पोखरा ५ मालेपाटनका स्थानीयले शुक्रबार नहरमा नवजात शिशुको एउटा शव देखे।
भर्खरै जन्मिएजस्तो नालसहित शव देखेपछि स्थानीयले प्रहरी कार्यालय बैदाममा खबर गरे। प्रहरीको टोली घटनास्थलमा पुग्यो।
बिहीबार मात्र जन्माएर शिशु फालेको हुन सक्ने प्रहरी टोलीले आशंका गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले बताए। यद्यपी शिशुको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ।
नवजात शिशु कसको हो भन्नेबारे खुलेको छैन। प्रहरीले घटनाको छानविन गर्न ‘सिन अफ क्राइम अफिसर (सोको) टोलीलाई खटाएको छ। डिएसपी केसीका अनुसार, शिशुको शरीरमा बाहिरबाट देखिने गरी कुनै खोट छैन।
घटनाको अनुसन्धान पश्चात शिशु मृत जन्मिएको वा हत्या गरिएको भन्नेबारे खुल्ने डिएसपी केसीले बताए।
‘पानीको नहरमा फालिएको अवस्थामा भेटिएको शिशुका हत्या कि मृत अवस्था हो भन्ने कुरा पोष्टमार्टम रिपोर्टमा आउला,' डिएसपी केसीले भने, 'कसले जन्माएको हो र किन नहरमा फालेको भन्ने बारे अनुसन्धान हुँदैछ ।’