महिनावारी भएका बेला प्याडको अभाव भएका महिलालाई बोलन्या थली नामक संस्थाले नि:शुल्क स्यानिटरी प्याड बाँडेको छ। लकडाउनका कारण बजार बन्द भएपछि प्याड नभएर अप्ठ्यारोमा परेका महिलालाई घर-घरै प्याड पुर्याइदिने व्यवस्था गरेको थलीका संयोजक यादव जोशीले बताए।
उनका अनुसार अहिलेसम्म उक्त संस्थाले चार दर्जन बढी महिलालाई प्याड वितरण गरेको छ।
'महामारीको रूपमा आएको कोरोना भाइरसको प्रभावपछि आश्रय अड्डा र दैलोमै औषधि अभियान सुरू गरिसकेका थियौं, पछि महिलाहरू समस्यामा परेको थाहा पाएपछि प्याड पनि वितरण गर्दै आएका छौं,’ थलीका संयोजक जोशीले भने।
धनगढी उपमहानगरपालिका-८ मा रहेको दृष्टि फाउण्डेसनमा बस्ने महिलाहरूलाई महिनावारीका बेला प्याड अभाव भएपछि थलीले नै ल्याइदिएको सञ्चालिका कल्पना भट्टले बताइन्।
'केहीदिन अघिमात्रै पनि चार जना महिनावारी भएका थिए,' भट्टले भनिन् 'हरेक महिना ४५ प्याकेट स्यानिटरी प्याड चाहिन्छ। तीन महिनाअघि ल्याएका सबै प्याड सकिए। अहिले लकडाउनका बेला सेफ्टी प्याड बजारबाट ल्याउन समस्या छ। यस्तो बेला थलीले हामीलाई घरमै प्याड ल्याइदियो सजिलो भयो।'
कैलाली भजनी घर भएकी नन्दा शर्मा कामका लागि धनगढीमा डेरा गरेर बस्छिन्। यसपालि महिनावारी हुँदा उनीसँग प्याड थिएन। उनले फेसबुकमा सूचना देखिन् र तुरून्तै थलीलाई सम्पर्क गरिन्।
'फेसबुकमा प्याड चाहिनेले म्यासेज गर्नुहोला लेखेको देखेकी थिएँ। बजार किन्न जान मिलेन। म्यासेज गरे। बोलन्या थलीको भाइ आएर म र यहाँ बस्ने अरू केही महिलाहरूलाई प्याड दिएर जानुभयो,' उनले भनिन्।
प्याड लिने चाहनेले फोन र फेसबुकबाट माग गर्न मिल्ने व्यवस्था गरेको छ। मेसेज र फोन गरेर पनि कतिपयले प्याड घरमा पुर्याइदिन अनुरोध गर्छन्।
बर्दियाकी एलिसा न्यौपानेले पनि बोलन्या थलीबाट प्याड लिएकी छन्।
'बजार बन्द छ। बोलन्या थलीको दाइ छेउको घरमा पुर्याउन आउनुभाथ्यो। प्याड नभए सम्स्या होला भनेर मागेर राखें,' उनले भनिन्।
नि:शुल्क प्याड वितरण गरिरहेका जोशीले सुनाए 'एकदिन घरमा मेरी श्रीमती (दीपा जोशी)ले यो समयमा बाहिर आउन नमिल्ने भएकाले दिदीबहिनीहरू समस्यामा हुनुहुन्छ भन्ने कुरा गरिन्' उनले भने,'दीपाले सबैसँग स्टक हुँदैन बजारमा किन्न समस्या छ भनेपछि बोलन्या थलीको अरू अभियानसँगै दैलैमा स्यानिटरी प्याड पुर्याउन सुरू गरेका हौं।'
'महिलाहरूको स्वास्थ सुरक्षा– पुरूषहरू दायित्व,' भन्ने नारा दिएर थलीले घरदैलोमै प्याड पुर्याइदिएको छ।
जोशी आफैं कोरोना संक्रमणबाट बच्ने उपाय अपनाएरै मोटरसाइकलमा प्याड लिएर घर-घरै जान्छन्।
प्याड आवश्यक पर्नेहरूले उनलाई फोन र म्यासेज गर्छन्। कतिले त उनकी श्रीमतीलाई समेत फोन गर्छन्।
बोलन्या थलीका देशभर ४ हजार बढी सदस्य छन्। उनीहरूको समन्वयबाट पनि सेवा लिन सकिने जोशीले जानकारी दिए।
'आपतको घडीमा नन–क्यालिब्रेटेट साधनको प्रयोग गर्दा महिलाहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने हेतुले यो योजना ल्याएका हौं,' जोशीले थपे,'हाम्रा सदस्यले पनि सहयोग गर्नुहुन्छ।'
यही वर्ष दर्ता भएको संस्थाले नि:शुल्क प्याड अभियान सुरू गरेपछि अहिले देशभरबाट ४ हजार बढी पिस प्याड सहयोग प्राप्त भएको संयोजक जोशीले बताए।
यो संस्थाले प्याडमात्रै होइन लकडाउनका बेला कसैलाई औषधि आवश्यक परेको छ भने त्यो पनि घर-घर पुर्याइदिन्छ।
समस्यामा परेकालाई खाना र आश्रयको व्यवस्था पनि गरिरहेको जोशीले बताए।
पश्चिम सेती जलविद्युत आयोजना छिटो बनाउन दबाब दिन कचौरामा भिख अभियान चलाएर यो संस्था चर्चामा आएको थियो।