बिहीबार बाग्लुङकी ६५ वर्षीया महिलालाई कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएपछि आजै अस्पताल भर्ना गरिएको छ।
सुरूमा पोखरा लैजानेबारे धेरै छलफल चले पनि बिरामीलाई बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पताल भर्ना गरिएको हो। बिरामी महिलालाई दमको पनि रोग भएकाले चिकित्सक र केही जनप्रतिनिधिहरूले पोखरा लैजान जोड गरेका थिए। तर प्रदेशले बिरामीको अवस्था अहिले जटिल नभएको भन्दै त्यहीँ भर्ना गर्न भन्यो।
टेकु अस्पतालका एक चिकित्सकले भने उनलाई सुविधासम्पन्न अस्पतालमा लैजानुपर्ने सुझाएका छन्।
'बिरामीको उमेर ६५ वर्ष र दमको पनि समस्या भएकाले कुनै बेला पनि आइसियू वा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ। फेरि कोरोनाले अप्ठयारो पार्ने भनेको श्वासप्रश्वास प्रणालीमै हो। त्यसैले सुविधासम्पन्न अस्पतालमै लैजानुपर्छ,' उनले भने।
बिरामीको उमेरका कारण पनि थप सतर्क रहनु पर्ने जिकिर उनको छ।
संक्रमित महिलालाई भर्ना गरिएको धौलागिरी अञ्चल अस्पतालमा आइसियू र भेन्टिलेटरको सुविधा छैन। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पौडेल पोखराबाट एउटा भेन्टिलेटर आए पनि त्यसले काम नगरेको बताउँछन्।
आवश्यक पूर्वाधार नहुँदा संक्रमितको उपचार गर्न समस्या हुने उनले बताए।
'संक्रमित महिलामा अहिले त धेरै समस्या देखिएको छैन। तर उहाँ दमको पनि रोगी भएकाले भोलि थप समस्या आयो भने हामीले पोखरा पठाउनुपर्छ,' उनले भने।
यसअगाडि बाग्लुङकै १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा पोखराबाट एउटा भेन्टिलेटर पठाइएको थियो। तर भेन्टिलेटरले काम गरेन र पछि हेर्दा भेन्टिलेटर बिग्रिएको पाइयो।
एक स्थानीय जनप्रतिनिधिले भने बिरामीलाई पोखरा लैजान प्रदेश अस्पतालले चासो नदेखाएकोमा असन्तुष्टि पोखे।
'बिग्रेको भेन्टिलेटर पठाएको रहेछ। हामीले फिर्ता लैजानुस् भनेका छौं। संक्रमितलाई उपचारका लागि पोखरा लैजान आग्रह गर्दा प्रदेशले कुनै चासो दिएको छैन,' उनले भने।
प्रदेशलाई आग्रह गर्दा तर्किएको उनको भनाइ छ, 'पोखरा कुनै हालतमा संक्रमितलाई लगेर उपचार गर्न तयार छैन।'
पोखरास्थित प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले भने आजै एउटा नयाँ भेन्टिलेटर पठाएको जानकारी दिए।
'अस्ति पठाएको यहाँ त चलिरहेकै थियो। लैजाँदा बाटोमा हल्लिएर समस्या आयो जस्तो छ। तर आजै नयाँ पठाएका छौं,' उनले भने।
उनले संक्रमितको अवस्था सामान्य रहेको र भोलि अप्ठ्यारो हुनेबित्तिकै पोखरा ब्याकअपका रूपमा रहेको बताए। 'जम्मा डेढ घन्टाको बाटो हो। अप्ठ्यारो हुनेबित्तिकै हामी ल्याउन तयार छौं,' उनले भने।
विज्ञहरू कोरोनाले सिकिस्त बिरामीको उपचार गर्ने अस्पतालमा सकेसम्म आइसियू र भेन्टिलेटरको व्यवस्था हुनुपर्नेमा जोड दिन्छन्। टेकु अस्पतालमा पनि दुई जना कोरोना संक्रमित बिरामी उपचारत छन्। अस्पतालका निर्देशक सागर राजभण्डारीका अनुसार अस्पतालमा तीन वटा आसियू र दुइटा भेन्टिलेटर छन्।