त्रिभुवन विश्वविद्यालयलगायत शैक्षिक संस्थाले लकडाउनमा पनि पठनपाठनलाई निरन्तरता दिएका छन्।
कसरी भन्नुहोला।
इन्टरनेटको माध्यमबाट भिडिओ कन्फ्रेसिङ गर्दै त्रिवि र काठमाडौं विश्वविद्यालयका विभिन्न संकायमा पठनपाठन जारी छ।
अरूबेला जस्तो विद्यार्थी पढ्न कक्षाकोठामा भने पुग्नु पर्दैन। शिक्षक र विद्यार्थीको भेट जुम भिडिओ कन्फ्रेसिङबाट हुन्छ।
यातायात तथा शैक्षिक संस्था बन्द भएका बेला शिक्षक-विद्यार्थीबीच ज्ञानगुन बाँड्ने मेसो नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्कले मिलाइदिएको हो।
यस संस्थासँग समन्वय गरी अहिलेसम्म एक सयभन्दा बढी संस्थाले आफ्ना कामलाई निरन्तरता दिइरहेका छन्।
लकडाउन सुरू भएको गत चैत ११ गतेदेखि आइतबारसम्म ५० भन्दा बढी संस्थाले जुम भिडिओ कन्फ्रेसबाट काम सुचारू राखेका छन्।
नेटवर्कका एडमिस्टेटर निराजन पराजुलीले सरकारी संस्थालाई तीन महिनाका लागि नि:शुल्क रूपमा भिडिओ कन्फ्रेसिङ सेवा दिइएको बताए।
‘हाम्रो प्राथमिकतामा सरकारी संस्थाहरू छन्। डिजिटल एमओयू गरेपछि हामी नि:शुल्क रूपमा जुम भिडिओ कन्फ्रेसिङ सेवा उपलब्ध गराउँछौं,’ उनले भने।
जुम भिडिओ कन्फ्रेसिङ सञ्चालन गर्न तीन महिनाको १० हजार रूपैंया जति खर्च हुने भए पनि नि:शुल्क गरिदिएको उनले जानकारी दिए।
त्रिभुवन विश्वविद्यालयसँग एमओयु भइसकेकोले सबै आंगिक क्याम्पसले यो प्रणालीमार्फत् पठनपाठन गर्न सक्ने उनले बताए। ‘त्रिविमा स्नातकोत्तर तहमा विज्ञान भिडिओ कन्फ्रेन्सबाटै सुरू भइसकेको छ,’ उनले भने।
काठमाडौं विश्वविद्यालयअन्तर्गत विभिन्न संकाय र धुलिखेल अस्पतालमा पनि भिडिओ कन्फ्रेन्सबाट पठनपाठन र चिकित्सकहरूबीच कुराकानी हुन्छ।
‘केयुका डाक्टर सुमनराज ताम्राकारले एमबिबिएस नवौं सेमेस्टरका विद्यार्थीको लेक्चर यही भिडिओ कन्फ्रेन्समार्फत् सुन्नुभएको छ,’ उनले भने, ‘एकपटकमा एक सय जना जतिमा यो कनेट गरी कुराकानी गर्न मिल्ने र सजिलो पनि भएकोले यसको प्रभावकारीता देखिएको छ।’
पराजुलीका अनुसार नेटवर्कसँग एक हजार संस्थालाई दिन मिल्ने जुम भिडिओ कन्फ्रेस लाइसेन्स छ। ‘नेपालका ठूला शैक्षिक संस्थालाई आवश्यक परे हामी तीन महिनाका लागि यो सेवा दिन सक्छौं,’ उनले भने।
अस्पतालहरूले पनि जुम भिडिओ कन्फ्रेसिङबाट बैठक र विरामीसँग परामर्श गरेका छन्। वीर, स्टार, पाटन, धुलिखेल, कीर्तिपुर अस्पतालले भिडिओ कन्फ्रेसिङबाट विरामीलाई सेवा दिएका हुन्।
‘धेरैभरिका सरकारी अस्पताल, शैक्षिक संस्थालाई यो पहुँच दिन सकिन्छ,’ उनले भने, ‘आवश्यकता छ भने संस्थाले नेटवर्कसँग एमओयू गर्नुपर्छ। त्यसका लागि info@nren.net.np मा इमेल गर्नुहोस्।’
लकडाउन समयावधि बढ्न सक्ने भएकोले यो प्रविधि प्रभावकारी हुने पनि उनले बताए। यो संस्थाले कोरोनाको सेल्फ मूल्यांकन गर्न सक्ने विधि उल्लेखित एप्स पनि सञ्चालनमा ल्याएको छ।
उनकाअनुसार खेलाडिको मनोबल उच्च राखिराख्न नेपाल ओलम्पिक कमिटीले पनि आजदेखि भिडिओ कन्फ्रेसिङ लिएको छ। ‘नाफारहित संस्था भएकोले हामीले नि:शुल्क जुम भिडिओ पहुँच दिएका छौं,’ उनले भने।
नेटवर्कमा राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनको पनि संलग्नता छ। कोरोनाले गर्दा पढ्ने र पढाउने काम ठप्प भएका बेला भिडिओ कन्फ्रेसिङ सेवा लिन उनले आग्रह गरेका छन्।
‘अवरूद्ध पठनपाठन अनलाइनबाट सुचारू गर्न चाहनेलाई आविष्कार केन्द्रले सहयोग गर्नेछ,’ पुनले भनेका छन्, ‘इच्छुक विश्वविद्यालय र विद्यालयले सम्पर्क गर्नुहोला।’
अनलाइन कक्षा सञ्चालन गर्न आवश्यक शिक्षक, इन्टरनेट, कम्प्युटर र डिजिटल क्यामेराको बन्दोबस्त सम्बन्धित शैक्षिक संस्थाले आफ्नै खर्चमा गर्नुपर्ने पनि पुनले बताएका छन्।
‘सिष्टम सञ्चालन खर्च तीन महिनासम्म केन्द्रले व्यहोरिदिनेछ,’ उनले भने, ‘त्यसपछि सम्बन्धित संस्थाले नै व्यहोर्नुपर्छ।’