उनी घरायसी कामका लागि चितवन गएका थिए। गत चैत ११ देखि देशभर लक डाउन भयो। केही दिनपछि खुलिहाल्ला नि भनेर उनी उतै बसे।
सरकारले एक साताका गरेको लकडाउन दुई साता पुर्यायो। त्यो नसकिँदै फेरि थपेर वैशाख ३ सम्म पुर्यायो। फेरि थपेर अहिले वैशाख १५ सम्म पुर्याएको छ।
धादिङको ज्वालामुखी गाउँपालिका-५ का होमबहादुर रानालाई घरको यादले सताउन थाल्यो।
अन्तिम पटक सरकारले लक डाउन थपेको अर्को दिन उनी बुधबार चितवनबाट धादिङ घर जान हिँडे।
कतै पैदल हिँडे, कतै एम्बुलेन्स चढे। बेलुकीमात्रै उनी आफ्नो गाउँ छिर्ने नाका गोरखाको बुंकोटघाट पुगे। उनी उज्यालोमा गाउँ पस्न सक्दैनथें किनकी बूढीगण्डकीमाथि पुलमा जस्तापाताले बारेर तारबार लगाइएको छ।
चितवनबाट हिँडेदेखि नै ३८ वर्षीय रानाले घरपरिवारलाई पटकपटक टेलिफोन गरी सम्पर्क गरिरहेका थिए। आफू हिँडेरै घर आइरहेको उनले परिवारलाई सुनाएका थिए।
राति डर लाग्ने भएकोले उनले बुंकोटघाटस्थित पुलसम्म आफूलाई लिन आउन परिवारलाई आग्रह गरेका थिए। सोहीअनुसार उनलाई लिन भतिजाहरू गएका थिए।
पुलमा आएर बस्नू है भनेका उनको मोबाइल बेलुकी साढे ९ बजेपछि उठ्न छोड्यो। मोबाइलमा फोन गइरहेको थियो उताबाट केही जवाफ आएन।
साढे २ घन्टासम्म उनीहरूले फोन डायल गरिरहे। तर जवाफ आएन। मध्यरातमा उनीहरू निराश हुँदै घर फर्किए।
उज्यालो भएपछि आज बिहान परिवार र गाउँलेहरू उनलाई खोज्न बुंकोटघाटस्थित पुल पुगे। पुलमुनि बगरमा लडिराखेको उनलाई देखेर हतारहतार उठाउन पुगे तर त्यतिन्जेल रानाले प्राण त्यागिसकेका थिए।
बूढीगण्डकीमाथिको पुलमा स्थानीय बासिन्दाले लगाएको छेकबार नाघ्न खोज्दा बगरमा खसेको अनुमान गरिएको छ।
वडाध्यक्ष कृष्णप्रसाद काप्रीले सेतोपाटीसँग कुराकानी गर्दै पुलबाट खसेका रानाको टाउको ढुंगामा ठोकिएको अवस्थामा आफन्तले फेला पारेको बताए।
‘अँध्यारोमा पुल पार गर्न खोज्दा लडेको अनुमान गरिएको छ। टाउकोमा चोट छ,’ उनले सेतोपाटीसँग भने, ‘पोर्टमार्टमका लागि शव धादिङवेशी लगिएको छ।’
लकडाउनपछि गाउँमा नयाँ मान्छेको आवतजावत नहोस् भनेर ज्वालामुखीका स्थानीय बासिन्दाले पुलमा छेकबार लगाएका छन्। पुलको गोरखातर्फ पनि काँडेतार लगाइएको छ।