गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको दिनचर्या हिजोआज फेरिएको छ।
मुख्यमन्त्री कार्यालयका कामबाहेक गुरूङ एक सातादेखि कोरोना अपडेट लिएर फेसबुक लाइभ आउँछन्।
सोमबार गुरूङले नयाँ वर्षको शुभकामना सन्देश दिँदै अनुशासित भएर लकडाउन पालना गरे कोरोनाविरूद्धको लडाइँ जितिने बताए।
लगत्तै मुख्यमन्त्री गुरूङ आज प्रदेशभित्रका जिल्लामा कहाँ के भएका छन् भन्ने जानकारी लिँदैछन्। दिनभर लिएका जानकारी साँझ फेसबुक लाइभमा सुनाउनु त छँदैछ।
सोमबार सेतोपाटीसँग कुराकानी गर्दै मुख्यमन्त्री गुरूङले प्रदेश सरकारले गरिरहेका कामबारे फेसबुकबाट दिनहुँ जानकारी दिने गरेको बताए।
‘कोरोना नियन्त्रण तथा रोकथाममा प्रदेश सरकारले के काम गर्यो? भन्ने जानकारी फेसबुकबाट सबैले थाहा पाउँछन्,’ उनले सेतोपाटीसँग भने, ‘संकटका बेला मैले के काम गरेँ, प्रदेशले के गर्यो भन्ने जानकारी पछिका लागि आर्काइभ पनि हुन्छ।’
उनले कोरोना संक्रमित भेटुञ्जेल प्रत्येक दिन फेसबुकबाट जानकारी दिने पनि बताए। उनले फेसबुकमा आएका जिज्ञासा पनि समाधान गरिने बताएका छन्।
‘व्यक्ति व्यक्तिका प्रश्नका जवाफ त दिन सकेका छैनौं तर अधिकांश जिज्ञासाको समाधान दिने गरिएको छ,’ मुख्यमन्त्री गुरूङले भने।
मुख्यमन्त्री गुरूङले कोरोना संक्रमित विरामीलाई फोन गरेर ढाडस दिने पनि गरिरहेका छन्। ‘विरामीको मनोबल उच्च बनाउने, समस्या केही छ कि सोध्ने गरेको छु,’ उनले भने।
प्रदेश सरकारले स्थानीय तहलाई बजेट दिइसकेको पनि उनले जानकारी दिए। दैनिक ज्यालादारी गरी खाने मजदुरलाई राहत वितरण गर्न गाउँपालिका, नगरपालिका र महानगरपालिकालाई क्रमशः पाँच लाख, दश लाख र एक करोड अनुदान दिएको उनले जानकारी दिए।
‘पालिकामा गरिबीको रेखामुनि रहेका घरपरिवार हेरेर त्यसको आधारमा स्थानीय तहलाई अनुदान रकम दिएका छौं। राहत बाँड्ने काम पनि करिब सकिन लागिसकेको छ,’ उनले भने।
वडाध्यक्ष र वडा समितिले दैनिक ज्यालादारी गर्ने घरपरिवार पहिचान गरी राहत दिने मापदण्ड बनाएको पनि गुरूङले बताए। गरिब घरपरिवारले राहत पाए, पाएनन् अनुगमन गर्ने जिम्मेवारी सिडिओहरूलाई दिएको मुख्यमन्त्री गुरूङको भनाइ छ।
प्रदेश सरकारले विकास निर्माणका गतिविधि रोकेर कोरोना नियन्त्रणमा सबै ध्यान केन्द्रित गरेको उनले बताए। ‘केन्द्र सरकारले बजेट पठाएन,’ उनले भने, ‘प्रदेशले काम गरिरहेको छ। सरकार छ भन्ने अनुभूति दिने गरी हामी काम गर्दैछौं।’
कोरोनाको परीक्षण पोखराबाटै सुरू भइसकेको उनले बताए। प्रदेशभर गरी कूल दुई सय ९५ क्वारेन्टाइन होममा चार हजार आठ सय ७६ वेड क्षमता रहेको उनको भनाइ छ।
गण्डकी प्रदेशभर विदेशबाट आएकाहरूको संख्या चार हजार पाँच सय ४३ रहेकोमा तीमध्ये एक हजार सात सय ४७ जनाको कोरोना परीक्षण गरिएको मुख्यमन्त्री गुरूङले जानकारी दिए।
‘विदेशबाट आएकाहरूको वैशाख ७ गतेसम्म कोरोना परीक्षण सक्छौं। त्यसपछि उनीहरूका परिवार सदस्यमा कोरोना परीक्षण गरिन्छ,’ उनले भने, ‘त्यसबेलासम्मको अवस्था हेरेर थप रणनीति तयार पार्छौं।’
कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रदेशले १५ करोड रूपैंयाको कोष खडा गरेको उनले बताए। ‘अस्पताल र जिल्ला प्रशासनलाई रकम दिइएको छ,’ उनले थपे।