मिर्गौला रोग विशेषज्ञ डा.विमल पाण्डे अस्पताल जान बिहान ८ बजे तयार भइसकेका हुन्छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपप्रध्यापक समेत रहेका पाण्डे 'इन्टरनल मेडिसिन' विभागमा पनि छन्।
अस्पतालमा केही दिनयता उनको दैनिकी फेरिएको छ। उनी पाटन अस्पतालले स्थापना गरेको ज्वरो-रूघाखोकी तथा श्वासप्रश्वाससम्बन्धी क्लिनिक एवं आकस्मिक सेवा कक्षका संयोजक समेत हुन्।
त्यही भएर उनको भूमिका हिजोआज मिर्गौला रोग विशेषज्ञ भन्दा पनि फिजिसियनको बढी छ। ज्वरो क्लिनिकमा आउने बिरामीको पहिचान गर्ने अनि त्यहाँको आवश्यक व्यवस्था मिलाउँदैमा उनको दिन बित्छ।
'पाटन अस्पतालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि छुट्टै अस्पतालको स्थापना गरेको छ। त्यही भएर अस्पतालका अन्य काम पनि चलिरहेकै छन्,’ डा पाण्डेले भने, ‘हाम्रो गेट नै फरक छ। अस्पतालभित्र एउटा छुट्टै अस्पताल छ। जाने र निस्किने ठाउँ नै फरक छ। कोरोना अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीसँग अन्य स्वास्थ्यकर्मीको कुनै सम्पर्क हुँदैन।'
कोरोना विशेष अस्पतालमा काम गर्ने सबै कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले पिपिई लगाएर जाने र फर्किंदा फुकालेर फर्किने गरेको उनले बताए।
चैत ८ गते उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पाटन अस्पताललाई कोरोना उपचारका लागि डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेको थियो।
सोही निर्णयपछि अस्पतालमा दुई खालका आइसियू बनाइएको छ।
'अहिले अस्पतालमा आइसियू दुइटा छ। एउटा नर्मल र अर्को कोरोना उपचारका लागि बनाइएको आइसियू छन्। नर्मल आइसियू ८ बेडको छ भने कोरोना उपचारका लागि बनेको आइसियू २१ बेडको छ।'
डेडिकेटेड अस्पतालमा ६ वटा आइसोलेसन वार्ड छ भने २१ बेडको आकस्मिक र १५ वटा कोरोना पोजेटिभ बेड छ।
आइसोलेसन बेडमा अहिले ५ जना बिरामी छन्। अहिलेसम्म परीक्षण गरिएकामध्ये सबैको नतिजा नेगेटिभ आएको छ।
कोरोना भाइरसका बिरामीको उपचारमा खटिनपर्ने भएकै कारणले डा. पाण्डे अहिले अस्पतालको आफ्नो क्वार्टरमा एक्लै बसेका छन्। श्रीमती र छोरालाई सिफल पठाएका छन्।
‘अस्पतालमा झन् डर हुन्छ। हामीले अरूलाई अस्पताल नआउनू भनेका छौं। त्यही भएर हामीले पनि परिवारलाई यहाँ नराखेको हौं,’ उनले भने, 'म बेलाबेलामा सिफल पनि जान्छु। पोजेटिभ केस नदेखिँदासम्म धेरै डर हुँदैन तर सजकता अपनाउनुपर्छ।'
डेडिकेटेड अस्पतालमा सुरक्षा गार्ड, सहयोगीहरू, स्टाफ नर्स तथा चिकित्सकहरू गरी झण्डै ४० जना छन्।
ती सबैले अस्पतालमा पिपिई प्रयोग गर्छन्। अस्पतालबाट बाहिरिँदा पिपिई खोलेर जान्छन्।
‘कोरोना भाइरसको संक्रमण नभएसम्म त अहिलेको सजकताले काम गर्छ। हामीले सबै स्वास्थ्यकर्मीलाई घरमा पनि दूरी कायम राख्न भनेका छौं,’ उनले भने,’ कोरोनाभाइरस पोजेटिभ देखिएपछि भने हामीले अहिलेको तरिका परिवर्तन गर्नुपर्छ।'
ज्वरो आएका बिरामीका लागि चौबिसै घण्टा अस्पताल खुला रहने भएकाले डा. पाण्डे पनि सधैं तयारी अवस्थामा रहन्छन्।
डा.पाण्डेले बिहानको खाजा अस्पतालमै खान्छन् भने दिउँसो १ बजे खाना आइपुग्छ।
ललितपुरमा रहेको भिभान्ता होटलले कोरोना डेडिकेटेड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि बुधबारदेखि खाना पुर्याइदिन थालेको छ।
दिउँसो १ बजे र राति ७ बजे खाना ल्याउने गरेको उनले बताए। यो भन्दा अगाडि बाजेको सेकुवाले खाना ल्याउने गरेको थियो।
दिनैभरी अस्पतालमै व्यस्त रहने डा. पाण्डेलाई शुभचिन्तकहरूको फोन पनि उत्तिकै आउँछन्। सबभन्दा बढी फोन उनलाई आफ्नै आमाको आउँछ। दाङमा रहेकी ६२ वर्षीया आमाले दिनमै ५ पटकसम्म फोन गर्छिन्।
धेरै बिरामीलाई नआत्तिनूस् भनेर भरोसा दिने डाक्टर पाण्डेलाई भने हरेक दिन उनकी आमाले ‘नआत्तिकन काम गर्नू’ भनेर ढाडस दिन्छिन्।
आमाबाहेक आफ्ना शुभचिन्तक र साथीभाइ त छँदैछन्। श्रीमती र छोरालाई भने उनले बेलाबखत भेटन गइरहन्छन्।
‘घरमा आमालाई चिन्ता हुनेनै भयो। आफन्तहरूलाई झनै चिन्ता छ,’ उनले भने, ‘हामी अस्पताल बस्नेलाई अहिलेसम्म खासै समस्या छैन भन्ने थाहा छ। तर आफन्तहरूलाई थाहा छैन। आमाले हरेक दिन कहाँ छस्, के गर्दै छस् बचेर काम गर्नु भन्नुभएको त्यसैले हो।’