कोरोना भाइरसको संक्रमण भए/नभएको पुष्टि गर्न पर्साको जगन्नाथ गाउँपालिकाका अध्यक्ष जालिम मुखियाको स्वाब परीक्षण गरिने भएको छ।
सोमबार चिकित्सकहरूको टोली उनको घरमा पुगेर अध्यक्ष मुखियासहित उनको परिवारका दर्जन बढी सदस्यको स्वाब संकलन गरेर ल्याएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले सेतोपाटीलाई जानकारी दिए।
‘उहाँ र परिवारका सदस्यको स्वाब संकलन गरिएको छ,’ बस्नेतले भने,‘नतिजा नआएसम्म उहाँलाई हामीले होम क्वारेन्टाइनमै बस्न भनेका छौं।’
यसअघि प्रशासनले जगन्नाथपुरका विभिन्न मस्जिदमा रहेका १५ जना मौलवीहरूलाई नियन्त्रणमा लिएको थियो। ती मौलवीहरू दिल्लीको निजामुद्दिनमा भएको धार्मिक सभामा सहभागी भएर आएको प्रशासनको बुझाइ छ।
प्रहरीले जगन्नाथपुरबाट ल्याएकामध्ये २ जनालाई वीरगन्जको सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको छ भने बाँकी १३ जनालाई रौतहट र बाराको क्वारेन्टाइनमा पठाइएको छ।
उनीहरूको घर नै बारा र रौतहट भएकाले सम्बन्धित जिल्लाकै क्वारेन्टाइनमा पठाएको सहायक सिडिओ बस्नेतले जानकारी दिए।
‘भारतबाट आएका मौलवीहरूसँग सम्पर्क भएको हुन सक्ने ठानेर हामीले गाउँपालिका अध्यक्षको स्वाब परीक्षण गर्न लागेका हौं,’ सहायक प्रजिअ बस्नेतले भने।
यसअघि वीरगन्जको छपकैयामा बसेका तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।