लक डाउनलाई थप कडा बनाउन ट्राफिक प्रहरीले चक्रपथलगायत राजधानीका विभिन्न सडकमा तगारो राखेको छ।
मंगलबार बिहानदेखि चक्रपथको मुख्य लेन र अरू सडकका १५२ ठाउँमा तगारो राखिएको ट्राफिक प्रहरीले जनाएको छ।
‘लक डाउन उल्लंघन गर्नेहरूलाई चेक गर्न सजिलो होस् भनेर तगारो राखेका हौं, आजदेखि लक डाउनलाई कडा बनाएका छौं,’ ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकाल सेतोपाटीसँग भने।
मुख्य लेनमा तगारो राखिए पनि सर्भिस लेन भने खुलै राखिएको छ।
यसैबीच मंगलबारमात्रै लक डाउन उल्लंघन गर्ने ५३६ सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसमध्ये पाँच सय ५ वटा दुईपांग्रे र बाँकी चार पांग्रे सवारी रहेको ढकालले जानकारी दिए।
सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चैत ११ गतेदेखि देशव्यापी लक डाउन गरेको छ। सुरूमा चैत १८ सम्म गरिएको लक डाउन अहिले बढाएर वैशाख ३ गतेसम्म पुर्याइएको छ।