बिहीबार बाग्लुङकी ६५ वर्षीया महिलामा बिना लक्षण कोरोना संक्रमण पुष्टि भएपछि कतारबाट उनी आएकै हवाईजहाजमा आएका खोटाङका एक व्यक्तिको पनि परीक्षण गर्न जिल्लामा छलफल भयो।
होम क्वारेन्टाइन बसिरहेका ती व्यक्तिको स्वाब परीक्षण गर्न धरान पठाउने कुरा भयो। तर उनी बसेको जन्तेढुंगा गाउँपालिकामा स्वाब झिक्ने स्वास्थ्यकर्मी थिएनन्।
स्वाब झिक्न तालिम प्राप्त स्वास्थ्यकर्मी र उपकरण चाहिन्छ जुन जनशक्ति जिल्लाभर एक जना मात्र छन्। एक साताअगाडि मात्र स्वाब झिक्ने स्वास्थ्यकर्मी जिल्लामा आएको प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले बताए।
शुक्रबार बिहान तिनै स्वास्थ्यकर्मी पाँच घन्टाको बाटो गाडीमा* गएर व्यक्तिको स्वाब झिक्न जन्तेढुंगाको काउले पुगे। स्वाब झिकेपछि गाउँपालिकाले एम्बुलेन्सबाट परीक्षणका लागि धरान पठायो। स्वास्थ्यकर्मी भने स्वाब झिकेर जिल्ला अस्पताल फर्किए।
खोटाङमा आठ वटा नगरपालिका र दुई वटा गाउँपालिका छन्। तर संक्रमण आशंका गरिएका व्यक्तिको स्वाब झिक्न सबै पालिकाले जिल्लामा भएको उनै एक जना स्वास्थ्यकर्मीको भर पर्नुपर्छ। त्यसका लागि ती पालिकाहरूले बिरामी कि त जिल्ला अस्पताल लैजानुपर्छ। नभए उक्त स्वास्थ्यकर्मी बिरामी भएकै ठाउँ पुग्नुपर्छ।
'बिरामीलाई स्वाब झिक्न जिल्ला अस्पताल पुर्याउन पाँच घन्टा लाग्छ। यहीँ एक जना स्वाब झिक्ने स्वास्थ्यकर्मी भयो भने, त्यो समयमा स्वाब आधा बाटो पुर्याउन सकिन्छ,' जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकरबहादुर राईले भने।
उनले गाउँपालिकाबाट स्वाब धरान पुर्याउन अर्को नौ घन्टा लाग्ने बताए। अहिले प्रदेश-१ बाट स्वाब परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउनुपर्छ।
धेरै पहाडी जिल्लाहरूमा स्वाब संकलन गर्ने जनशक्ति नहुँदा समस्या रहेको जनप्रतिनिधिहरूको गुनासो छ। केही जिल्लाले बिरामी आफैं जिल्ला अस्पताल पठाउने गरेका छन् भने, केहीले बिरामी भएका ठाउँमा स्वास्थ्यकर्मी पठाउने गरेका छन्।
पाँचथर जिल्लाले भने शंकास्पद बिरामीलाई स्वाब झिक्न जिल्ला अस्पताल नै पठाउन सम्बन्धित पालिकाहरूलाई आग्रह गरेको छ।
'हामीले बिरामीलाई जिल्ला अस्पताल नै बोलाउँछौं। स्वाब लिएपछि जिल्लामा आइसोलेसनमा बस्ने ठाँउ व्यवस्था भएकाले बिरामीलाई राख्न पनि सहज हुन्छ,' प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार गुरागाईंले भने।
पाँचथरमा पनि एक जना मात्र स्वाब झिक्ने स्वास्थ्यकर्मी छन्। उनले शुक्रबारै पनि ६ जनाको स्वाब झिकेर एम्बुलेन्समा धरान पठाइएको जनाए।
प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले सबै जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई स्वाब झिक्ने तालिम दिइएको बताए।
'प्रदेश-१ का १४ वटै जिल्लाका ५० स्वास्थ्यकर्मीलाई स्वाब झिक्ने तालिम दिएका छौं। पहिले एक जना पनि थिएनन्, अहिले कम्तिमा यति त भएको छ,' उनले भने।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकारीहरू सामान्य तालिम लिएर जुनसुकै स्वास्थ्यकर्मीले पनि स्वाब झिक्न सक्ने बताउँछन्। सरकारले हरेक पालिकामा रहेको स्वास्थ्य शाखामा स्वाब झिक्न स्वास्थ्यकर्मीलाई तालिम दिए परीक्षणको गति बढाउन सकिन्छ।
विज्ञहरूका अनुसार स्वाब झिक्न कानको मैला सफा गर्ने 'एअर बड' जस्तो चिजले नाक र घाँटीबाट र्याल तान्नुपर्छ। त्यसपछि भिटिएम (सिसी) मा राखेर त्यसलाई बाहिरबाट प्याकिङ गरेर आइसबक्समा राख्नुपर्छ। यसरी आइसबक्समा प्याक भएको स्वाब परीक्षणका लागि प्रयोगशाला पठाउन सकिन्छ।
अहिले धरानस्थित प्रयोगशालामा दैनिक १२ देखि १५ वटा स्वाब आउँछन्। तीमध्ये धेरै एम्बुलेन्समा आउने गरेको अस्पतालका सहप्रवक्ता अशोक ऐरले जानकारी दिए।
उनले जिल्ला अस्पताल र अञ्चल अस्पतालले स्वाब संकलन गरेपछि प्रयोगशालाको हटलाइन नम्बरमा फोन गर्ने र आफूहरूले परीक्षणको चाप हेरेर ल्याउन सुझाउने गरेको बताए।
'अहिले हामीले दैनिक १२ वटाको परीक्षण गर्न मिल्छ। सोहीअनुसार अस्पतालहरूलाई स्वाब ल्याउन भन्छौं,' उनले भने।
प्रयोगशालामा पाँचथर, धनकुटा, सप्तरीबाट समेत स्वाब आउने गरेको छ। ऐरले नजिकका जिल्लाहरूबाट भने स्वाब परीक्षणका लागि बिरामी नै ल्याउने गरेको बताए।
उनले शुक्रबारसम्म प्रयोगशालामा ३९ वटा नमूना आएकामा २४ वटाको नतिजा नेगेटिभ आएको, १२ वटा परीक्षण जारी रहेको र तीनटालाई अर्को लटमा परीक्षण गरिने बताए।
'सकेसम्म १२ वटालाई एकै लट बनाएर परीक्षण गर्छौं,' उनले भने।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षण मेसिनमा १२ वटा स्वाब राख्ने ठाउँ छ।
'परीक्षणका लागि स्वाब राख्ने ती प्वाल बढाएर २४ र आवश्यकताअनुसार ३६ पनि बनाउन मिल्छ,' प्रतिष्ठानका एक चिकित्सकले भने।
तर मेसिनको क्षमता बढाएर मात्र स्वाब परीक्षण गर्ने संख्या तत्काल बढाउन सकिन्न।
'स्वाब परीक्षण गर्न त्यसबाट आरएनए झिक्नुपर्छ। यो काम अहिले प्राविधिकहरूले नै गर्दै आएका छन्। त्यसका लागि समय लाग्छ,' उनले भने।
केन्द्रीय प्रयोगशालामा भने आरएनए झिक्ने काम मेसिनले नै गर्छ, त्यसैले छिटो हुन्छ।
कोशी अञ्चल अस्पताल, बिराटनगरमा आरएनए झिक्ने मेसिन छ। तर त्यहाँ स्वाब परीक्षण गरिएको छैन। त्यसको कुनै तयारी पनि छैन। कोशी अस्पतालको आरएनए झिक्ने मेसिन धरान लैजाने हो भने प्रतिष्ठानको स्वाब परीक्षण क्षमता तत्काल बढाउन सकिनेछ।
*सच्याइएको