प्रदेश २ सरकारले वीरगञ्ज महानगरपालिकाका दुई वडामा सिल गरेको छ।
छपकैयामा भारतबाट आएर बसेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि महानगरको २ र ३ नम्वर वडालाई पूर्ण रूपले सिल गरिएको पर्साका सहायक जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए। साथै ती वडासँग छोइएका केही ठाउँ समेत सिल गरिएको उनले बताए।
मस्जिदमा बसेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण फेला परेपछि थप व्यक्ति संक्रमित हुन सक्ने अवस्था आउन नदिन प्रदेश २ सरकारले छपकैयास्थित मस्जिदको वडासहित आसपासको क्षेत्रलाई पूर्ण रूपले सिल गरेको हो।
सिलपछि संक्रमित व्यक्तिसँग सम्पर्कमा आएकाहरुको खोजी कार्य पनि गरिएको छ।
छपकैयास्थित एक मस्जिदमा बस्दै आएका २४ जनाको स्वाब परीक्षण गर्दा त्यसमध्ये तीन जना भारतीयमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो।