धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमित बिरामीसहित २ सय बढी व्यक्तिको नमूना काठमाडौं ल्याइएको छ।
नेपाली सेनाको स्काइ ट्रकबाट नमूना पठाइएको कैलाली स्वास्थ्य कार्यालय प्रमुख ललित धामीले जानकारी दिए।
'हिजो र आज गरेर कैलाली र कञ्चनपुरबाट दुई सय जना बढीको नमूना पठाएका छौं,' उनले भने।
सरकारले चीनबाट ल्याएको र्यापिड डाइगोनिस्टिक किट ठीक छ/छैन भनेर जाँच गर्न २ सय जनाको पहिले स्याम्पल परीक्षण गर्ने भनेको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमूनालाई किट र आरटी पिसिआरमा परीक्षण गर्दा एउटै नतिजा आए मात्रै यो किटलाई प्रयोगमा ल्याउन मिल्छ।
यही किटको प्रयोग गरेर सरकारले सघन रूपमा एन्टिबडी टेस्ट गर्ने तयारी गरेको छ। यो टेस्ट गर्दा संक्रमित व्यक्तिमा कोरोनाविरूद्ध लड्ने तत्व शरीरमा विकास भएको छ/छैन भनेर पत्ता लाग्छ। सामान्यतया संक्रमित व्यक्तिमा यो तत्व सातदेखि दश दिनमा विकास हुनेगर्छ।
चीनबाट ल्याएको यो किटको गुणस्तर पास भएमा यसले छरितो र धेरै परीक्षण गर्न सकिन्छ। यो किटले परीक्षणको नतिजा १५ मिनेटमै दिनसक्छ। सरकारले ७५ हजार यस्तो किट ल्याएको छ।
यही किटको गुणस्तर जाँच्न सरकारले कैलाली र कञ्चनपुरबाट २ सय बढी व्यक्तिको स्वाब र रगतको नमूना ल्याएको हो।
अब एउटै व्यक्तिको स्वाब (र्याल) लाई पिसिआर र रगतलाई एन्टिबडी विधिमा जाँच गरिनेछ। किटको गुणस्तर पास हुन दुवै परीक्षणको नतिजा मेल खानुपर्छ।
गुणस्तर जाँचलाई प्रभावकारी बनाउन धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमित बिरामीको पनि नमूना लिइएको छ। अब उनीहरूको नमूना पनि र्यापिड डाइगोनिस्टिक किटमार्फत् जाँच गर्ने प्रयोगशालाको तयारी छ।
त्यसैले किट ठीक छ/छैन भनेर जाँच गर्नलाई चारजना संक्रमितको नमूना निर्णायक बन्न सक्छ।
कतिपय विज्ञहरूले यो किटको नतिजाको विश्वसनीयतामाथि आशंका गरेका छन्। प्रयोगशालामै काम गर्ने एकजना माइक्रोबायोलोजिस्टले सरकारले यो किट हतारमा ल्याएको र ल्याइसकेपछि प्रयोग गरौं न भन्ने मनसायले परीक्षण गर्न लागेको बताए।
'यो किट ल्याउनलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नै भनेको थिएन। यसले दिने नतिजा कति ठीक छ भन्नेमै आशंका छ' उनले सेतोपाटीसँग भने, 'अब ल्याइ हालियो प्रयोग गरौं न त भन्ने सरकारको कदम हो।'
उनले सरकारले यो किटको सेन्सिटिभिटी (पोजेटिभ देखाउने सम्भावना) कति छ भनेर प्रस्ट नखुलाएको बताए।
विश्व स्वास्थ्य संगठनले र्यापिड टेस्टिङ किटहरूलाई अनुमति नदिएको भन्दै उनले सरकारले यो किट विश्व स्वास्थ्य संगठनले अनुमति दिएको हो भने प्रस्ट भन्नुपर्ने तर्क गरे।
सरकारले भने यो किट चीन सरकारले अनुमति दिएको कम्पनीबाट खरिद गरेको र गुणस्तर फेल भए फिर्ता गर्ने जनाएको छ।