सेतो पर्दामा निलो मसीले लेखिएका ब्यानर वीरेन्द्रनगर बजारभित्र चार ठाउँमा छन्। ब्यानरसँगै खाना राख्ने भाँडा पनि छ। यी खानेकुरा लकडाउनले भोकभोकै परेका कुकुरलाई खुवाउन राखिएको हो।
लकडाउन बेला आ-आफ्नो घरमा बचेका खाना फाल्नुभन्दा छाडा कुकुरहरूलाई खुवाउनू भन्ने यो अभियान सशस्त्र प्रहरी बलका नायब निरीक्षक प्रकाश ढकाल, उनकी पत्नी सीता, व्यवसायी बलबहादुर थापा लगायतले सुरू गरेका हुन्।
‘मान्छेले त कुनै न कुनै उपाय निकालेर गुजारा चलाउन सक्छ, पशु चौपाया पनि घाँस चर्न सक्छ,’ ढकालले भने, ‘होटलको रहलपहल र बजारमा फालिएका खानेकुरा खाएर बाँच्ने छाडा कुकुरहरू भने भोकभोकै परे। उनीहरूलाई खुवाउनु पनि हाम्रो कर्तव्य हो।'
ढकाल अचेल आफ्नो ड्युटीबाहेक खाली समय यही काममा सदुपयोग गरिरहेका छन्। वीरेन्द्रनगरस्थित पिपिरा चोक, सिटी बसपार्क नजिक, एरीचोक र गणेशचोक जाने बाटोमा कुकुरलाई खानेकुरा खुवाउने भाँडा राखिएको छ। वरपरका मान्छेले त्यही भाँडोमा आफ्नो बचेको खाना ल्याएर राखोस् भनेर ब्यानर पनि राखिएको छ।
व्यवसायी थापा पनि लकडाउनका बेला फुर्सदिलो समय यही अभियानमा लगाइरहेका छन्। ‘कुकुरहरू भोकभोकै मर्ने अवस्था आएकाले हामीले सल्लाह गरेर खाना खुवाउने व्यवस्था गरेका हौं,’ उनले भने।
छाडा कुकुरका लागि खाना व्यवस्थापन गरिरहेका ढकालका अनुसार वरपरका मानिसले यसमा कुनै मतलब राखेका छैनन्। आफूहरूले व्यानरमा प्रस्ट लेखेर भाँडा राखिदिए पनि धेरैले खानेकुरा राख्न नल्याएको उनले बताए।
‘वरपरका सयौं घरमध्ये केहीमा त पक्कै खाना बच्छ, हामीले ब्यानरमा गरेको आग्रहअनुसार दैनिक सफा खानेकुरा भाँडामा भरिएको हुनुपर्ने हो,’ उनले भने, ‘तर हामीले राखेको बेला बाहेक अरू बेला खाना देखिँदैन, बरू केराको बोक्राजस्ता फोहोर फालेको देखिन्छ।’
यति मात्र होइन, बुधबार पिपिरा चोकमा दुईवटा खम्बामा बाँधिएको ब्यानरको डोरी चुँडियो। त्यहाँ चौबीसै घन्टा खटिने प्रहरीले डोरी बाँध्ने आशा गरेका ढकाल बेलुकी जाँदा उही अवस्था देखेर निराश भए। पछि उनी आफैंले डोरी बाँधे।
‘ड्युटीमा भएका प्रहरीले बाँधिदिए पनि हुने, तर कुनै वास्ता गरिएन,' उनले भने।