भारतबाट महाकाली नदीमा हाम फालेर आएका कञ्चनपुरका एक युवालाई शनिबार कोरोना भाइरसको पुष्टि भयो। ती युवा उत्तराखण्डबाट आएका थिए।
पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको छ। उत्तराखण्डमा आइतबारसम्म १६ जनामा संक्रमण पुष्टि भइसकेको छ। नेपालबाट गएका मजदुरलाई पनि संक्रमण भएको हुँदा उत्तराखण्डमा कोरोनाको संक्रमण ठूलो मात्रामा फैलिएको हुन सक्छ।
त्यही उत्तराखण्डमा अहिले हजार जनाभन्दा बढी नेपाली क्वारेन्टाइनमा बसेका छन्। क्वारेन्टाइन भनिए पनि उनीहरूलाई शिविरमा राखेजसरी राखेको छ अर्थात् त्यहाँ भौतिक दूरी कायम राख्न सम्भव नै छैन।
दिनभरि मजदुरहरू बाहिरै बस्छन्। बेलुकी भएपछि उनीहरू एकै ठाउँमा सुत्छन्।
कोही ब्याटमिन्टन कोर्ट, कोही प्यासेज त कोही भर्याङमा निदाउँछन्। एकै ठाउँमा खाँदिएर सुत्दा क्वारेन्टाइनमा बसेको भनिएका उनीहरूलाई कोरोना सर्ने सम्भावना झन् धेरै हुन्छ।
भारतले राखेको क्वारेन्टाइनमा बसेका बझाङका २५ वर्षीय सुवास विश्वकर्माले थोरै ठाउँमा धेरै जना कोच्चिएर सुतिरहेको बताए।
'हामीहरू तीन सयभन्दा बढी छौं। सबै एकै ठाँउमा सुत्ने हो,' विश्वकर्माले टेलिफोनमा सेतोपाटीसँग भने, 'एक मिटरको दूरीमा बस भनेको छ तर सुत्दा फर्किने ठाउँ त हुँदैन। कसरी एक मिटर दूरीमा सुत्नु?’
भारतले क्वारेन्टाइनमा राखेका नेपालीलाई बरू आफ्नै देशमा गएर क्वारेन्टाइनमा बस्न पाएको भए हुन्थ्यो भन्ने लागेको छ।
‘उत्तराखण्डबाटै गएकालाई कोरोना भाइरस भयो भन्छन्। अब हामीलाई सर्यो भने पनि के गर्ने, नेपाल सरकारले हेरेन,’ विश्वकर्माले भने।
क्वारेन्टाइनमा बसेकाहरूलाई स्थानीय प्रशासनले दुई छाक खाना खुवाउँछ।
'दिउँसो१२ बजेसम्म त हामी त्यत्तिकै बस्न पर्छ। आफूसँग पैसा भए खायो नत्र पर्खिने हो,' विश्वकर्माले भने,'बेलुकाचाहिँ ७-८ बजे खाना दिन्छन्।'
स्थानीय पत्रकार नदिम परवेजका अनुसार उनीहरूको दैनिक स्वास्थ्य परीक्षण हुन्छ।
'बिहान खाना खाइसकेपछि उनीहरू सबैको मेडिकल जाँच गरिन्छ,' नदिमले सेतोपाटीसँग भने।
उनका अनुसार करिब १००७ जना नेपाली धार्चुला, निगालपानी, बलवाकोट, जोलजीबी र बरममा राखिएका छन्।
धार्चुलाका शिविरको सास्ती सहन नसकेपछि केही नेपाली महाकालीमा हाम फालेर नेपाल आइरहेका छन्। शनिबारसम्म ७२ जना महाकाली तरेर आएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुरेन्द्र जोशीले जानकारी दिए।
'लुकिछिपी नेपाल आउनेको संख्या हिजोसम्म ७२ पुगिसकेको छ,' उनले भने।
नेपाल आएकाहरूलाई सम्बन्धित पालिकाहरूले आफ्नो क्वारेन्टाइनमा राखेका छन्।