बाग्लुङ नगरपालिका ३ गौंडाकोटकी ६५ वर्षीया महिलालाई बिहीबार कोरोना भाइरस (कोभिड–१९) भएको पुष्टि भयो।
वृद्धालाई बाग्लुङकै जिल्ला अस्पतालमा राखेर उपचार गर्ने कि पोखरा वा काठमाडौं पठाउने भन्नेबारे अस्पतालका डाक्टर छलफलमा जुटे।
पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र निजी अस्पतालले बिरामी लिन मानिरहेका थिएनन्, काठमाडौं धेरै टाढा थियो।
अन्ततः वृद्धालाई जिल्ला अस्पतालमै राखिने भयो। बैठकपछि बिरामी लिन रेडक्रस बाग्लुङको एम्बुलेन्स पठाउनु पर्ने भयो। कोरोना संक्रमित वृद्धालाई लिन जान एम्बुलेन्स चालक तयार भएनन्। उनी सम्पर्कबिहीन भए।
बिरामीलाई जसरी पनि अस्पाल लैजानु पर्ने थियो। अस्पतालकै अर्को एम्बुलेन्सलाई भन्दा पनि ड्राइभर मानेनन्।
जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका प्रमख सुरज गुरौ अघि सरे। आफ्ना ड्राइभरलाई मानसिक रूपमा तयार बनाए। उनले आफूले पनि पिपिई लगाए, ड्राइभरलाई पनि लगाइदिए।
रातको साढे ९ बजे। वृद्धाको घरदेखि अस्पताल जम्मा ३ किलोमिटरको दूरीमा थियो। सुरज एम्बुलेन्समा आफैं बसे। आफ्ना ड्राइभरलाई एम्बुलेन्स चलाउन लगाए।
बिरामीलाई अस्पताल पुर्याए। अहिले कोरोना संक्रमित वृद्धाको अवस्था सामान्य छ।
बेल्जियममा रहेकी छोरी भेटेर फर्किएकी ती महिला अहिले अञ्चल अस्पताल बाग्लुङको आइसोलेसनमा छन्।
कोरोना भाइरसको स्वभाव देखेर यति बेला सुरजलाई अचम्म लागेको छ।
'ती १९ वर्षीया युवती अस्पतालमा ठीकठाकले बसेकी छिन्। स्वास्थ्य अवस्था सामान्य छ। कुनै लक्षण देखिँदैन, रिपोर्ट भने पोजेटिभ आउँछ,’ सुरजले सेतोपाटीलाई भने, ‘यो कोरोना भाइरस पनि अचम्मै रैछ बा।’
जनस्वास्थ्यका कर्मचारी सुरज आफैं बिरामी लिन जानु परेको घटना यो पहिलो पटक हो।
कुनै एम्बुलेन्सले बिरामी बोक्न नमाने उसलाई कारबाही गर्ने छुट्टै निकाय छ।
प्रशासनले सम्बद्ध संस्थालाई कारबाही चलाउन सक्छ। महामारीको रूपमा फैलिएको कोरोना भाइरसले पारेको मनोवैज्ञानिक असरका कारण एम्बुलेन्स चालक डराएको हुन सक्ने सुरजको भनाइ छ।
चालकको मनबाट यही डर हटाउन शुक्रबार नै उनीहरूलाई तालिम दिएको छ।
चालकलाई कोरोना भाइरसका बारेमा प्रशिक्षण, पिपिई लगाउने तरिका, सुरक्षाका उपाय र गाडीमा भाइरस मार्ने औषधि छर्कनेबारे ७ जना एम्बुलेन्स चालकलाई तालिम दिएको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका सूचना अधिकृत घनश्याम सापकोटाले बताए। यो काम गर्न उनीहरूलाई नेपाली सेनाको बाग्लुङस्थित २२३ नम्बर गुल्मको स्वास्थ्य टिमले सघाएको छ।
यसअघि मुगु जिल्लामा कार्यरत सुरज बाग्लुङ सरूवा भएको वर्ष दिन पनि भएको छैन। लोकसेवा पास गरेर सरकारी जागिरमा छिरेको जम्मा ३ वर्ष भयो। त्यसअघि उनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)मा कार्यरत थिए। कहिले रिसर्च एसिस्टेन्ट त कहिले प्रशिक्षक भएर ४ वर्ष काम गरेपछि मात्र उनी सरकारी सेवामा छिरेका थिए।
नवलपुरको कावासोती घर भएका सुरजले ‘पब्लिक हेल्थ न्युट्रिसन’मा मास्टर्स गरेका छन्। निजी र सामुदायिक क्षेत्रबाट भन्दा सरकारी सेवाबाटै धेरै काम गर्न सकिने ठानेर उनी सरकारी सेवामा प्रवेश गरेका थिए। कोरोना महामारीका बेला उनले त्यो सेवा गर्ने अवसर ठानेका छन्।