कैलाली र कञ्चनपुरमा २ सय जनाको कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्न र्यापिड टेस्टिङ किटबाट नमूना लिन सुरू गरिएको छ।
त्यसको लागि मंगलबार बिहानै टोली परिचालन भएको कैलाली स्वास्थ्य कार्यालयका प्रमुख ललित धामीले जानकारी दिए।
'दुइटा समूहमा टोली गोदावरी नगरपालिका गएको छ। आजैबाट नमूना लिने काम सुरू भएको छ,' उनले भने।
अर्को टोली पनि कञ्चनपुरको लागि प्रस्थान भएको धामीले बताए। उनले कैलालीमा १ सय ३६ जना र बाँकी कञ्चनपुरबाट नमूना लिइँदैछ।
सरकारले टेस्टिङ किट ठिक छ/छैन भनेर पहिलो २ सय जनाको पाइलट टेस्ट गर्न लागेको हो। किट ठिक भएको प्रमाणित भए यसैबाट सरकारले ठूलो संख्यामा कोरोना परीक्षण गर्ने भनेको छ।
'आज र भोलिमा नमूना लिने काम सकाएर टोली काठमाडौं फर्किहाल्ने कुरा छ। उता पनि त क्रस चेक गर्नुपर्यो,' धामीले भने।
सरकारले किटको भ्यालिडेसन गर्नलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई जिम्मा दिएको छ। प्रयोगशालाले सुरूमा २ सय जनाको नमूनालाई पिसिआर विधिबाट पनि परीक्षण गरेर क्रस चेक गर्ने भनेको छ।
यो किटले १५ मिनेटमै कोरोना परीक्षणको नतिजा दिनसक्छ। सरकारले यसकै प्रयोग गरेर कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका सबैको कोरोना परीक्षण गर्ने भनेको छ। साथै ती दुइटै जिल्लामा चैत महिनामा विदेशबाट आएकाको पनि परीक्षण गर्ने तयारी छ।
यता बाग्लुङमा पनि दुईजना कोरोना संक्रमितको छरछिमेकको पनि यही किटबाट परीक्षण गरिने भनिएको छ। सोमबारमात्र सरकारले काठमाडौं उपत्यकामा चैत महिनामा विदेशबाट आउने व्यक्तिको पनि र्यापिड टेस्टिङ किटबाट परीक्षण गर्ने जनाएको छ।
सरकारले सात करोड रुपैयाँ बढी खर्चेर चीनबाट ७५ हजार र्यापिड टेस्टिङ किट ल्याएको छ।