पर्साको वीरगन्जबाट कैलालीको लम्कीचुहा नगरपालिका पुगेकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
उनी नेपालका कोरोना संक्रमित पुष्टि भएकी १३ औं व्यक्ति हुन्।
साठी वर्षकी ती महिला वीरगन्जको पानी ट्यांकीमा चियाखाजा पसल चलाउँथिन्। लक डाउनपछि उनी पसल बन्द गरेर बसेकी थिइन्।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत ती महिलासहित ३५ जनालाई चैत १७ गते बसमा राखेर कैलाली पठाइएको बताए।
ती ३५ जनामध्ये अर्घाखाँची, दाङ, सुर्खेत र दैलेखका १-१ जनाबाहेक अरू सबै कैलालीका थिए।
कैलाली पुगेपछि ती महिलालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो।
र्यापिड टेस्टका क्रममा उनको नतिजा नेगेटिभ आएको थियो। तर थप परीक्षणका लागि उनको स्वाब काठमाडौं पठाइएको थियो।
काठमाडौंमा परीक्षण गर्दा उनको नतिजा पोजेटिभ देखिएको हो।
अहिले महिलालाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ।
उनीसँगै क्वारेन्टिनमा बसेका १७ जनाको नमूना परीक्षणको गरिएकोमा अरूको नतिजा नेगेटिभ आएको छ।
'उहाँहरूलाई पर्सा जिल्ला प्रशासन कार्यालयले पत्रसहित चिसापानीसम्म छोडिदिनुभएछ। त्यहाँबाट उहाँहरू सिधै आ-आफ्नो घर जानुभएछ' लम्कीचुहा-१ का वडा अध्यक्ष जनक बमले भने, 'गाउँलेले बाहिरबाट आएको खबर गरेपछि सबैलाई क्वारेन्टिनमा राख्यौं।'
यसअघि आइतबार वीरगञ्जको मस्जिदमा बसेका तीन जना भारतीयमा कोरोनाको संक्रमण पुष्टि भएको थियो।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अहिले चार जना कोरोना संक्रमितको उपचार भइरहेको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। एक जनाको उपचारपछि घर फर्किएका छन भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।