ललितपुरको महालक्ष्मी नगरपालिकामा १३ जना इन्डोनेसियन नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ।
बुधबार राति सप्तरीबाट फर्किएका १३ जना इन्डोनेसियनलाई इमाडोलमा रहेको एक मस्जिदमा क्वारेन्टाइनमा राखिएको हो।
'सप्तरीबाट पाससहित काठमाडौं फर्किएका रहेछन्,' महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी मित्रबन्धु शर्माले सेतोपाटीसँग भने,'बनेपाको एक मस्जिदमा गएका थिए तर त्यहाँ लिन नमानेपछि प्रहरीले इमाडोलमा राख्न ल्याएको हो।'
गत फेब्रुअरीमा सप्तरीमा इस्तेमा (मुस्लिम समुदायको धार्मिक प्रवचन) भएको थियो। सो प्रवचन संसारका अरू देशबाट पनि सहभागीहरू आएका थिए। सोही इस्तेमा भाग लिन जनवरी २१ मा सात जना इन्डोनेसियन आएका थिए भने फेब्रुअरी ११ मा ६ जना थपिए।
जनवरीमा आएका ती नागरिकहरू फेब्रुअरी ८ मा सप्तरी पुगे भने अन्य बाँकी फेब्रुअरी १३ तारिखमा गएका थिए।
प्रहरीका अनुसार सप्तरीमा फेब्रुअरी १४, १५ र १६ तारिखको इस्तेमा थियो।
सप्तरीका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्द ठाकुरका अनुसार इन्डोनेसियन नागरिकहरू कञ्चन रूप नगरपालिकाको एक मस्जिदमा बसिरहेका थिए।
त्यहीबीच लक डाउन भएपछि उनीहरू अलपत्र परेका थिए।
‘यहाँबाट कहीँ जान नपाउने भएपछि हामीले गाडीमा हालेर काठमाडौं पठाइदिएका हौं,’ ठाकुरले भने।
सप्तरीबाट हिँडेका उनीहरू बनेपाको एक मस्जिदमा बस्नका लागि गएका थिए तर त्यहाँ बस्न नदिएपछि उनीहरूलाई प्रहरीले इमाडोल ल्याएको हो।
इमाडोलको उक्त मस्जिदमा बालबालिका तथा वृद्धहरू समेत बस्ने गरेका छन्।
'उक्त मस्जिद चार तलाको छ हामीले उनीहरूलाई छुट्टै एउटा फ्ल्याटमा क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइदिएका छौं,' सातदोबाटो वृत्तका डिएसपी शर्माले भने,'हामीले उनीहरूको केही सामान्य उपचार गर्यौं। कोही बिरामी पनि थिएनन्।'
उनीहरू भारतबाट आएको भन्ने हल्ला भए पनि त्यसो नभएको उनले बताए।
'उनीहरू भारतबाट आएका भन्ने हल्ला मात्रै रहेछ गएका छैनन्,' डिएसपी शर्माले भने।