीच नै विवाद भएको हो।
समितिका सदस्य प्रभु यादवले प्रभावित परिवारको विवरण संकलन गर्ने क्रममा आफ्ना नातागोताकामा पर्नेहरुको मात्रै नाम लेखेको भन्दै एक स्थानीय उपेन्द्र यादवले विरोध गरेका थिए। उपेन्द्रले विरोध गरेपछि दुवै पक्षबीच झडप भएको हो।
झडपमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। यस सम्वन्धमा अनुसन्धान भइरहेको शाहीले बताए।