गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ४ की एक महिला आइतबार माइती गइन्।
श्रीमानसहित सिरानचोक गाउँपालिका वडा नम्बर ७ श्रीनाथकोट पुगेकी उनी माइती घरभित्र छिर्न पाइनन्, आँगनबाटै फर्किइन्।
कोरोना भाइरस संक्रमित संख्या वृद्धि भएसँगै सरकारले एक स्थानीय तहबाट अर्कोमा आउजाउ बन्द गरिदिएको छ।
कोरोना त्रासका कारण वडाले पनि कडा सावधानी अपनाएको छ। गाउँलेलाई अरू गाउँ जान दिइएको छैन, अरू गाउँका मानिसलाई आउन रोक लगाइएको छ।
घरमा आएका छोरी ज्वाइँलाई माइतीले पहिला क्वारेन्टाइनमा बस्नुपर्ने बताए।
पाहुना बनेर गएका उनीहरू क्वारेन्टाइनमा बस्न मानेनन्, बरू घर फर्किन तयार भए।
‘नयाँ मान्छे देखेपछि प्रतिकार्य समितिले सोधखोज गर्छ, क्वारेन्टाइनमा बस्न वा जहाँबाट आएको त्यही फर्कन भनिन्छ,’ वडाध्यक्ष सुरज ढकालले सेतोपाटीसँग भने, ‘१४ दिन क्वारेन्टाइनमा बस्दिनँ भन्ने जहाँबाट आएका हुन् त्यहीँ फर्कनुपर्छ।’
गाउँमा पाहुना नबोलाउन, आफू पनि पाहुना नजान र एक टोलबाट अर्को टोलमा हिँडडुल नगर्न पहिले नै सूचना दिएको उनले बताए।
‘गाउँमा कोही पाहुना आइहाले भने बस्न दुइटा क्वारेन्टाइन छ,’ उनले भने।
अर्को छिमेकी गाउँपालिका बारपाक सुलिकोट वडा नम्बर ४ सौरपानीबाट माइती रातामाटे आएकी अर्की महिला पनि आफ्नै गाउँ फर्केकी छन्।
घुन्चोककी महिला रातमाटे माइत आएकी थिइन्।
‘उहाँलाई पनि क्वारेन्टाइनमा बस्न भनेका थियौं, मान्नुभएन। माइतीघर नै नपसी फर्कनुभयो,’ वडाध्यक्ष ढकालले भने।
सोमबार बिहान छिमेकी जिल्ला लमजुङको विचौरबाट डाँडागाउँस्थित हजुरबुवा भेट्न आएका एक युवक पनि आफ्नै गाउँ फर्किएका छन्।
‘उहाँलाई पनि क्वारेन्टाइनमा बस्नुपर्छ भनेका थियौं, मान्नुभएन। बाहिरै बसेर खाना खाएर आफ्नै गाउँ फर्किनुभयो,’ ढकालले भने।
आफ्नो वडाभित्र भारतलगायत विदेशबाट हालै आएकाहरू एक जना पनि नभएको उनले बताए।
तर सिरानचोक गाउँपालिकाभित्र भने विदेशबाट आएकाहरू १५ जना छन्। उनीहरू घरमै क्वारेन्टाइनमा बसेका छन्।
लकडाउन उल्लंघन गर्ने बढेपछि गाउँपालिकाले ८ वडामा एक सय ४२ टोलमा प्रतिकार्य समिति बनाएको छ। उक्त समितिले गाउँमा आउने पाहुनालाई क्वारेन्टाइन वा आफ्नै घर फिर्ता गरिदिन्छन्।