सुनसान बेगनासतालमा शनिबार दुई डुङ्गा सिम्लेबाट बजारतर्फको घाटमा आउँदै थिए। डुङ्गामा यात्रु थिएनन्।
पुरूषले चलाएको डुङ्गामा रुखको घाँस र केही भारी दाउरा थियो, भने महिलाले चलाएको डुङ्गामा एक वृद्ध र बोका।
तालको पानी अरुबेला भन्दा सङ्ग्लो थियो। कुनै गतिविधि नहुँदा छालका तरङ्ग पनि थिएनन्। दुई डुङ्गाले ल्याएको तरङ्ग क्षणभरमै हरायो। तालमा पौडिरहेका हाँसहरु किनारामा मान्छे देखेपछि केही पर गए।
सरकारले कोरोना भाइरस रोकथामका लागि भन्दै चैत ११ देखि देशभर ‘लकडाउन’ घोषणा गरेपछि ताल तरङ्गित हुन छाडेको छ। लकडाउनको निर्णयपश्चात ‘बेगनासताल डुङ्गा व्यवसायी समिति’ले अर्को सूचना जारी नभएसम्म तालमा डुङ्गा चलाउन अनिश्चितकालीन रोक लगाएको छ। समितिका अनुसार अहिले बेगनासतालमा मात्र २५७ डुङ्गा चल्छन्।
पारिबाट आएका दुई डुङ्गामध्ये घाँस र दाउराका भारी ल्याउने स्थानीय ४२ वर्षीय रविन्द्र कँडेल थिए। वृद्ध र एउटा बोका ल्याउने अर्को डुङ्गामा रविन्द्रकी श्रीमती ३९ वर्षीय कृष्णकुमारी कँडेल थिइन्।
पुरानो घर बेगनासको सिम्लेबाट उनीहरु बेगनास बजार बसाइ सरेर आएका हुन्। सिम्लेमा अझै पनि आमा– बाबु बसिरहेको रविन्द्रले बताए।उनीहरु बजार सरेको पनि ५ वर्ष वितिसकेछ। त्यही पनि छोरा–छोरी पढाउनका लागि गाउँ आउने जाने भइरहने रविन्द्रले बताए।
बेगनास बजारमा पालिएको भैँसीलाई घाँस र कुँडो पकाउन दाउरा ल्याएको उनले बताए। लकडाउनपछि दाना– चोक्कर नपाइएकाले पनि धेरै घाँस काट्नुपरेको उनको भनाइ छ।
कृष्णकुमारीले डुङ्गामा ल्याएका वृद्धले गाउँबाट बोका किनेका रहेछन्। रविन्द्रको परिवारमा एउटा मात्र डुङ्गा रहेछ। आफन्त नै पर्ने भएकाले कृष्णले छिमेकीको डुङ्गा चलाएर वृद्धा र उनले किनेको बोका वारि ल्याइदिइन्। ती वृद्धाले पारि गाउँबाट १४ हजार रुपैयाँ तिरेर बोका किनेको बताए।
रविन्द्र–कृष्णकुमारी परिवारको खास पेशा बेगनासतालमा डुङ्गा चलाउने र कृषि कर्म हो। बेगनासतालमा दिनहुँ डुङ्गा चढ्न आउने मानिस भन्दा डुङ्गाको संख्या धेरै भएछ। जसले गर्दा डुङ्गा मात्र चलाएर जीविका नचल्ने कृष्णले बताइन्।
‘सिजनमा हप्तामा एक पटक मात्र पालो आउँछ, बेसिजनमा पालो आउनै १०/१२ दिन लाग्छ’ कृष्णले भनिन्, ‘समितिले डुङ्गा चढ्न आउनेलाई १ घण्टाको ५ सय रुपैयाँ लिने नियम बनाएको छ।’ एकदिन डुङ्गा चलाएपछि घर गएर अरु काम गर्ने अनि पालो आउने बेला फेरि चलाउन आउने उनीहरुको भनाइ छ।
समितिले बेगनासतालमा डुङ्गा सवार गर्दा नेपाली र विदेशी पर्यटकलाई एउटै ‘रेट’ तोकेको छ। डुङ्गा व्यवसायीलाई पालो निर्धारण पनि समितिले नै गरिदिन्छ।
डुङ्गा चढ्न आउने पर्यटक कति घण्टा बेगनासतालमा डुल्छ भन्ने कुरा पर्यटकमै निर्भर हुन्छ। तर आप्mनो पालोमा धेरै समय घुम्ने पर्यटक पाउनु ‘लक’को कुरा भएको उनीहरुले बताए।
व्यवसायका लागि मात्र होइन, डुङ्गा उनीहरुका लागि नियमित आवश्यकता हो। ताल वारपार गर्न गाउँको घर, खेतबारीमा आउजाउ गर्न उनीहरुलाई डुङ्गाकै भर छ। गाउँका अधिकांश घरमा एउटा न एउटा डुङ्गा रहेको रविन्द्रले बताए।
‘हामीलाई डुङ्गा अति आवश्यक हुन्छ, मोटरसाइकलभन्दा बढी’ उनले भने, ‘आप्mनो साधन भएपछि घाँसदाउरा गर्न र गाउँ आउजाउमा सजिलो हुन्छ।’
गाउँमा अहिले पनि उनीहरुको ४ वटा भैंसी र केही बाख्रा छन्। डुङ्गामा गाउँको घरदेखि बजारको घर आउन आधा घण्टा लाग्छ। यो समय भनेको मोटरबाट धेरै घुमेर आउने बाटो भन्दा डुङ्गाबाट आउन धेरै नै छोटो भएको उनीहरुले बताए।
गाउँमा उनीहरुले अहिले खेतिपाति त्याग्दै गएका छन्। जुनसुकै बाली पनि बाँदरले खाइदिने वा क्षत–विक्षत पारिदिने भएकाले खेती भन्दा पशुपंक्षीपालन र डुङ्गा चलाउनमै उनीहरुको जोड छ। ‘गरेको खेती बाँदरले राख्दैन’ कृष्णले भनिन्, ‘काम गरेर खानै गाह्रो भयो।’
लकडाउनका बेला भएपनि व्यक्तिगत प्रयोजनमा डुङ्गा चलाउन भने समितिले नरोकेको उनीहरुले बताए। लकडाउनका कारण अन्यत्र जस्तै बेगनास बजार पनि सुनसान छ। उनीहरुले डुङ्गाबाट घाँस र दाउराका भारी तालको किनारमा सारे। यतिबेला उनीहरुका छोराछोरी पनि आइपुगेका थिए।
तालको किनारैमा रहेको चौतारीमा बसेर कृष्णकुमारीले छोरा–छोरीलाई पानी ल्याउन लगाइन्। छोरा–छोरीले नजिकैको धाराबाट बोतलमा पानी भरेर ल्याइदिए। पानी पिएर उनले भनिन्, ‘लकडाउन भए नि, घाँस दाउरा गर्न त केले छेक्छ र।’