दुई जना कोरोना संक्रमितको उपचार भइरहेको टेकु अस्पतालमा अहिले तीनटा आइसियू र दुइटा भेन्टिलेटर छन्।
सरकारले टेकु अस्पताललाई कोरोना विशेष अस्पताल तोकेसँगै अस्पतालमा २० वटा आइसियू बेड तयार पार्ने जनाएको थियो। अहिले अस्पतालमा आइसियू बेड विस्तार गर्ने काम भइरहेको छ।
अस्पतालका निर्देशक सागर राजभण्डारीका अनुसार आइतबारसम्म आइसियू बेड राख्ने काम सकिनेछ।
'१७ वटा आइसियू र पाँच वटा भेन्टिलेटर थप्ने काम भइरहेको छ,' उनले भने।
अस्पतालमा आइसियू हेर्ने चिकित्सकको पनि अभाव रहेको भन्दै उनले मन्त्रालयसँग थप पाँच जना त्यस्ता चिकित्सक माग गरेको बताए। उनले आइसियूमा काम गर्ने चिकित्सक वीर अस्पतालबाट आउनसक्ने जनाए।
अहिले अस्पतालमा आइसियूमा काम गर्ने एकजना मात्र चिकित्सक छन्।
उनले अस्पताललाई हाललाई पुग्ने जनशक्ति पर्याप्त रहे पनि बिरामी थपिएपछि अहिलेको जनशक्तिले नधान्ने बताए।
उनले सेतोपाटीसँग भने, 'हामीले नर्सिङ एसोसिएसनसँग पनि कुरा गरेका छौं। भोलि आवश्यक परे उहाँहरू तुरून्त आउनुहुन्छ।'
अहिले अस्पतालमा रहेका खाली कोठाहरूमा आइसियू बेड राख्नलाई काम भइरहेको छ। बेडहरू पनि आइपुगेको छ।
निर्देशक राजभण्डारीले अस्पतालले छुट्टै अक्सिजन प्लान्ट पनि बनाइरहेको बताए।
यो प्लान्ट बनेपछि सिलिन्डरबाट अक्सिजन दिनुपर्ने झन्झट टर्ने उनले जनाए।
अस्पतालमा २० वटा आइसोलेसन तयार पार्ने काम पनि भइरहेको छ। त्यो भएपछि अस्पतालमा २५ वटा आइसोलेसन हुनेछ।
सरकारले टेकु अस्पताललाई कोरोना विशेष अस्पताल तोकेपछि अस्पतालमा दिइँदै आएको अन्य सेवाहरूलाई अन्य अस्पतालमा सारिएको थियो। अहिले अस्पतालले कोभिड-१९ बाहेक एन्टिरेबिज भ्याक्सिनको सेवा प्रदान गरिरहेको छ।
सरकारले भोलि आउनसक्ने परिस्थितिलाई मध्यनजर गर्दै अस्पतालहरूमा आइसियू र भेन्टिलेटर थप्ने काम गरिरहेको छ। चिकित्सकहरूका अनुसार कोरोनाका गम्भीर बिरामीलाई आइसियूमा सार्नुपर्ने र श्वासप्रश्वासमा समस्या आइपरेको अवस्थामा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ।