करिब चार वर्षअघि श्रीमानको निधन भएपछि रामेछाप, हिमागंगाकी अमिका विकलाई घर शून्य लाग्यो।
घर-व्यवहारको सम्पूर्ण जिम्मा उनको काँधमा थियो। उनलाई गाउँमा खेती–किसानी गरेर दुई छोरा र चार छोरी हुर्काउन कठिन भयो। बालबच्चा हुर्काउन सजिलो होला भनेर उनी गत वर्ष पोखरा आइन्।
अमिकाका दिदी–भेना पहिल्यै पोखरा झरिसकेका थिए। उनीहरू डुंगा चलाएर जीवन धान्थे। अमिकालाई पनि दिदी–भेनाले पोखरा बोलाए। सुरूमा ज्यामी काम गरेकी अमिकाले अहिले फेवातालको बाराहीघाटमा काम पाएकी छन्, डुंगा चढ्दा लगाउने ‘लाइफ ज्याकेट’ धुने।
बाराही मन्दिर जाने पर्यटकदेखि फेवाताल घुम्ने र पारि शान्ति स्तुप जानेहरू यही घाटबाट डुंगा चढ्छन्। डुंगा चढ्दा पर्यटकलाई लाइफ ज्याकेट लगाउन अनिवार्य छ। अमिकाले धोएको ज्याकेट नै डुंगा चढ्नेहरूले लगाउँछन्।
लकडाउनपछि फेवातालमा डुंगा चल्न छाडे। अमिकाले लाइफ ज्याकेट धुन पाइनन्। दैनिक २५ देखि ४० वटा ज्याकेट धुँदा महिनामा ८ हजारसम्म कमाइ हुन्थ्यो। त्यही कमाइले आफू र छोराछोरी पालिन्थे। लकडाउनपछि उनको आम्दानीको बाटो पनि ‘लक’ भएको छ।
उनको मात्र होइन, फेवातालमा डुंगा चलाउने झन्डै दुई सय जना डुंगा चालक कामविहीन बनेका छन्। पर्यटक आउने ‘पिक सिजन’ मै डुंगा चलाउन नपाउँदा चालक राजा लामालाई पोखरामा पालिन धौधौ बनेको छ।
'डुंगा चलाउन नपाउँदा साह्रै गाह्रो भइसक्यो,' लामाले सेतोपाटीसँग भने, 'दिनभरि डुंगा चलाएर साँझ–बिहान छाक टार्न पाइएन।’
फेवातालमा डुंगा चलाउने चालक यसै पनि शोषणमा रहेको उनीहरूको भनाइ छ। उनीहरूका अनुसार, एक घन्टा डुंगा चढ्दा पर्यटकले ७ सय रुपैयाँ तिर्नुपर्छ। यसबाट चालकले जम्मा १२० रुपैयाँ पाउँछन्। दिनभर काम पायो भने ५-६ सय आँम्दानी हुने अर्का डुंगा चालक लक्ष्मी नेपालीले बताइन्।
डुंगा व्यवसायी समितिका अनुसार फेवातालमा दैनिक ७ सय डुंगा चल्छन्। पर्यटक आउँदा पालो पर्खेर मात्र डुंगा चलाउन पाउँछन्। सिजन नभएको बेला त कहिलेकाहीँ दिनभर एकपटक पनि पालो नआउने लक्ष्मीको भनाइ छ।
‘यति बेला दिनमा ४-५ ट्रिप चलाउन पाइन्थ्यो,' उनले भनिन्, 'यो भाइरसले हामीलाई गरिखान नि दिएन।’
डुंगाको पालो लगाउनेदेखि भाडा तोक्ने, चालकको पारिश्रमिक तोक्ने लगायत काम फेवा डुंगा व्यवसायी संगठनले गर्छ। संगठनले व्यवसायीमार्फत् प्रतिडुंगा महिनाको १२० रुपैयाँ लेबी उठाउँछ। यहाँ आउने नयाँ चालकले प्रवेश शुल्क र वार्षिक नवीकरण शुल्क तिर्नुपर्छ।
२०५१ सालदेखि यसरी लिइने शुल्कबाट संगठनले कोष बनाएको छ। अहिलेसम्म कोषमा झन्डै १८ लाख रुपैयाँ जम्मा भइसकेको संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए।
कोषबाट उठेका पैसा विगतमा विभिन्न ठाउँका बाढीपीडितलाई सहयोग गर्न पठाइने गरेको थियो। २०७२ को भूकम्पमा धादिङ, नुवाकोट लगायत ठाउँमा समेत सहयोग पठाइएको थियो। यसपालि भने डुंगा चालकलाई राहत दिएको अध्यक्ष नेपालीले जानकारी दिए।
संगठनले डुंगा चालकहरूलाई बिहीबार ८ सय रुपैयाँ बराबर ‘लकडाउन राहत’ प्रदान गरेको छ। राहत स्वरुप ५ किलो चामल, १ किलो दाल, १ पोका नुन र १ लिटर तेल दिएको नेपालीले बताए। झन्डै १७० जना चालकलाई राहत बाँडेको र बाँकीलाई शुक्रबार दिइने उनले जानकारी दिए।
‘हामीले पहिलोपटक कोषको रकमबाट डुंगा चालकलाई राहत दिएका छौं,' नेपालीले भने, 'थोरै भए पनि राहत पुगेको छ।’
पोखरामा डुंगा चलाउने चालक रैथानेभन्दा अन्य जिल्लाबाट आउने धेरै छन्। पोखराका रैथाने डुंगाका मालिक छन् भने बाहिरबाट आउने चालक। लकडाउन बेला घर पनि टाढा भएकाले उनीहरू फेवातालकै छेउछाउ बस्छन्।
डुंगा मर्मत गरिराखेका सन्तबहादुर भुजेलले लकडाउन कति लम्बिने थाहा नभएको बताए। राहतभन्दा कोरोना भाइरस नछिरोस् भन्ने भुजेलको कामना छ। ‘बाँचे त पछि फेरि कमाउँला,' भुजेलले भने, 'जे होस्, नेपालमा यो भाइरस नआओस्।’
पोखरा महानगर, प्रदेश र नेपाल सरकारले दिने राहत आइपुग्नेमा भने उनले शंका गरे। ‘हामीलाई कसले राहत दिन्छ?' उनले भने, 'सरकारले दिने राहत सरकारसँग माग्न जानेले मात्र पाउँछ।’
आफूहरू राहत माग्न कहाँ जाने, कसरी जाने केही थाहा नभएको उनले बताए। ‘सरकारले घरभाडा छुट गरिदिए त्यही राहत हुन्थ्यो,' उनले भने, 'अरू राहत त हामीलाई दिँदैनन् होला।’
डुंगा व्यवसायी संगठनले दिएको राहत बुझेका भुजेलले केही दिनलाई भए पनि छाक टार्न सहज भएको बताए।