सेती प्रादेशिक अस्पताल धनगढीमा स्टाफ नर्स बन्न आवेदन दिएका १४ जनाले नियुक्ति लिन अस्वीकार गरेका छन्। अस्पतालका अनुसार उनीहरूले लिखित परीक्षामा पास भएर अन्तर्वार्तासमेत दिइसकेका थिए।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट हेमराज पाण्डेयले वैकल्पिकमा परेकालाई करारमा जागिर दिन बोलाइएको भए पनि १४ जना नआएको बताए।
'फोन र सूचनामार्फत् बोलाउँदा पनि ६ जना मात्रै आउनु भयो,' उनले भने।
कोरोना भाइरसको संक्रमण रोकथाम,जोखिम न्यूनीकरण कार्यक्रम अन्तर्गत माघ १२ गते अस्पतालले विज्ञापन गरेको थियो।
विज्ञापन अनुसार लिखित तथा अन्तर्वार्ता परीक्षाबाट योग्यता क्रममा २० सम्मको सूचीमा परेका थिए।
अस्पतालले उनीहरूलाई नियुक्ति बुझ्न बोलाउँदै चैत ५, १२ र २४ गरी तीनपटक सूचना जारी गरेको थियो।
उनीहरू नआएपछि अस्पतालले नयाँ विज्ञापन खुलाएको छ।
'नयाँ भर्नाका लागि सूचना जारी भैसकेको छ,' पाण्डेयले भने 'अस्पतालले चार जना मेडिकल अधिकृत र केही स्टाफ नर्सका लागि आवेदन खुला गरेको छ।'
सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पतालका रूपमा घोषणा गरिएको छ।
अहिले अस्पतालमा चार जना संक्रमित र शंकास्पद ६ जना गरी १० जनाको आइसोलेसनमा उपचार भइरहेको छ। उनीहरूको उपचार गर्ने टिममा अहिले ५ नर्स छन्।
अस्पतालले अहिलेसम्म ८१ जनाको परीक्षण गरेको छ। जसमा ४ जना पोजिटिभ, ७० जना नेगेटिभ र ७ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ।