उनीहरू चार जना थिए, एकै परिवारका। तीमध्ये दुई जना पाँच र दस वर्षका बालिका। लमजुङको ओखरी गाउँबाट भोटेवडार झर्दै थिए। बाटोमा जंगल पर्थ्यो। उनीहरू पुग्दा जंगलमा आगो लागेको रहेछ।
आगो पनि महामारीजस्तै हो। ठूलो, सानो केही भन्दैन। केराबारी सामुदायिक वनमा लागेको आगोले उनीहरूलाई छपक्कै छोपिहाल्यो।
यो गत चैत २८ को घटना हो, जसमा १७ वर्षीया पूजा गुरूङको बायाँ हात र घुँडामुनि पोलेको छ। २८ वर्षीया हरिमाया, १० वर्षीया रश्मी र ५ वर्षीया अस्मी गुरूङको दुवै खुट्टा र हातमा चोट लागेको छ।
उनीहरूलाई प्रहरीले उद्धार गरेर जिल्ला सामुदायिक अस्पताल पठाएको थियो। हरिमाया र रश्मीलाई थप उपचार निम्ति काठमाडौं रिफर गरिएको छ।
चैतको सुख्खा याम र हावाहुरीले यो बेला डढेलो सल्किने क्रम बढ्छ। त्यसमाथि कोरोना भाइरसको महामारी र देशव्यापी लकडाउनले आगलागीको जोखिम थपिएको वन अधिकृतहरू बताउँछन्।
लकडाउनले वनको झाडी सफा गर्ने काम रोकिएको छ। बेला-बेला झाडी सफा नगर्दा छिसिक्क केही भयो कि ठूलै डढेलोको रूप लिन सक्छ।
लकडाउन बेला आगो लाग्यो भने नियन्त्रणमा लिन पनि अप्ठ्यारो छ। सवारी साधन र बाहिरका मान्छेको प्रवेश रोक्न कतिपय ठाउँमा गाउँलेले रूख ढालेर बाटो बन्द गरेका छन्। ठूल्ठूला ढुंगा राखेका छन्। यसले आगोमा परेकालाई उद्धार गर्न ढिलाइ भइरहेको जिल्ला वन अधिकृतहरू बताउँछन्।
चैत अन्तिम साता लमजुङका २४ सामुदायिक वनमा डढेलो लागेको डिभिजनल वन अधिकृत मोहनराज काफ्लेले जानकारी दिए। तीमध्ये तीनवटा वनको आगो नियन्त्रणमा आएको छैन।
यसअघि माघ १८ गते लमजुङ, टक्सारको सामुदायिक वनमा लागेको आगोमा ३५ वर्षीया ज्योति परियारले ज्यान गुमाएको प्रहरीले जनाएको छ।
स्याङ्जामा पनि यसै साता तीनवटा सामुदायिक वनमा डढेलो लाग्यो। पानी परेकाले मात्र नियन्त्रणमा लिन सजिलो भएको डिभिजनल वन अधिकृत कोमलराज काफ्लेले बताए।
'लकडाउनमा आगो लगाउने मान्छे पत्ता लगाउन र नियन्त्रण गर्न गाह्रो भइरहेको छ,' उनले भने, ‘हामीले वन समूहलाई निगरानी गर्न भनेका छौं, लकडाउन खुलेपछि अनुसन्धान गरेर कारबाही गर्छौं।’
गोरखामा त डढेलो ‘महामारी’ जस्तै फैलिएको छ। त्यहाँका १५ वटा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन। तीमध्ये सातवटा वनको डढेलो मात्र नियन्त्रण भएको डिभिजनल वन अधिकृत तोयानाथ पौडेलले जानकारी दिए।
‘आगो लगाएपछि नयाँ घाँस पलाउँछ भन्ने भ्रम छ,' उनले भने, 'जंगलमा सुकेका पात–पतिङ्गर भएकाले डढेलो फैलिँदैछ। खेतबारीका पात–पतिङ्गर र घुरान पोल्दा त्यसै छाडेको आगो जंगलमा सल्कन्छ।'
गण्डकी प्रदेशका वन अधिकृत केदार शर्माका अनुसार, पछिल्लो समय लमजुङ, तनहुँ, पर्वत, स्याङ्जा, नवलपुर लगायत जिल्लामा आगलागीका घटना धेरै भइरहेका छन्। ‘हामीले दिनदिनै रिपोर्ट लिइरहेका छौं,' उनले भने, 'आगलागी नियन्त्रणमा लिन लकडाउनले अप्ठ्यारो पारेको छ।’
राजमार्ग आसपास क्षेत्रमा गाडीका यात्रुले चुरोट खाएर फालेको ठूटाबाट धेरै आगलागी हुने गरेका छन्। वनमा न्युरो, सिप्लीगानजस्ता तरकारी बुट्यान खोज्न जाने, माछा मार्न जाने मानिसबाट पनि आगलागी हुन्छन्।
दुई-तीन वर्षयता वनमा आगो लगाउने ‘नयाँ कन्सेप्ट’ देखिएको जिल्ला वन अधिकृतहरू बताउँछन्। पहिले–पहिले नयाँ घाँस पलाउने र बर्खा बेला खेतबारीमा मल आउने भन्दै आगो लगाइन्थ्यो। अहिले बाँदर, चितुवा लगायत जनावर भगाउन आगो लगाइन्छ।
यसरी जनावरबाट बच्न आगो लगाउँदा झनै बेफाइदा हुने तनहुँका वन अधिकृत केदार बरालको भनाइ छ।
उनले आफ्नै जिल्लाको उदाहरण दिए। तनहुँमा मानिस र घरपालुवा जनावरमाथि चितुवाको आक्रमण गण्डकी प्रदेशमै उच्च छ। दुई वर्षयता नौ जना बालबालिकाले चितुवा आक्रमणमा परेर ज्यान गुमाएका छन्।
‘आगलागीले चितुवाको बासस्थान जल्छ, खानेपानीका स्रोत गुम्छन्,' बरालले भने, 'यसले चितुवा लगायत जंगली जनावर झन् बस्तीमा पस्छन्।’
गोरखाका वन प्रमुख पौडेल पनि चितुवा, बाँदरजस्ता जनावर आगलागीबाट नरोकिने बताउँछन्।
‘बाँदर बाठो प्राणी हो, धुँवा उडेको देखेपछि सुरक्षित भएर बस्छ,' उनले भने, 'मानिसको बस्ती नजिक बस्न रुचाउने भएकाले आगलागीले बाँदरलाई झनै बस्तीमा ल्याइदिन्छ।' त्यस्तै चितुवा ठूलो क्षेत्रमा बस्ने हुँदा डढेलोले सखाप पार्न नसक्ने उनले बताए।