स्वास्थ्यकर्मीको डायरी-४
'यसपालि परीक्षा सकिएपछि हामी जोगबुढा जाने।'
कञ्चनपुर, भिमदत्त नगरपालिका-५ मा बस्ने १० वर्षीया आरूषी र ९ वर्षीया अनुष्काले आफ्ना साथीहरूलाई सुनाइसकेका थिए।
जब जब स्कुलको लामो छुट्टी हुन्छ, उनीहरू आमाको अफिस भए ठाउँ घुम्न जान्छन्। पोहोर पनि परीक्षा सकेर डडेल्धुराको बागेश्वरी गएका थिए।
आरूषी र अनुष्काकी आमा मनु लेखक परशुराम नगरपालिकाको एउटा स्वास्थ्य चौकीमा अनमी छिन्। त्यो ठाउँलाई जोगबुढा पनि भनिन्छ। छोरीहरू बाबासँगै महेन्द्रनगरमा बस्छन्। स्कुल छुट्टी हुने दिन नजिक आएपछि उनीहरू आमालाई भेट्न औंला गन्दै बस्छन्।
यसपालि त झन् आमा सँगसँगै भाइ भेट्न लालायित थिए।
भाइ जन्मेको चार महिना मात्र भयो। मंसिरमा छोरा पाएपछि मनु फागुनसम्म महेन्द्रनगरमै बसेकी थिइन्। सुत्केरी विदा सकिएपछि फागुन १९ गते झोलाभरि आफ्ना र बच्चाका लुगा बोकेर जोगबुढातिर लागिन्।
हिँड्ने बेला उनले आरूषी र अनुष्कालाई सम्झाएकी थिइन्, 'परीक्षा सकिएपछि विदा हुन्छ, त्यो बेला तिमीहरू पनि उतै आउनू।'
छोरीहरू दंग थिए।
'भाइ हुञ्जेल घर रमाइलो थियो। स्कुलबाट आउँदा भाइ र आमा घरमै हुन्थे,' आरूषीलाई उनीहरू गएको दिन नरमाइलो लागेको थियो, 'उहाँहरू फर्केको दिनदेखि कहिले परीक्षा सकिएला, कहिले विदा होला र कहिले आमा भएको ठाउँ जान पाइएला भनेर दिन गन्दै बसेका थियौं।'
'मलाई पहाडको बाटो रमाइलो लाग्छ,' आरूषीले फोनमा सेतोपाटीसँग भनिन्, 'अहिले त भाइ हेर्ने मन पनि थियो।'
भाइ घरमै हुँदा यी दिदीबहिनीबीच सधैं झगडा हुन्थ्यो, कसले भाइलाई काखमा लिने भनेर।
'बहिनीले लग्यो भने मलाई दिँदैनथ्यो,' आरूषीले हाँस्दै भनिन्, 'अनि हाम्रो झगडा हुन्थ्यो।'
चैत ७ गते उनीहरूको परीक्षा सकियो। आमा र भाइ भेट्न जाने व्यग्रता झनै बढ्यो। तर, भोलिपल्टै उनीहरूको हुटहुटीमा ब्रेक लाग्यो।
'हामी यसपालि जोगबुढा नजाने भयौं,' चैत ८ गते उनीहरूका बाबा श्याम भट्टले यसो भन्दा दिदीबहिनी रून मात्र सकेनन्। उनीहरूको मन आमा फर्केको दिनजस्तै नरमाइलो भयो।
किन नजाने?
'कोरोना लाग्छ भनेर सरकारले सबै गाडी बन्द गर्यो, कसरी जाने?' बाबाले सम्झाए, 'यस्तो बेला हामी गयौं भने आमा र भाइलाई पनि गाह्रो हुन्छ।'
कोरोनाबारे आरूषी र अनुष्काले स्कुलमै थाहा पाएका थिए। त्यसमाथि उनीहरू टिभी हेरिरहन्थे, समाचार सुनिरहन्थे।
स्कुलमा पनि सबै विद्यार्थीलाई हात धुनू, जथाभाबी नहिँड्नू र हिँड्नै परे मास्क लगाउनू भनेर सिकाइएको थियो। उनीहरू परीक्षा दिन मास्क लगाएरै गएका थिए।
'फोहोरी भयो भने, जहाँ पायो त्यहाँ छोयो भने कोरोना लाग्छ,' आरूषीले भनिन्, 'त्यही भएर हामी हात धोइरहन्छौं। ममीलाई पनि हात धोएर मात्र भाइलाई समात्नू भनेका छौं।'
जोगबुढा जान नपाए पनि उनीहरू दिनदिनैजसो आमालाई फोन गर्छन्। भाइको हालखबर सोध्छन्, अनि दंग पर्छन्।
यता घरमा हुँदा आरूषीलाई भाइले हातखुट्टा चलाएको हेर्न खुब मन पर्थ्यो। 'अहिले पनि भाइले हातखुट्टा चलाएको हेर्न मन लागेको छ,' उनले भनिन्।
आरूषी र अनुष्काले भाइ भेट्न नपाएर दु:खी मन बल्लबल्ल बुझाएका थिए, अर्को दिनदेखि लकडाउन सुरू भइहाल्यो। उनीहरूले अब घरबाहिर निस्केर खेल्न पनि नपाउने भए।
चुलबुले उमेरका दिदीबहिनीको मन एकैठाउँ थामिन हम्मे पर्छ। घरमा उनीहरूलाई सम्हालेर राख्न श्याम भट्टलाई उस्तै हम्मे छ। उनलाई त उता आमाछोराको पनि पीर छ। कसैगरी संक्रमण फैलियो भने दुवै जना जोखिममा पर्छन् भन्ने उनले बुझेका छन्।
'डर त लागिरहन्छ। उनी अस्पतालमै काम गर्ने भएकाले अझै बढी रिस्क छ,' श्यामले भने, 'हामी त्यही भएर नगएको।'
मनुलाई पनि सानो छोरा लिएर एक्लै बस्न कम्ता गाह्रो छैन। छोराको स्याहार, कामको धपेडी, कोरोनाको डर र घरको सम्झना- उनी यी चार थोकले थिचिएर घरिघरि अत्तालिन्छिन्। तर आफ्नो जागिर र कर्तव्य सम्झेर सम्हालिन्छिन्।
यति बेला उनको वडामा स्वास्थ्यकर्मीहरू टोलटोल पुगेर ज्वरो जाँच्नेदेखि कोरोनाबारे स्थानीयलाई जानकारी दिने काम गरिरहेका छन्। उनको ड्युटी भने अफिसमा मात्र छ।
'म अस्पतालमै आउने गर्भवती वा सुत्केरीलाई हेर्छु। बाबु छ भनेर मलाई बाहिरतिर पठाउनुभएको छैन,' उनले भनिन्, 'कसैमा कोरोना भेटियो भने त यही काम पनि पिपिईबिना सम्भव हुन्न।'
उनीहरूको वडामा अहिलेसम्म पिपिई आइपुगेको छैन। मास्क, पञ्जा र स्यानिटाइजरकै भर छ। उनी बिरामी जाँच्दा यिनै साधन प्रयोग गर्छिन्। कोरोना फैलियो भने आफूसँगै चार महिनाको छोरा पनि जोखिममा पर्नेछ भन्ने उनलाई चिन्ता छ।
उनी स्वास्थ्य चौकीनजिकै क्वाटरमा बस्छिन्। बिहान उठेर खाना खाइवरी, छोरालाई दूध खुवाएर-सुताएर अफिस जान्छिन्। स्वास्थ्य चौकीमा शिशु स्याहार केन्द्रको व्यवस्था छैन। कार्यालय समयभरि छोरालाई हेर्न पनि पाउँदिनन्।
'बिहान बाबुलाई खुवाइवरी सुताएर अफिस झर्छु,' उनले भनिन्, 'दिउँसोभरि ऊ सुत्छ। कहिलेकाहीँ बिरामी जाँच्दाजाँच्दै माथि चिच्याउँछ। काम छाडेर दौडिएर जानुपर्छ।'
दिउँसो बच्चा नउठेका बेला उनी स्वास्थ्य चौकीको काम सकेर मात्र क्वाटर पस्छिन्। सबभन्दा पहिला भोकाएको छोरालाई दूध खुवाउँछिन्।
उनलाई छोरा र आफ्नो मात्र होइन, श्रीमान र छोरीहरूको पनि पीर छ। दिनदिनैजसो फोनमा कुरा हुन्छ। छोरीहरू नियास्रिएका छन् भनेर उनी स्वरबाटै थाहा पाउँछिन्।
'स्कुल छुट्टी भएपछि यहाँ आउने, महाकालीमा डुंगा चढ्न जाने भनेर योजना बनाएका थिए, लकडाउन भइहाल्यो,' उनले भनिन्, 'झन् तलतिर कोरोना फैलिएको समाचारले सातो लिन्छ।'
कामको सिलसिलामा पहिल्यैदेखि छोरीहरूलाई छाडेर हिँड्ने बानी परेकाले उनीहरूको स्याहारको चिन्ता भने मनुलाई छैन।
'छोरीहरूको ध्यान त मैलेभन्दा बाबाले ज्यादा राख्नुहुन्छ। म त बेलामा खुवाउन पनि बिर्सिन्छु। उहाँले त्यस्तो गर्नुहुन्न। त्यही भएर त म ढुक्कले जागिर खाएर हिँड्न पाएकी छु,' उनले भनिन्, 'पीर भने लाग्छ। उनीहरू पनि फोनमा भाइको मात्र कुरा गरिरहन्छन्।'
दिदीबहिनीले भाइको ख्याल राखेको देखेर उनी खुसी पनि छिन्।
'कसरी भाइलाई जोगाउने भनेर मलाई नै सिकाइरहन्छन्। ममी हात नधोइकन भाइलाई नछुनू है भन्छन्,' उनीहरूलाई उद्धृत गर्दै मनुले भनिन्, 'तपाईं पनि मास्क लगाउनू, भाइलाई पनि मास्क लगाइदिनू, कोरोना सर्ला नि फेरि!'