सेती प्रादेशिक अस्पतालमा कोरोनाका बिरामी हेर्न तैनाथ छिन् मानमती ओली। उनी कोरोना संक्रमित बिरामीको उपचारमा खटिने ५ जना टिम मध्येकी एक नर्स हुन्। यो टिममा उनी चैत २३ गतेदेखि काम गरिरहेकी छन्।
उनी कन्चनपुरकी हुन्। उनका आमाबा निकै डराएका छन्। त्यसैले आमाले उनलाई फोन गरिरहन्छिन्। तर उनले भने हिम्मत हारेकी छैनन्।
'यस्तो बेला हामीले पनि हिम्मत हार्ने हो भने झन् के हुन्छ?' उनले भनिन्, 'स्वास्थ्यकर्मीलाई सुरक्षाका सामान पनि हुनुपर्यो त्यो भने पहिलो आवश्यकता हो र ती जुटाउने सरकारको काम हो।'
आमाको आवाजमा डर, पीर ज्यादा सुनिन्छ। मानमती भने हँसाउन खप्पिस छन् रे।
'मैले जसरी पनि कन्भिन्स गरेर फोन राख्ने बेला खुसी बनाइसकेको हुन्छु,' उनले भनिन्।
धनगढीमा उनी र उनका भाइबहिनी सँगै बस्छन्। तर उनीहरूलाई भेट्न जान नपाएको पनि हप्तादिन कटिसक्यो। जेठी दिदी भएकाले उनलाई परिवारको उस्तै चिन्ता छ। कसैगरी संक्रमण फैलिएर उनीहरूसम्म पुग्यो भने?
बिरामीबाट आफू र आफूबाट परिवारमा सर्ला भनेरै उनलाई घरजान डर लाग्छ। अस्पतालले पनि नजिकैको होटलमा बस्ने व्यवस्था मिलाइदिएको छ।
जेठी छोरी भएकाले घरको जिम्मेवार सदस्य हुन् उनी। अस्पतालमा काम गरेरमात्र उनी जिम्मेवारी पूरा हुन्न। फोनबाटै भए पनि भाइबहिनीको ख्याल गर्ने उनीहरूलाई सम्झाउने गरिरहन्छिन्।
यो महामारीमा काम गरेको अनुभव उनको जीवनमा कहिलै नमेटिने सम्झना भएर रहनेछ। यस्तो बेला काम गर्न पाउँदा उनलाई कहिले डर लाग्छ कहिले गर्व।
'संसारमा डाक्टर नर्स बिरामी जाँच्दा जाँच्दै कोरोनाको शिकार भएको हामीलाई थाहा छ। डर त छ। तर यस्तो बेला पनि हामी फ्रन्टलाइनमा काम गरिरहेका छौं, हामीलाई आफ्नो काममा गर्व गर्ने बाटो पनि यहीबेलाले दिन्छ,' उनले भनिन्।
उनले यस्तोबेला काम गर्न आफैंले आफैंलाई ज्यादा ढाडस दिनुपर्ने ठान्छिन्। संक्रमितको रहेको उपचारकक्षमा जानु अघि उनले राम्रो कुरा मात्र सोच्ने गरेको बताइन्।
'उपचार कक्षमा पुग्नुअघि जसरी पनि कोरोनालाई जित्नु छ भन्ने सोचेर जान्छु,' उनले भनिन्, 'बिरामीहरू सबै निको भएको रिपोर्ट छिट्टै आउँछ भन्ने सोच्छु।'
सामान्य अवस्थामा दैनिक ६ घण्टा काम गर्ने उनी पनि अहिले दैनिक १२ घण्टा गर्छिन्।
बिरामीको खाना, औषधि र निगरानी गर्ने काम उनको हो।
सकेसम्म उनीहरू बिरामीलाई छुनेगरी नजिक जान्नन्। खाना र औषधि पनि टाढैबाट दिन्छन्। ज्वरो पनि टाढैबाट नाप्छन्। यी काम गर्न केही नजिक पुग्नुपरे पनि आइसोलेसनमा बसेका बिरामीसँग कुरा गर्न भने उनीहरूले फोनको सहारा लिने गरेका छन्।
'बेला बेलामा फोनबाट बिरामीसँग कुरा गर्छौं। उनीहरूले कस्तो महशुस गरेका छन् सोध्छौं। उनीहरूलाई चाहिएको मद्दत गर्छौं,' उनले भनिन्।
आइसोलेसनमा भएका बिरामीलाई सिसिटिभीबाट उनीहरूले निगरानी गरिरहेका हुन्छन्।
उनीहरूलाई केही अप्ठ्यारो भएको थाहा हुनेबित्तिकै उनीहरूले अरू उपचार गरिहाल्नुपर्छ।
आफन्तसमेत भेट्न आउन पाउँदैनन्, त्यसैले पनि बिरामीहरू ज्यादा आत्तिन्छन्। यस्तो बेला बिरामीलाई आफ्नै जस्तो सम्झाउने उनीहरूले नै हो।
'बिरामीहरू आत्तिए उनीहरूलाई सम्झाउनुपर्छ। यो रोगसँग लड्न बलियो मन चाहिन्छ भन्छौं,' उनले भनिन्,'हामीसँग कुरा गरेपछि उनीहरू केही शान्त हुन्छन् अनि खुसी लाग्छ।'
यसरी बिरामी सम्झाउन आफू पनि बलियो हुनुपर्यो। त्यो बल भने परिवार र समाजले आफूहरूलाई गर्ने सपोर्टबाट पाइने अर्की नर्स कमला बुढा बताउँछिन्।
‘ममी आफ्नो ख्याल गर्नुहोला,’ हरेकजसो बिहान उनका छोराले फोन गरेर भन्छन्। हरेकपटक छोराको फोनले उनको मन हुरूक्क बनाउँछ।
'मेरो छोराले फोन गर्छ उसको फोन आएपछि ढुक्क हुन्छु,' उनले भनिन्, 'आफू ढुक्क भए बिरामीलाई सम्झाउन सकिन्छ।'
घरपरिवार र समाजभन्दा ज्यादा स्वास्थ्यकर्मीको मनोबल बढाउने काम सरकारले गर्नुपर्ने उनले बताइन्।
'अहिले सरकार र अस्पतालले भत्ता र बीमा लगायतका सुविधा दिने भनेको छ, स्वास्थ्यकर्मीलाई पिपिईजस्ता सामग्री पनि देओस,' उनले भनिन्, 'हाम्रो मनोबल बढाउने काम गरोस्।’
अहिलेको जोखिममा काम गर्न उनीहरूलाई सजिलो त छैन। उनी आफैं पनि दैनिक कोरोनोको आशंकामा बिरामीको नमूना संकलन, परीक्षण र उपचारका काममा खटिनुपर्छ। यसो गर्दा आफैंलाई सर्न सक्ने डर हुन्छ।
'सकेसम्म जोगिएर काम गर्ने गरेका छौं,' उनले भनिन्, 'हामी पनि जोगिएका छौं,' उनले भनिन्।
उनी नर्स बनेको धेरै वर्ष भयो। यसअघि पनि सरूवा रोगको बेला उनले काम गरेकी थिइन्।
१६ वर्षअघि एचआइभी यस्तै डरलाग्दो रोगको रूपमा देखा परेको थियो। त्यो बेला पनि उनी फ्रन्टलाइनमै काम गरेकी थिइन्।
‘एचआइभीको उपचारको अनुभव भएकाले अहिले सजिलो भएको छ,’ उनले भनिन्।
उनको आँट एकातिर परिवारको डर अर्कोतिर।
चैत १४ गतेको साँझ जब सेती प्रादेशिक अस्पतालका बिमारीमा कोरोना पोजिटिभ आयो, उनको परिवारले उनलाई जागिर छोड्न भने। उनले उनीहरूका कुरा सुनिन्। त्यो बेला परिवारलाई म सुरक्षित छु भन्न सक्ने अवस्था समेत उनको थिएन। तै चुपचाप उनी भोलिपल्ट बिहानै उठेर अस्पताल आइन्।
‘त्यसबेला अस्पतालमा उपकरण र कोभिड-१९ उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध थिएनन्,' उनले भनिन्, 'सामान भएको भए त डराउनुपर्दैन भनेर परिवारलाई पनि सम्झाउन हुन्थ्यो। चुपचाप लागेर आएँ। अहिले त पिपिई लगायतका सामान मागे ढिलै भए पनि पाइन्छ।'
अस्पतालले कोरोना संक्रमितको उपचारका लागि विशेष टिम बनायो। अनुभवी टिममा उनी पनि परिन्। उनले कोरोना उपचार टिममा काम सुरू गरेकै दिन तीन जना बिरामी थपिए।
अस्पतालमा उपचाररत चारै जना संक्रमितको अवस्था अहिलेसम्म सामान्य छ ।
‘औषधि लगायतका उपचारका सामग्री धेरै उपलब्ध भइरहोस् र बिरामीले पाउने सुविधा पनि थप होस्,’ उनले भनिन्, 'हामी त सेवा नै धर्म हो भन्ने सम्झेर काम गरौंला।'
उनले आफ्ना परिवारलाई यही भनेर सम्झाउने गरेकी छन्।
'परिवार र छोराको माया त छ नि। तर यतिबेला बिरामीलाई माया गर्नुपर्छ जस्तो लाग्छ,' उनले भनिन्, 'अचेल त म सुरक्षित छु तिमीहरू पीर नगर भन्न ढुक्कले पाएकी छु। यस्तो बेला भाग्न मिल्दैन भनेर सम्झाउँछु।'
यता बिरामी पनि कहिले निको हुन्छ भनेर सोधिरहन्छन्। उनले अब त तपाईं निको भइहाल्नुहुन्छ नि भन्दै सम्झाइरहन्छिन्। तर सेती प्रादेशिक अस्पतालमा १५ दिन अघिदेखि बसेका बिरामीको पछिल्लो परीक्षणमा समेत पोजेटिभ देखियो।
रिपोर्ट नेगेटिभ आएको दिन उनीहरू सन्चो हुनेछन्। त्यो दिनको प्रतीक्षा कमलालाई पनि छ।
'ढुक्क भएर घर जान र छोरासँगै बसेर खान पाइन्छ,' उनले भनिन्।