कोरोना भाइरस (कोभिड-१९) की छैठौं संक्रमित महिला बाग्लुङकी भएको खुलेको छ।
यसअघि बाग्लुङकै १९ वर्षीय युवतीमा पनि कोरोना संक्रमण देखिएको थियो। उनीहरू दुबै जना गत चैत ४ गते एउटै जहाजमा बेल्जियमबाट दोहा हुँदै काठमाडौं आएका थिए।
बाग्लुङ गौंडाकोटकी ती ६४ वर्षीया महिला यसअघि कोरोना देखिएकी युवतीकी नातेदार हुन्।
'उहाँहरू नातेदार हो। संक्रमित युवतीकी दिदी-बहिनी कसैको बिहे आज संक्रमण पुष्टि भएकी महिलाका जेठा छोरासँग भएको रहेछ,' बाग्लुङ नगरपालिकाका मेयर जनकराज पौडेलले भने।
अहिले ती संक्रमित महिलाको अवस्था सामान्य रहेको र उनी होम क्वारेन्टाइनमा बसेको मेयर पौडेलले जानकारी दिए।
'उहाँसँगै आएकी युवतीमा संक्रमण देखिएपछि उहाँ होम क्वारेन्टाइनमा हुनुहुन्छ। खासै समस्या छैन। पहिले थोरै दमको समस्या थियो रे,' उनले भने।
संक्रमित महिलालाई अस्पताल ल्याउनको लागि छलफल चलिरहेको पौडेलले जनाए। संक्रमितलाई धौलागिरी अस्पतालमा भर्ना गरिने तयारी भइरहेको छ। अर्की संक्रमित युवती पनि सोही अस्पतालमा उपचाररत छिन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र पौडेलले संक्रमित युवतीको दोस्रो परीक्षण गर्न स्वाब पठाइसकेको जानकारी दिए।
'हामीले स्वाब पठाइसकेका छौं। रिपोर्ट आउन बाँकी छ,' उनले भने।
गत चैत ४ गते कतार एअरको क्युआर ६५२ जहाजमै आएका काठमाडौंकी १९ वर्षीया युवतीलाई पनि कोरोना संक्रमण देखिएको थियो।
उनी फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी थिइन्। हाल उनको टेकु अस्पतालमा उपचार भइरहेको छ।