जाजरकोट जुनीचाँदे गाउँपालिका–१० का चन्द्रबहादुर रोकाया र उनका भाइ सुर्खेतको वीरेन्द्रनगरमा बसेर पढ्छन्। बुवाआमा भारतमा छन्।कमाउन गएका उनका बुवाआमा ‘लकडाउन’ का कारण न कमाउन सकेका छन्, न त स्वदेश आउन पाएका छन्।
यता चन्द्रका दुई भाइलाई भने छाक टार्न हम्मेहम्मे छ। लकडाउन घोषणा भएको एक हप्तापछि कोठामा भएको चामल सकियो। त्यसयता अहिले पनि उनीहरु घरबेटीकै सहयोगमा गुजारा चलाइरहेका छन्।
वैशाख २ गते उनी बस्ने वडा कार्यालयले दुई भाइका लागि राहतस्वरुप दुई किलो चामल र एक किलो दाल दियो। चन्द्रलाई भने राहत महसुस नै भएन। ‘राहत लिन गयौं, दुई किलो मात्र दियो,’ चन्द्रले भने, ‘दुई भाइ छौं, हिजो ल्याएको चामल भोलिसम्म सकिन्छ। त्यपसपछि फेरि घरबेटीसँग सापटी माग्नुपर्छ।’
वीरेन्द्रनगर–१२ मा डेरा गरी बसिरहेका छेडागाड नगरपालिका–६ जाजरकोटका राजेन्द्र शर्माले बुधबार वडा कार्यालयबाट राहतस्वरुप चार किलो चामल पाएका थिए। नगरपालिकाको परिपत्र अनुसार टोल विकास समितिको सिफारिसमा राहत बाँडिरहेका वीरेन्द्रनगरभित्रका वडाहरुले पहिलो चरणमा स्थायी वासिन्दालाई राहत दिइसकेपछि दोस्रो चरणमा विद्यार्थीलाई राहत दिने गरेका छन्।
बाहिरबाट आएर भाडा तिरेर बसिरहेका विद्यार्थीले परिचयपत्र भएपछि वडाबाट राहत पाउँछन्। वडाले दिने राहत आफूहरुका लागि भरपर्दो भने नभएको गुनासो विद्यार्थीको छ।
‘वडाबाट २–४ किलो चामल दिन्छ, केही दाल दिन्छ। बाँकी नुन, तेल कहाँबाट किन्ने?’ उनले भने, ‘घरबाट पैसा पठाउने कुनै विकल्प छैन, पठाएपनि यहाँ निकाल्ने अवस्था छैन। वडाले दिएको दुई/चार किलो चामलले लकडाउन अवधिभर धान्ने त कुरै भएन।’
एकपटकमा थोरै दिएपनि समयसमयमा पाउने व्यवस्था भए सहज हुने शर्माले बताए। ‘अहिले पाएको दुई÷चार किलोले लकडाउन हुँदासम्म धान्दैन, लकडाउन थपिइरहेको छ। फेरि पनि राहत पाउने/नपाउने केही थाहा छैन’ उनले भने।
यी विद्यार्थीलाई मात्र होइन राज्यद्वारा दिइएको राहतले समस्या समाधान नभएपछि कतिपयले सहयोगको अपिल गरेर आफ्नो खाने खर्च व्यवस्थापन गरिरहेका छन्।
वीरेन्द्रनगर–२ बस्ने भक्तबहादुर पौडेलले केही दिनअघि एकजना युवा समाजसेवीलाई मोवाइलबाट म्यासेज पठाए। ‘हाम्रोमा खाने कुरा सकियो दाइ, कमाउने बाटो छैन’ भन्ने सन्देश आफ्नो ठेगानासहित उनले पठाए। म्यासेज पाएका ति समाजसेवीले त्यसको दुई दिनपछि उनको घरमा पुगेर चामल, दाल, तुन, तेल लगायतको खाद्य सामग्री दिए।
भारतमा रोजगारीका क्रममा दुर्घटना हुँदा मेरुदण्ड भाँच्चिएका पौडेल अहिले ह्वीलचियरमा बसेर साँघुरो आँगनमा दिन विताइरहेका छन्। दुई छोराछोरी र आफूलाई पाल्न पौडेलकी श्रीमती दैनिक मजदुरी गर्छिन्। लकडाउनका कारण त्यही पनि रोकिएको छ।
‘हामीसँग काम गरेको पैसा नआए खानेकुरा केही हुँदैन, वडाले दिएको थोरै राहत दुई/तीन दिनमै सकियो’ पौडेलले भने, ‘राज्यले दिएको राहतले नपुगेपछि अरुसँग सहयोग मागेर खर्च चलाउनुपरेको छ।’
राहत स्वरुप वडाबाट दिइने खाद्यान्नले मात्र आफ्नो समस्या समाधान नभएको वीरेन्द्रनगर–४ बस्ने नन्दकला विकले बताइन्। उनी वीरेन्द्रनगरमा भाडामा बस्दै आएकी छिन्। दैनिक ज्याला मजदुरी गरेर खर्च व्यवस्थापन गरिरहेकी नन्दकलालाई पनि लकडाउनका कारण छाक टार्नै समस्या हुने गरेको छ।
‘मैले त अहिलेसम्म वडाबाट पाएकी पनि छैन, वरपरका केहीले थोरै पाएका छन्,’ उनले भनिन्, ‘त्यसले त बढीमा ३/४ दिन धान्छ, थोरै दिएपनि बन्द हुँदासम्म पटकपटक दिए हुन्थ्यो।’