दोलखाको मेलुङ गाउँपालिकाले संभावित कोरोना संक्रमण जोखिमबाट जोगिन नयाँ उपाय निकालेको छ।
के भन्नुहोला, विदेशबाट हालै गाउँ आएकाहरूको घरमा रातो झन्डा राखिएको छ। विदेश नजानेका घरमा झन्डा छैन।
‘विदेशबाट आएका पाँच जनामा अहिलेसम्म कोरोना संक्रमण देखिएको छ। कोरोनाको मुहान विदेश नै रहेछ नि!,’ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले सेतोपाटीसँग भने, ‘लकडाउनका बेला म अरूको घरमा जान्न, अरू पनि मेरोमा नआउन् भन्ने सन्देश दिन पनि रातो झन्डा राखिएको हो।’
तीन दिनदेखि गाउँका घरमा रातो झन्डा राख्ने काम भइरहेको छ। जुन घरमा हालै विदेशबाट आएकाहरू सेल्फ क्वारेन्टाइनमा बसेका छन् ती घरमा झन्डा राखिएको छ।
‘अहिलेसम्म ११ जना विदेशबाट आएकाहरू भेटायौं, अरू पनि छन् कि विवरण संकलन हुँदैछ,’ उनले भने, ‘विदेशबाट आएकाहरूलाई घरमा पनि बेग्लै राखिएको छ।’
को-को विदेशबाट गाउँमा आएका छन् विवरण संकलन गर्न जनप्रतिनिधि, कर्मचारी खटिएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशबाट वडामा आउनेको विवरण उपलब्ध गराउन भनेको छ।
‘आफू पनि बाँच्नुस्, अरूलाई पनि बचाउनुस् भनेर गाउँमा सचेतना अभियान नै चलाएका छौं,’ उनले भने, ‘कोरोनाले आफ्नो अर्को चिन्दैन, ठूलो सानो भन्दैन। गरिब धनी भन्दैन। यसबाट बच्न त पटकपटक साबुनपानीले हात धुनुपर्यो, घरमै बस्नुपर्यो।’
मेलुङबाट टाढा, सुदुरपश्चिम प्रदेशको जानकी गाउँपालिकाले पनि संभावित कोरोना संक्रमण नफैलियोस् भनेर विदेशबाट आउनेको घरमा रातो झन्डा टाँगेको छ।
गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरीले सेतोपाटीसँग कुराकानी गर्दै वडा नम्बर ९ मा भारतबाट आएकाहरू धेरै भएकोले झन्डा राख्नुपरेको बताए।
‘वडा नम्बर ९ मा हालै भारतबाट धेरै मानिस आएका छन्। उनीहरू घरमा बस्दैनन्, गाउँ डुल्न रूचाउँछन्,’ उनले भने, ‘उनीहरू समाजमा घुलमिल हुन सक्ने र लकडाउनको पनि पालना नगरेपछि उनीहरूका घरमा रातो झन्डा राखिदिएका हौं।’
उनीहरूलाई घर छाडेर गाउँ नडुल्न चेतावनीस्वरूप झन्डा राखेको उनले बताए। ‘अहिलेसम्म २५ घरमा रातो झन्डा राखिसकियो,’ उनले भने, ‘सोमबारदेखि झन्डा राख्ने काम भइरहेको छ।’
लकडाउन घोषणा हुनुपूर्व गाउँ आएकाहरूको घरमा रातो झन्डा राखेको र लकडाउन घोषणापछि आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए।
गुल्मीको गुल्मीदरबार गाउँपालिकाले पनि विदेशबाट आएकाहरूका घरमा झण्डा राख्ने योजना बनाएको छ। त्यसका लागि वडामा रहेका महिला स्वास्थ्य स्वयसेविका तथा जनप्रतिनिधिलाई परिचालन गर्ने निर्णयमा गाउँपालिका पुगेको छ।
गाउँपालिका अध्यक्ष अशोककुमार थापाले झन्डा राख्ने तयारी गरे पनि सुरू नगरिएको बताए। ‘तयारी गर्दैछौं। नकरात्मक सन्देश पो जान्छ कि भनेर केही दिन पर्खिएका छौं,’ उनले सेतोपाटीसँग भने।
अध्यक्ष थापाका अनुसार एक सय ६० जना हालै विदेशबाट आएका छन्। ‘प्रहरी, जनप्रतिनिधिको रोहवरमा उनीहरूलाई होम क्वारेन्टाइनमा राखिएको छ,’ उनले भने।