सरकारले अत्यावश्यक स्वास्थ्य सामग्री खोल्न चीनतर्फका नाका खोल्ने निर्णय गरेको दुई साता बितेको छ।
सरकारले चैत १२ गते अत्यावश्यक सामान ल्याउन चीनतर्फका नाका खोल्ने निर्णय गरेको थियो।
सरकारले निर्णय गरेको दुई सातापछि चीनबाट नेपालमा जम्मा एउटा गाडी प्रवेश गरेको छ।
सिन्धुपाल्चोकको तातोपानी नाकाबाट मंगलबार एउटा सानो गाडीले स्वास्थ्य सामग्री (मास्क, सेनिटाइजर) ल्याएको हो। सामान झारेर उक्त गाडी बुधबार फिर्ता भएको छ।
‘अत्यावश्यक सामग्री ल्याउनमात्रै नाका खुलाएको हो,’ तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले सेतोपाटीसँग भने, ‘अहिलेसम्म स्वास्थ्य सामग्री बोकेको एउटामात्रै गाडी आएको हो।’
खत्रीले स्वास्थ्य सामग्रीहरू बोकेका थप गाडीहरू शुक्रबार नाकामा आइपुग्ने जानकारी दिए।
‘भोलिसम्म केही गाडी आउलान्,’ उनले भने, ‘अत्यावश्यक सामग्री ल्याउन नाका खुलाएको हो, अरू सामग्री बोकेका गाडी आउन पाउँदैनन्।’
चीनमा कोरोना भाइरस देखिएपछि तातोपानी र रसुवाको रसुवागढी नाका दुई महिनासम्म भएका थिए।
रसुवागढी नाकामा पनि नेपाल र चीनतर्फका सबै सरकारी सरकारी कार्यालय खुला छन्। तर एउटा गाडी पनि नेपाल आएका छैनन्।
‘नाका खुलै छ तर एउटा पनि गाडी आएको छैन,’ रसुवाकी सहायक प्रमुख जिल्ला अधिकारी सपना कुमारी भट्टराईले भनिन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दहालले चीनतर्फका दुबै नाका खुला रहेको बताए।
‘दुबै नाका खुला गर्न चीन सकारात्मक छ, तातोपानीबाट गाडी आउन थालिसके। रसुवागढीमा केही ढिलाइ भएको थियो, एक-दुई दिनमै सामान आउँछ होला,’ दहालले सेतोपाटीसँग भने।