पोखराको लेकसाइडस्थित पुष्कर गेष्ट हाउसमा अहिले पाँच देशका पर्यटक छन्। छुट्टाछुट्टै मुलुकका पाँच जना पर्यटक एउटै परिवारझैँ मिलेर बसेका छन्। फ्रान्स, यूके, इटाली, ओमन र भारतका एक–एक जना प्राय: सँगै हुन्छन्।
आफ्नै योजनामा नेपाल आएका उनीहरु लकडाउनमा परेपछि एउटै परिवारझैं मिलेर बसेका छन्। खाने, पिउने सँगसँगै गरिरहेका छन् भने दिन कटाउनलाई पनि एक अर्काबीच गफ गरिरहन्छन्।
यसैमध्येका एक फ्रान्सेली युवक मिगुअललाई चित्रकला र फोटोग्राफीमा रुची छ। ‘लकडाउन’मा परेपछि उनको फोटोग्राफी रोकिएको छ। होटलको कोठामै क्यामेरा थन्किएका छन्। बेलाबखत उनले चित्र कोर्छन्, अन्य देशका पर्यटकसँग गफ गरेर दिन कटाउँछन्।
मिगुअलले फ्रान्स छाडेको दुई वर्ष भइसक्यो। क्यामेरा भिरेर घर छाडेका उनलाई कहिले फर्कने हो थाहा छैन।
यसबीचमा थाइल्याण्ड, कम्बोडिया, लाओस, भियतनाम, मलेसिया, सिङ्गापुर, इन्डोनेसिया घुमिसके। इन्डोनेसियाबाटै उनी नेपाल घुम्नका लागि आएका थिए।
गत अक्टोबरमै नेपाल आएका मिगुअलले काठमाडौंमा एक महिना विताए। अंग्रेजी नयाँ वर्ष २०२० काठमाडौंमै मनाएका उनले यसबीचमा सगरमाथा आधार शिविर पदयात्रा गरे। पदयात्राबाट काठमाडौं फर्किएपछि उनको भेट ओमनबाट आएकी युवती नताहसँग भयो। त्यसपछि दुई जना मिलेर पोखरा घुम्न आए।
पोखरा आएपछि आसपासका डाँडातिर लागे। पञ्जासे पदयात्रा गरे। उनीहरु अन्नपूर्ण फेरो पदयात्रा गर्न निस्किँदै थिए। सरकारले पदयात्रा बन्दको घोषणा गरिदियो। लकडाउन भएपछि उनीहरु होटलमै थन्किएका छन्। उनीहरुले लकडाउन खुलेपछि अन्नपूर्ण फेरो पदयात्रा गरेरै छाड्ने दृढता जनाएका छन्।
‘हामीले अन्नपूर्ण फेरो पदयात्राका बारेमा धेरै आश्चर्य सुनेका छौं’ नताहले भनिन्, ‘लकडाउन खुल्नासाथ राउण्ड अन्नपूर्ण पदयात्रामा जान्छौं।’ परिस्थिति परिवर्तन नभएसम्म नेपालमै बस्ने उनीहरुले बताए।
घरमा परिवारसँग निरन्तर सम्पर्क भइरहेको र सबै सुरक्षित नै रहेको उनीहरुको भनाइ छ। ‘घरबाट आमाले सम्झनुहुन्छ, सम्पर्क भइराखेको छ’ मिगुअलले सेतोपाटीलाई भने, ‘परिवारका सबै जना सुरक्षित नै हुनुहुन्छ।’
नेपाल घुमिसकेपछि उनीहरुले भारत जाने योजनामा रहेको सुनाए। लकडाउनमा नेपाल बस्दा घरकै परिवारसँग बसेको जस्तो अनुभुति भएको नताहले बताइन्। ‘यहाँ हामी सुरक्षित छौं, उनले भनिन्, ‘सबै जना मिलेर बसेका छौं।’ उनको भिसाको म्याद मे २८ तारिखसम्म छ।
स्कटल्याण्डका किरन यसपटक समेत गरेर ५ पटक नेपाल घुम्न आए। पहिलो पटक आमासँग सन् १९९८ मा उनी नेपाल आएका थिए। ‘त्यतिबेला पोखरा आउँदा अहिले जस्तो रोड र बजार बसेको थिएन’, उनले भने, ‘आउँदै पिच्छे केही न केही चेन्ज भइराखेको छ।’
मार्च १ तारिखमा नेपाल आएका किरनले दुई साता काठमाडौंमा विताए। त्यसपछि पोखरा आएको पनि एक महिना भन्दा बढी समय भइसक्यो। कोरोना भाइरसले विश्व त्रसित भइरहेको बेला नेपालमा अत्यन्त सुरक्षित महसुस भइरहेको उनी बताउँछन्।
डेढ महिनाका लागि नेपाल आएका किरनको भिसा म्याद मे २८ तारिखसम्म म्याद छ। पोखरा बस्दा खासगरी उनी फेवातालमा पौडी खेल्छन्। दिनमा कम्तिमा एक पटक पौडी खेल्ने र पोखरा आसपास घुमेर विताएका थिए।
लकडाउन भएपछि फेवातालमा पौडी खेल्न र घुमफिर गर्न उनले पाएका छैनन्।
पछिल्लो समय स्कटल्याण्ड छुट्टै स्वतन्त्र राज्य हुने कि बेलायतसँगै रहने भनेर गरिएको जनमत संग्रहमा बेलायतसँगै रहने पक्षमा बहुमत जुटेको थियो। काठमाडौंस्थित बेलायती दूतावासले आफ्ना नागरिकलाई उद्दार गरेर लैजाँदा समेत नेपाल नै सुरक्षित ठानेर आफू यहीं बसेको उनले सुनाए। बेलायत जानेलाई हवाई भाडा तेब्बर पारेको समेत उनको आरोप छ।
‘म ५ सय पाउण्डमा आउने–जाने गरी टिकट काटेर आएको हुँ,’ किरनले भने, ‘चार्टर फ्लाइटमा जान एकतर्फी मात्रै ८ सय पाउण्ड लियो।’ उनले दिल्लीबाट बेलायत उद्दार गर्दा समेत ४५० पाउण्डमा लगेको भन्दै नेपालबाट उद्दार गर्दा युके सरकारले धेरै पैसा असुलेको गुनासो गरे।
गेष्टहाउमा भेटिएका अर्का व्यक्ति थिए, ड्यामियानो। उनले आफ्नाे घर र देश इटाली छाडेको पनि ७ वर्ष वितिसक्यो। कोरोना भाइरसका कारण लथालिङ्ग भइसकेको भन्दै उनले अब त इटाली जानै मन नलागेको बताए।
फेब्रुअरी २६ मा नेपाल आएका ड्यामियानो यो ७ वर्षमा विभिन्न देशमा घुमे। उनका बुबा इटालीमै छन् भने आमा अमेरिका छिन्। अब लकडाउन खुलेपछि केही समय यतै घुम्ने र आगामी जुनमा अमेरिका जाने उनले बताए।
इटालीमा अहिले अवस्था राम्रो नभएको उनी बताउँछन्। ‘इटालीमा १५ वर्षअघिसम्म राम्रो थियो, अहिले त अर्थतन्त्र नै डुब्यो,’ उनले भने, ‘युरोपियन युनियनको कारण इटालीको अर्थतन्त्र खराब भएको हो।’
गेष्टहाउसमा भारतीय नागरिक डा. आकाश यादव पनि उनीहरुसँगै छन्। भारतको गोरखपुरबाट हैदराबाद बसाइ सरेर गएका यादब एमबिबिएस सकिएपछि एपोलो अस्पतालमा काम गर्थे। कोरोना भाइरसको महामारी फैलनुअघि नै उनले अस्पताल छाडे।
‘मास्टर अफ सर्जरी’ अध्ययनका लागि उनी नेपालमा रहेका मेडिकल कलेज बुझ्न आएका थिए। उनले काठमाडौंको आइओएम अस्पताल र पोखराको मनिपाल अस्पतालमध्ये एउटा कलेजमा पढ्ने तयारी गरेका छन्।
काठमाडौंको आइओएम अस्पतालमा बुझेर पोखरा आएपछि लकडाउन भयो उनी मनिपाल अस्पताल पुग्न पाएनन्। मनिपाल भारतीय कम्पनीले चलाएको मेडिकल कलेज एवं अस्पताल हो।
नेपालमा पढ्नका लागि आफूले राम्रो कलेज खोजेको उनले बताए। ‘मेडिकल काउन्सिल अफ इन्डिया’ले चीनमा पढेको सर्टिफिकेटलाई मान्यता दिँदैन। तर नेपालमा पढेको सर्टिफिकेटलाई मान्यता दिने यादबले बताए।
धेरै देशका नागरिकसँग एकै ठाउँमा बस्न पाउँदा खुसी मिलेको उनले बताए। ‘अलिअलि बोरिङ त लाग्छ’ उनले भने, ‘जिन्दगीमा यस्तो रमाइलो पनि कहिल्यै थिएन।’
पर्यटकका लागि भारत भन्दा नेपाल सुरक्षित भएको यादबले बताए।
भारतमा १६ जना इटालियन पर्यटकलाई कोरोना भाइरस ल्याएको भन्दै दुव्र्यवहार गरिएको उनले बताए। ‘भारतमा इटालीका पर्यटकलाई लखेटेछन्, स्थानीयले घृणा गरेछन्,’ उनले भने, ‘यहाँ त सुरक्षित बनाएर राख्ने रहेछन्।’
लकडाउनमा बस्ने, पढ्ने, गफ गर्ने गरेरै दिन बिताएको उनको भनाइ छ।
गेष्ट हाउसका संचालक अमृत पौडेलले पोखरामा अलपत्र परेका पर्यटकलाई अप्रिल १ देखि ७ सम्म निशुल्क बस्न– खान दिएको बताए। उक्त अवधिमा होटलमा बसिरहेका पर्यटकले समेत निशुल्क बस्ने खाने सुविधा पाए। निशुल्क राख्दा थप ८ जना पर्यटक होटलमा आएका थिए। त्यसपछि केही पर्यटक स्वदेश फर्किएको र केही पर्यटक भने अपार्टमेन्ट लिएर बस्न गएको पौडेलले बताए।