मस्जिदमा बसेका तीन जना भारतीय नागरिकमा कोरोनाभाइरस पुष्टि भएपछि वीरगन्जको छपकैयामा र्यापिड टेस्ट सुरू गरिएको छ।
ती भारतीयमा कोरोना संक्रमण पुष्टि भएसँगै आइतबार साँझदेखि वीरगन्ज महानगरपालिका वडा नम्बर २ र ३ मा पर्ने छपकैया बस्ती पूर्ण रूपमा सिल गरिएको छ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार अहिले चिकित्सकहरूको टोलीले छपकैयामा र्यापिड टेस्टिट किटले शंकास्पदको परीक्षण गरिरहेको छ।
‘हामीसँग ५ सय जति किट छन्। अहिलेसम्म ५९ जनाको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको छ,’ बस्नेतले भने,‘परीक्षण आज पनि जारी छ।’
उक्त मस्जिदको आडैमा अतिम खाना (अनाथालय) थियो। उक्त अनाथालयमा १९ जना बच्चा थिए। ती बच्चाहरूले कोरोना संक्रमित भारतीय नागरिकसँगै नमाज पढ्ने गरेकाले उनीहरूको पनि परीक्षण गर्न लागेको सहायक प्रजिअ बस्नेतले जानकारी दिए।
यसैबीच एकैदिन तीन जनामा कोरोना संक्रमण देखिएपछि सोमबार वीरगन्जका स्थानीयवासीमा त्रास बढेको छ। सडक सुनसान छन् भने मेडिकल लगायत अत्यावश्यक सामग्रीका पसल पनि बन्द गरिएका छन्।
वीरगन्जबाटै गएकी एक जना महिलालाई कैलालीमा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीयवासी त्रास झन् बढेको हो।