सरकारले चीनबाट ल्याएको र्यापिड डाइग्नोस्टिक किटबाट कोरोनाभाइरस (कोभिड-१९) को एन्टिबडी टेस्ट गर्ने काम धमाधम सुरू गरेको छ।
सातै प्रदेशमा सरकारले यस्ता किट ५ हजारको दरले पठाइसकेको छ।
विश्व स्वास्थ्य संगठनले यो किट प्रयोग गर्न नभने पनि विभिन्न मुलुकले भने यो किट प्रयोग गर्दै आएका छन्। नेपालले पनि सात करोड बढी रकम खर्चेर चीनबाट ७५ हजार वटा यस्ता किट ल्याएको छ।
स्वास्थ्य मन्त्रालयले यो किटको गुणस्तर जाँच गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई जिम्मा दिएको छ।
प्रयोगशालाले कैलाली र कञ्चनपुरबाट १ सय ९८ वटा नमूना लिएर यो किटको गुणस्तर जाँच गर्न सुरू गरेको छ।
सबै नमूनाको जाँच आजसम्म सकिने र आइतबार मन्त्रालयलाई रिपोर्ट पेस गर्ने प्रयोगशालाको तयारी छ। मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले १ यस ९८ वटा नमूनामध्ये ६६ वटाको परीक्षण गर्दा एन्टिबडी र पिसिआर दुबै विधिमा नेगेटिभ आएको बताएका छन्।
उनले बाँकी नमूनाको परीक्षण कार्य भइरहेको पनि जानकारी दिए। प्रयोगशालाले १ सय ९८ वटै नमूनाको परीक्षण गरेपछि यो किट ठीक छ/छैन भनेर मन्त्रालयलाई पेस गर्नेछ।
सरकारले भने यो किटको गुणस्तर टुंगो नलाग्दै यो किटबाट विभिन्न ठाउँमा एन्टिबडी टेस्ट गर्न सुरू गरिसकेको छ।
शुक्रबार कैलाली र कञ्चनपुरमा झण्डै साढे चार सय व्यक्तिको एन्टिबडी टेस्ट गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको मन्त्रालयले जनाएको छ।
एन्टिबडी टेस्ट गर्दा यसबाट शरीरमा कोरोना भाइरसविरूद्ध लड्ने तत्व पत्ता लाग्छ। त्यसैले एन्टिबडी पोजेटिभ आयो भने उक्त व्यक्तिमा कोरोना संक्रमण थियो भन्ने हुन्छ। यो तत्व कोरोना संक्रमण भएको दुई हप्तादेखि शरीरले उत्पादन गर्छ।
एन्टिबडीले शरीरमा रहेको कोरोनाभाइरसविरूद्ध लड्न सघाउ पुर्याउँछ र फेरि संक्रमण हुनबाट जोगिन मद्दत गर्छ।
सरकारले झन्डै २० हजार बढी व्यक्तिको एन्टिबडी परीक्षण गर्ने तयारी गरेको छ। जसअनुसार प्रदेशहरूमा यसको काम सुरू भइसकेको छ।