स्याङ्जाकी अप्सरा पौडेल अहिले पोखरा १७ घारीकुलोमा कोठा भाडामा लिएर बस्छिन्। उनको परिवारमा ३ जना छन्। पौडेलले सोमबार पोखरा महानगरले बाँडेको राहत पाइन्। उनले पाएको १ सेट राहत अर्को ३ जनाको परिवारसँग बाँडिन्।
महानगरले ४ जनाभन्दा थोरै परिवारलाई साढे १२ किलो चामल र ४ जनाभन्दा बढी परिवार रहेकालाई २५ किलो बराबरको एक बोरा चामल बाँडेको छ।
चामलबाहेक दुबै थरीलाई २ किलो दाल, १ किलो चना, १ पोका नुन र १ पोका तेल बाँडेको छ।
पौडेलले पाएको १ बोरा चामलसहितको एक सेट राहत दुई परिवारले बाँड्दा सबै आधा–आधा गर्नुपर्यो। चामल, दाल, चना मात्र नभई नुन र तेल पनि आधा–आधा गर्नुपर्यो।
कतिपय परिवारले त झन् एक सेट राहत चार जनासम्म मिलेर बाँडेको स्थानीयले बताएका छन्।
यसरी बाँड्दा दुई छाक पनि नपुग्ने गरी वितरण भएको स्थानीयवासीको भनाइ छ।
घारीकुलो टोल विकास संस्थाका अध्यक्ष विजय आचार्यले महानगरबाट आएको राहत आफैं बाँड्नु भनेर जिम्मा दिएकाले यस्तो अवस्था आएको बताए।
घारीकुलो टोलमा अहिले २ सय घर परिवार बस्छन्।
टोल विकास संस्थाले राहतका लागि टोलका १३५ जना बस्ने ४१ घरधुरी सिफारिस गरेको थियो।
संस्थाका अध्यक्ष आचार्यका अनुसार, राहतका लागि नाम लेखाउने जति सबैको नाम वडा कार्यालयमा सिफारिस गरेको थियो।
तर वडाबाट १५ जनाका लागि १५ सेट मात्र राहत आयो। त्यही राहत बाँड्नु भनेर राहतका लागि नाम लेखाउने केही व्यक्तिलाई बोलाएर आचार्यले बुझाए।
उनीहरूले नाम सिफारिस भएको ४१ परिवारलाई लिन चाहने जतिलाई बाँड्दा १ छाक समेत नपुग्ने गरी राहत वितरण भएको गुनासो गरेका छन्।
टोल विकास संस्थाका अध्यक्ष आचार्यले भीडभाड नहोस् भनेर यसो गरेको बताए।
‘सबैलाई टोलमा बोलाएर राहत बाँड्दा भीडभाड हुन्छ,’ उनले सेतोपाटीलाई भने, ‘कोरोना आएको बेला भीड नहोस् भनेर बाँडेर लिनुस् भनेर सबै राहत बुझाइदिएँ।’
यसरी वितरण गर्दा एक जनाले १ छाकमात्र हुने गरी तेल पाएका छन् भने कसैले नुन लिएका छैनन्।
उनले घर भाडामा बस्ने, सुकुम्बासी टोलका घर भएका सुकुम्बासी समेत राहतका लागि नाम लेखाएर लगेको बताए।
टोल विकास संस्थाका अध्यक्ष आचार्यले राहत लिएका सबैको मुचुल्का बनाएर वडा कार्यालयमा बुझाइसकेको समेत बताए। यता, पोखरा १४ का वडाध्यक्ष तीर्थराज अधिकारीले टोल विकास संस्थाबाट ‘हुन नहुने’ काम भएको बताए।
महानगरपालिकाले बनाएको राहत मापदण्डमा पेशा–व्यवसाय गरेका, घर भएका, सामाजिक सुरक्षा भत्ता बुझ्ने लगायतलाई राहत नदिने उल्लेख छ।
महानगरभित्रका अति विपन्न र मजदूरी गरेर दैनिक छाक टार्नेलाई मात्र राहत दिने नीति लिएको महानगरका मेयर मानबहादुर जिसी बताउँछन्।
वडा नं. १७ का वडाध्यक्ष अधिकारीले भने घारीकुलो टोलमा राहत दिनै नपर्नेले पनि राहत लिएकाले ‘लुछाचुँडी’ भएको बताए।
उनका अनुसार वडा नं. १७ मामात्र २६ सय जनाले राहत माग गरेका थिए। तर छानबिन गर्दा ९ सय जनालाई मात्र राहत आएको अधिकारीले बताए।
‘टोलमा राहत माग गर्नेहरू आफैं बसेर बाँड्नुभएछ, राष्ट्रकै बेइज्जत गर्नुभयो, वडाध्यक्ष अधिकारीले सेतोपाटीलाई भने, हुनेखानेले पनि राहत लिएछन्।’
उनका अनुसार एक पोका तेल पनि ४ जनाले राहतका नाममा बाँडेर लिएका थिए।
वडाध्यक्ष अधिकारीले आफ्नो वडामा मात्र ६० वटा टोल विकास संस्था भएकाले सबै ठाउँमा जनप्रतिनिधि पुग्न नसकेको बताए।
‘हामी सबै ठाउँमा पुग्न नसकेकाले टोल विकास संस्थामार्फत् राहत वितरण गरेका थियौं,’ उनले भने, सबै ठाउँमा ठीक भयो, घारीकुलोमा बेठीक भएछ।’
उनले वडामा सबै टोलबाट नाम आइसकेपछि सर्वदलीय बैठक बसेर नै राहत वितरण गर्ने निर्णय गरेको सुनाए।
महानगरका मेयर मानबहादुर जिसीले भने उक्त टोलमा हुन/नहुने काम भएको बताए।
‘टोल विकास हुने खानेले पनि राहत लगेछन्, टोल विकास संस्थालाई भर गर्दा नहुनेलाई बाँडेको राहत पनि लुछाचुँडी गरेछन्,’उनले भने।
नेपालकै ठूलो महानगरका रूपमा रहेको पोखरा महानगरका ३३ वटा वडामा गरेर हालसम्म १८ हजार ६ सय जनालाई राहत बाँडेको महानगरले जनाएको छ।