सरकारले चैत ६ गतेदेखि लकडाउनको घोषणा गरेसँगै यसले जनजीवनमा व्यापक असर पार्छ भन्ने निश्चित थियो।
यही कुरा उदयपुरका बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले पनि बुझेका थिए।
उनले यस्तो संकटमा सकेसम्म जनतासँग कुरा गर्ने र उनीहरूको समस्या सुन्नुपर्छ भन्ने ठाने। मेयर थापाले लकडाउनको तेस्रो दिनपछि प्रत्येक दिन बेलुका ८ बजे फेसबुक लाइभ गर्न सुरू गरे।
पहिलो दिनको लाइभमा उनले मानिसहरूलाई समस्या वा जिज्ञासा भए आफूसँग राख्न आग्रह गरे। त्यस दिनदेखि उनले लाइभलाई ठिक ८ बजे नै निरन्तरता दिँदै आएका छन्। अहिले राहत संकलनदेखि वितरणका कुरा, कोरोना रोकथामको लागि नगरपालिकाले गरिरहेको कामको अपडेट उनले लाइभमै जानकारी गराउँछन्।
फेसबुक लाइभ निकै प्रभावकारी रहेको भन्दै थापाले सेतोपाटीसँग भने, 'लाइभमै दुईटा ठाउँका मानिसले नुन र चामल छैन भन्नुभो, हामीले उहाँहरूकै ठाउँमा नुन र चामल पुर्यायौं।'
उनले मानिसहरूले खाद्यान्न अभाव रहेको खबर गरे नगरपालिकाको ट्रयाक्टरले पुर्याइदिने र पछि पैसा लिने गरेको बताए। मानिसहरूलाई कामको अपडेट गराउन र उनीहरूको समस्या बुझ्न सजिलो भएकाले नै आफूले लाइभलाई एकदिन पनि नछुटाएको उनको भनाइ छ।
अहिले मेयर थापा दिनभरि काममा व्यस्त भए पनि बेलुकी ठिक ८ बजे लाइभका लागि हाजिर हुन्छन्। उनले कोरोनाको अपडेट अतिरिक्त अन्य जरूरी विषयबारे पनि नगरवासीलाई जानकारी गराउँछन्।
गर्मी सुरूसँगै सर्पको डर हुने भएकाले नगरवासीलाई सो कुरामा ख्याल राख्न अनुरोध गरेका छन्। उनले केही दिनअघि मात्र एक व्यक्तिको सर्पको टोकाइपछि सफल उपचार गरेको बताए।
अहिले नगरपालिकाले नगरभित्र रहेका दीर्घरोगी र बिरामीको औषधि नगरमा नपाए बाहिरबाट ल्याइदिने गरको पनि मेयर थापाले बताए।
उनले ३४ जना व्यक्तिलाई नगरले धरान, विराटनगरबाट औषधि ल्याइदिइरहेको जनाए।
यो काम नगरपालिकाले कसरी गर्दैछ भन्ने प्रश्नमा उनले भने, 'हाम्रा एकजना स्वयंसेवकले नगरका तीनटा एम्बुलेन्स र नगरकै तीनटा गाडीका चालकसँग सम्पर्क राख्नुहुन्छ। गाउँमा कसैले औषधि सकियो भने उहाँलाई नै भन्नुहुन्छ र उहाँले जुन गाडीको चालक बाहिर हुनुहुन्छ उहाँलाई नै ल्याउन भन्नुहुन्छ।'
उनले दिनमा एउटा न एउटा गाडी धरान वा विराटनगर गइरहने भएकाले सजिलो भएको बताए।
मेयर थापाले कोरोना रोकथाम र नियन्त्रणको लागि हरेक वडामा वडाअध्यक्षको नेतृत्वमा र्यापिड रेन्सपोन्स टिम गठन भएको जनाए। उनका अनुसार गाउँमा कसैलाई ज्वरो आयो वा कोरोनासँग मिल्ने लक्षण देखिए तुरून्त यो टिमलाई सम्पर्क गर्छन। उक्त टिममा स्वास्थ्यकर्मी पनि छन्।
नगरको ९ मध्ये ६ वडामा स्वास्थ्य संस्था छन्। बाँकी वडामा पनि गाडी पुग्ने सक्ने रहेको भन्दै मेयर थापाले केही समस्या परेमा तुरून्त एम्बुलेन्स पठाउने व्यवस्था रहेको बताए। उनले नगरपालिकामा तीन वटा एम्बुलेन्स रहेको र उपमेयर, प्रशासकीय अधिकृत र आफूले चढ्ने गाडी पनि आवश्यक परे एम्बुलेन्सको रूपमा चलाउने गरी तयार राखेको बताए।
'अहिले पनि हाम्रो गाडी राहत सामग्री लिनको लागि प्रयोग गरेका छौं। लक डाउनले अन्य सवारीलाई पासको समस्या छ,' उनले भने।
उनले नगरमा ३५ जना क्षमताको क्वारेन्टिन रहेको र हाल त्यहाँ ११ जना मानिस बसिरहेको जनाए।
नगरभित्र रहेका स्वास्थ्य संस्थाहरूमा २२ जना स्वास्थ्यकर्मी खटिएका छन्। उनले स्वास्थ्यकर्मीहरूमा पिपिईको अभाव रहेको भए पनि नगरले ३१ वटा पिपिई जुगाड गरेको बताए।
'स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई पिपिई दिएका छौं तर अझैं अभाव छ,' उनले भने।
मेयर थापाले प्रदेश सरकारबाट स्वास्थ्य सामग्रीको नाममा अहिलेसम्म एउटा गाउन र दुई सय मास्क र पञ्जा पाएको बताए।
उनले नगरले विदेशबाट आएकाहरूको मोबाइल टिमले निगरानी पनि गरिरहेको बताए। मेयर थापाले भने, 'मोबाइल टिममा भएकाले विदेशबाट आएकालाई नियमित सम्पर्क गरेर उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुन्छ। त्यसले गर्दा कसैलाई ज्वरो वा कुनै समस्या आए हामी तुरून्त स्वास्थ्यकर्मीको टोली पठाउँछौं।'
उनले नगरमा अहिले ३ सय ४६ जना विदेशबाट आएका व्यक्तिहरू रहेको बताए। नगरपालिकाले कोरोना शंकास्पदहरूलाई धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लग्ने व्यवस्था गरेको छ। धरान १ घन्टा कम समयमा पुग्न सकिने भएकाले धेरै सहज भएको थापा बताउँछन्।
उनले अहिलेसम्म विदेशबाट आएका एकजनालाई कोरोना जाँच गरिएको र नतिजा नेगेटिभ आएको बताए।
'अहिलेसम्म अरूमा त्यस्तो लक्षण देखिएको छैन। त्यस्तो भयो भने हामीकहाँ स्वाब झिक्ने स्वास्थ्यकर्मी त छैन तर हामी बिरामीलाई तुरून्त अस्पताल लान सक्छौं,' मेयर थापाले भने।