काठमाडौंका ठूला सरकारी अस्पतालमा रहेका भेन्टिलेटर मर्मत गर्ने प्राविधिक र सामग्री नपाउँदा त्यसै थन्किएका छन्।
कोरोनाभाइरस संक्रमित बिरामी संख्या थपिँदै गएको अवस्थामा अस्पतालका भेन्टिलेटरहरू तयारी अवस्थामा राख्नु पर्नेमा मर्मत हुन सकेका छैनन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको आइसियू कक्षका ६ वटा भेन्टिलेटरले काम गर्दैन। महांकालस्थित ट्रमा सेन्टरका १० वटा भेन्टिलेटर पनि मर्मत गर्नुपर्ने अवस्थामा छ।
ललितपुरस्थित गणेशमान सिंह मेमोरियल अस्पतालका चार वटा भेन्टिलेटर पनि मर्मतको पर्खाइमा छ। प्राविधिक नपाइएको र सामग्री अभाव भएकोले भेन्टिलेटर मर्मत गर्न नसकिएको अस्पतालहरूले जनाएका छन्।
त्रिवि शिक्षण अस्पतालका निर्देशक डाक्टर प्रेम खड्गाले सामान्य मर्मत गरेपछि भेन्टिलेटर पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिने जानकारी दिए।
‘भनेको बेला सामान पाइँदैन, प्राविधिक पनि पाइएन,’ उनले सेतोपाटीसँग भने, ‘प्रयोगमा नआएका भेन्टिलेटर सामान्य मर्मत गर्नुपर्नेछ।’ मर्मतका लागि बजेट भए पनि प्राविधिक नपाउँदा मर्मतमा ढिलाइ भएको उनले जानकारी दिए।
निर्देशक खड्गाका अनुसार शिक्षण अस्पतालमा २० वटा भेन्टिलेटर सञ्चालनमै छ। ‘२० वटा भेन्टिलेटरले काम गरिरहेको छ,’ उनले सेतोपाटीसँग भने, ‘केही मर्मत गर्नुपर्ने भेन्टिलेटरको विवरण सरकारलाई दिइसकिएको छ।’
ललितपुरस्थित गणेशमान सिंह मेमोरियल अस्पतालका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले पनि भेन्टिलेटर सामान्य मर्मत गर्नुपर्ने अवस्थामा रहेको जानकारी दिए। उनकाअनुसार दुई वटा भेन्टिलेटर भने पूर्ण रूपमा काम गर्न सक्ने छन्।
कोरोना संक्रमित बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूमा रहेका भेन्टिलेटर काम गर्न सक्ने अवस्थामा राख्न आग्रह गरेको थियो। त्यसपछि भेन्टिलेटर मर्मत प्रक्रिया अस्पतालहरूले सुरू गरेका हुन्।
दुई सातादेखि देश लकडाउनमा छ। यस्तो बेला भेन्टिलेटर मर्मत गर्ने जनशक्ति अभाव छ। तर राष्ट्रिय आविष्कार केन्द्रले केही भेन्टिलेटर मर्मत सुरू गरेको छ।
केन्द्रका महावीर पुनले सेतोपाटीसँग कुराकानी गर्दै ट्रमा सेन्टरका बिग्रेका सात वटा भेन्टिलेटर आविष्कार केन्द्रमा मर्मत गर्न थालिएको बताए।
‘ट्रमाको सातवटामध्ये दुइटा भेन्टिलेटर मर्मत गरिसकियो, अरू मर्मत गरिँदैछ,’ उनले सेतोपाटीसँग भने।
बिग्रेका भेन्टिलेटरको अवस्था हेरेर मर्मतका लागि कति खर्च लाग्छ भन्न सकिने पनि उनले बताए।
‘कुनै पाँच/सात हजार खर्च गरे मर्मत हुन्छ, कुनैलाई २५/३० हजार पनि लाग्ला,’ उनले भने।
पुनले भेन्टिलेटर मर्मत मात्र होइन, थप प्राविधिक पनि खोज्न सघाएका छन्।
‘भेन्टिलेटर मर्मत गर्न सक्ने कोही हुनुहुन्छ भने मलाई सम्पर्क गर्नू भनेर मोबाइल नम्बर दिएको छु,’ उनले भने, ‘एक/दुई जना सम्पर्कमा आउनुभएको छ। उहाँहरूलाई सम्बन्धित अस्पतालकै सम्पर्कमा गएर भेन्टिलेटर मर्मत गरिदिनू भनेको छु।’
सबै भेन्टिलेटर मर्मतका लागि आविस्कार केन्द्र ल्याउन लक डाउनका बेला समस्या पर्ने उनले बताए।
‘हामीसँग यति भेन्टिलेटर बिग्रेका छन्, बनाइदिन सक्नुहुन्छ भने बनाइदिनुपर्यो भनेर डाक्टरहरूले मलाई भनेपछि जनशक्ति खोजेको हुँ,’ उनले भने, ‘सरकारी अस्पतालमा बजेट भए पनि भनेको बेला भेन्टिलेटर मर्मत गर्न सक्दैनन्, प्रक्रिया झन्झटिलो हुन्छ। छिटो भेन्टिलेटर मर्मत गर्नुपर्ने बेला छ।’
भेन्टिलेटर मर्मत गर्न प्राविधिक मात्र होइन आर्थिक रूपमा सहयोग गर्न परे पनि आफू तयार रहेको पुनले बताए।
‘प्राविधिक र आर्थिक समस्या परे म दिन्छु भनिदिएको छु। बजेट भए पनि सरकारी प्रक्रिया ढिलो हुन्छ,’ उनले सेतोपाटीसँग भने।