बलम्बुका गणेश सापकोटाको मन बेचैन छ। लक डाउनले उनी घरमै रोकिएका छन्, मन भने घन्टाघरतिरै छ।
३८ वर्षदेखि घन्टाघरमा घडी रेखदेख गर्दै आएका उनी फागुन मसान्तदेखि आफ्नो काममा फर्किन पाएका छैनन्।
आफ्ना कान्छाबाको निधनपछि किरिया बिदामा रहेका उनीलगत्तै लकडाउन भएपछि काममा फर्किन सकेनन्।
फागुन अन्तिम सातादेखि नै घन्टाघरको घडीका सुई चलेका छैनन्, ११:४० मा रोकिएको छ।
आफूलाई घन्टाघरको घडीकै माध्यमबाट धेरैले चिन्ने गरेको बताउने सापकोटा आफ्नो इज्जत र नाम घडीमै जोडिएको बताउँछन्।
शुक्रबार सापकोटाले सेतोपाटीसँग कुराकानी गर्दै लकडाउनका बेला पास नहुँदा आफू घन्टाघर जान नसकेको बताए।
‘अंकलको निधन भएपछि म किरिया बसें। लगत्तै लकडाउन भयो म घन्टाघर जान नै पाएको छैन,’ सापकोटाले भने, ‘कसैले पास बनाइदिएको भए त नियमित जाने थिएँ। पासबिना अहिले घरबाहिर निस्कन मिल्दैन।’
उनले अब लकडाउन खुलेपछि मात्रै आफू घन्टाघर जाने बताए।
‘घडी रोकिएको छ तर मसँग पास नै छैन,’ उनले भने, ‘घडी रोकियो भनेर क्याम्पस, महानगरपालिका, पुरातत्व कसैले एक कल फोन पनि गरेका छैनन्।’
घन्टाघर सञ्चालन कसको दायित्व भन्ने प्रष्ट छैन। त्रिचन्द्र क्याम्पस हाताभित्र रहेकोले क्याम्पसले नै रेखदेख गरिरहेको छ। सापकोटा पनि त्रिचन्द्रकै कर्मचारी हुन्। उनी ०४३ सालदेखि घन्टाघर रेखदेखको जिम्मेवारीमा छन्।
‘घडी बन्द हुँदा कसैले जिम्मेवारीबोध गरेका छैनन्। ममात्रै बेचैन भएर के गर्ने? कतैबाट फोन आएको छैन। म घरमै चुप लागेर बसेको छु,’ सापकोटाले भने।
घन्टाघरको घडी दम दिने र सञ्चालन गर्न सापकोटालाई पालो दिने अर्को कर्मचारी छैनन्। उनको पेन्सन हुन अब पाँच वर्ष बाँकी छ। सापकोटा सामान्य बेला बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म घन्टाघरमै डियुटीमा हुन्थ्ये।
‘दशैंमा बिदा हुँदा पनि म दिनको एकपटक घन्टाघर पुग्ने गरेको थिएँ,’ उनले भने, ‘अहिले पास नहुँदा घरमै रोकिएको छु, घडी चलाउन पाइनँ।’