मुक्तिनाथ बाबाले बोलायो भनेर बिहीबार २ जना ‘माता’ म्याग्दीबाट मुस्ताङतर्फ लागे। म्याग्दीबाट मुस्ताङको प्रवेशद्वार घाँसामा पुगेपछि उनीहरूलाई स्थानीय आमा समूहले रोके। गाउँ छिर्न नदिने बताए। घाँसाका स्थानीयवासीलाई ती २ मातालाई क्वारेन्टाइनमा बस्न या फर्कने विकल्प दियो। मुक्तिनाथ जान नपाउने भएपछि उनीहरू फर्किए।
कालीगण्डकी करिडोर सडक आयोजनाका प्रमुख अशोक तिवारीको नेतृत्वमा चैत १९ गते ७ जनाको टोली चीनसँग जोडिएको कोरोला नाका जाँदै थिए। स्थानीयले ठाउँ-ठाउँमा लगाएको तगारो पन्छाउँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेपछि उनीहरू सवार २ वटा गाडी रोकिए।
लोमान्थाङ गाउँपालिका ५ का वडाध्यक्ष नवाङकुङ्गा लामाले लकडाउनको समयमा गाडी चलाएर दुरूपयोग गरेको भन्दै सडक आयोजना निरीक्षण गर्न गएका टोलीलाई फर्कन आग्रह गरे, उनीहरू फर्किए। कोरोला नाका पुग्न पाएनन्।
मुस्ताङमा अहिले टोलटोलमा स्थानीय युवा, महिलालगायतका समूहले बाहिरबाट गाउँ भित्रन दिएका छैनन्। गाउँबाट पनि कसैलाई बाहिर जान दिएका छैनन्। कोही भित्रिन चाहे स्थानीय क्वारेन्टाइनमा१४ दिन बस्नुपर्ने भनेपछि कोही भित्रिन पनि नचाहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश अर्यालले बताए।
‘मुस्ताङ प्रवेश गरेपछि उपल्लो मुस्ताङको लोमान्थाङ पुग्दा १५ ठाउँमा चेकजाँच हुन्छ,’ उनले भने, ‘स्थानीयले स्वत:स्फुर्त यो काम गरिराखेका छन्।’
कोरोना भाइरस रोकथामका लागि मुस्ताङका गाउँ-गाउँमा रहेका ‘मुखिया’ले पनि सचेतना जगाउन भूमिका खेलेको सिडिओ अर्यालले बताए।
मुस्ताङ प्रवेश गरेपछि घाँसामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको चेकपोष्ट छ। त्यहीँ सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहितको चेकपोष्ट राखिएको प्रशासनले जनाएको छ। सवारी साधन आउन नदिन घाँसा, लेते, कोवाङ, मार्फा, टुकुचे, जोमसोमलगायतका ठाउँमा सडकमै स्थानीयले तगारा हालेका छन्।
मुस्ताङमा अहिले आफ्नो देश फर्कन नचाहेका २२ जना जति पर्यटक छन्। उनीहरु अष्ट्रेलिया, जर्मनीलगायत देशका हुन्। लक डाउन भएपछि १७९ जना पर्यटकलाई उद्धार गरी काठमाडौं पठाइएको छ।
‘पर्यटकलाई जुन होटलमा बसिराखेको छ, त्यही बस्न भनेका छौं,’ सिडिओ अर्यालले भने।
लक डाउनलाई कडाइ गर्न स्थानीयवासी नै तम्सिएकाले प्रशासनलाई लक डाउन कार्यान्वयनमा सहयोग पुगको छ। सामान्य ज्वरो आए पनि स्थानीयवासीले जिल्लास्थित स्वास्थ्यकर्मी र प्रशासनलाई जानकारी गराएको अर्यालले बताएका छन्।
मुस्ताङका स्थानीय लक डाउनलाई प्रभावकारी बनाउनमात्र नभई सेवामा पनि उत्तिकै खटिएका छन्।
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीका स्थानीय सोनाम फुर्बा गुरुङले अत्यावश्यक सेवाका लागि भनेर आफ्नो गाडी गाउँपालिकालाई दिएका छन्। लक डाउनमा उपचार र अत्यावश्यक कामका लागि चाबी र चालकसहित गाउँपालिकालाई उनले गाडी उपलब्ध गराएका हुन्।
यस्तै, ल्होघेकर दोमोदरकुण्ड गाउँपालिका ५ घिलिङका झ्याबयाङ तेञ्जिङ गुरूङले पनि वडाध्यक्षलाई गाडी बुझाएका छन्। उनले पनि गाडी, चालक र ड्राइभर वडाध्यक्षसँगै रहने गरी अत्यावश्यक सेवाका लागि दिएका हुन्।
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका खिङ्गा गाउँका रमेश गुरुङले भने आफ्नो गाडी प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन्। अत्यावश्यक सेवामा सवारी साधनको कमी नहोस् भनेर ड्राइभर पनि प्रशासनकै अधिनमा रहने गरी बुझाएको बताएका छन्।
उपल्लो मुस्ताङको लोमान्थाङका युवाले भने गाउँमा रहेको खानेपानीको समस्या समाधान गरेका छन्। खानेपानीको पाइपभित्रै पानी जमेर पाइप फुटेपछि गाउँमा खानेपानीको अभाव भएको थियो। पाइप फुटेको ठाउँ पत्ता लगाएर उनीहरुले मर्मत सम्भार गरेका छन्।
घरपझोङ गाउँपालिकाको मार्फाका युवाले गाउँमा किटनाशक औषधी छरेका छन्। स्वास्थ्य संस्थासँगको सहकार्यमा उनीहरुले गाउँमा किटनाशक औषधी छर्किएको जनाएका छन्।
उपल्लो मुस्ताङबाट प्रदेश सभा सदस्यमा निर्वाचित साँसद इन्द्रधारा बिष्टले पनि जिल्लाका लागि १ महिना बराबरको तलबबाट मास्क र स्यानिटाइजर सहयोग गरेका छन्। मुस्ताङमा कार्यरत पत्रकार, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि १ हजार थान मास्क र ५० वटा स्यानिटाइजर प्रदान गरेको बताए।