दसैंताका माथिमाथि आकाशमा लहर बनाएर उँधो लागेका मालचरीका बगाल चैत-वैशाख लागेसँगै घर फर्किन्छन्। कर्याङकुरूङ पनि भनिने मालचरीका बगालको उँभोउधो यात्रा वर्षेनी चलिरहन्छ।
यसपालि भने जमिनमा पनि मालचरीका बगालझैं मान्छेहरू सयौं किलोमिटर टाढाको गन्तव्य पछ्याइरहेका छन्।
कैलालीको जानकी गाउँपालिकाका नेत्रराम चौधरी ६१ जना साथीभाइ लिएर लकडाउनका बेला गोरखाबाट घर हिँडेका छन्। बिहीबार गोरखाबाट पैदलै निस्केका उनीहरू शुक्रबार दिउँसो चितवन पुगेका छन्। उनीहरूले करिब पाँच सय किलोमिटर यात्रा पूरा गरेपछि घर पुग्नेछन्।
चौधरीले भूकम्पपछि गोरखाको सिरानचोक गाउँपालिका कार्य क्षेत्र बनाएर जानकी गाउँपालिकाका विभिन्न वडाका साथीभाइलाई काममा ल्याएका थिए। मजदुरीका लागि भारतमा निर्भर उनीहरूले भूकम्पपछि गोरखामै राम्रो ज्याला पाइने भएपछि कामका लागि आएका थिए।
घर, स्वास्थ्य चौकी, विद्यालयमा निर्माणको काम गर्दै आएका उनीहरू हिउँदभर काम गर्ने र बर्खाका तीन महिना (जेठ, असार र साउन) घर फर्कंदै आएका थिए। उनीहरू खेतबारीमा खेतीपाती पनि गर्छन्।
कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएपछि सरकारले लकडाउन समयावधि थप्दै लगेको छ। वैशाख ३ मा लकडाउन खुल्ला र गाडी चढेर घर जाऔंला भनेर बसेकाहरू लकडाउन वैशाख १५ सम्म जारी रहने भएपछि बिहीबार हिँडेरै गन्तव्यमा जाँदै छन्।
चार वटा समूह बनाएर उनीहरू अहिले मुग्लिन-नारायणगढ-नवलपरासी-कावासोती सडक हुँदै अगाडि बढिरहेका छन्।
‘हामी रातैभर हिँडियो,’ चितवन आँपटारी पुगेका चौधरीले सेतोपाटीसँग भने, ‘दिनभर पनि हिँडियो। खुट्टा फतक्कै गले। अहिले रूखको छहारीमा बस्दैछौं। छोटो बाटो देखेको छैन, सडकै सडक हिँड्दा धेरै थाकियो।’
उनले अब करिब ११ दिनमा आफूहरू घर पुग्ने पनि बताए।
‘१०/११ दिन लाग्छ होला अब घर पुग्न,’ उनले भने, ‘साथीहरू धेरै गलिसकेका छन्, हिँड्दा हिँड्दा। अब कति हिड्न सकिन्छ।’
उनले आफूहरूको साथमा धेरै पैसा पनि नभएको र खानेकुरा पनि नभएको बताए।
उनीहरूलाई खाने कुरा र बाटो खर्च ठेकेदारले दिएका छन्। गोरखाको छेपेटार बस्ने ठेकेदार सुन्दर गुरूङले एक हजार पाँच सयका दरले सबैलाई बाटो खर्च र चिउरा, चाउचाउ, बिस्कुटलगायत खाद्य सामग्री दिएको चौधरीले जानकारी दिए।
‘ठेकेदारले अहिले धेरै पैसा छैन। बैंक पनि बन्द छ भनेर १५ सयका दरले बाटो खर्च दिनुभयो। चिउरा, चाउचाउ बोक्न सक्ने जति लिएर जान भन्नुभएको थियो। धेरै बोक्न सकिएन। एक जनाले दुई/तीन किलो बोकेका छौं,’ उनले भने।
उनका अनुसार बाटोमा प्रहरीले रोक्दै कहाँ जाने? किन यति धेरै मानिस एकैपटक हिँडेको भन्ने प्रश्न गर्छन्। प्रहरीले धेरै केरकार गर्न थालेपछि ६१ जनालाई चार वटा समूह बनाएर हिँड्ने गरेको उनले जानकारी दिए।
‘हामीलाई सिरानचोक गाउँपालिका अध्यक्ष, गोरखा नगरपालिकाका मेयरले पनि बस्नुहोस् कुनै समस्या हुन दिनौं। खान बस्न र स्वास्थ्य उपचारको सबै सुविधा हुन्छ भन्नुभएको थियो। राति अबेर पनि गोरखाका मेयर बाटोमा आएर यहीँ बस्नु भन्नुभएको थियो,’ उनले भने, ‘तर हामी त गाउँ जानुपर्नेछ। खेतीपाती गर्ने बेला भयो। परिवार पनि आत्तिसकेका छन्।’
परिवारका सदस्यले छिमेकीहरू १५/२० दिन हिँडेर घर आइपुगेको भन्दै हिँड्दै आउन पटकपटक आग्रह गरिरहेको उनले बताए।
‘छिमेकीहरू सबै घर हिँडेरै पुगेका रहेछन्। अरू घर सम्झेर आइसके, तपाईंहरू पनि आउनुपर्छ भन्छन्। खेतीबाली लगाउने बेला पनि भयो,’ चौधरीले भने।
उनले आफूहरूलाई ठेकेदारले काम गर्ने स्थलमा खान/बस्नका लागि राम्रो व्यवस्था गरिरहे पनि आफूहरू घर नै जान निस्केको पनि बताए।
‘हामी त कमाउन आएको हो। काम बन्द भएपछि कमाइ हुन्न। अनिश्चित बन्द गरिरहेको छ सरकारले। लकडाउन पनि खोल्ने निश्चित भएन। कामविना कति दिन बस्ने?,’ चौधरीले भने।
उनीहरू चार घन्टा हिँडेर ठेकेदारको घर छेपेटारमा आएर बाटो खर्च र खाद्यान्न सामग्री लिएर यात्रा अगाडि बढाएका हुन्।
‘हामी सुत्ने, बस्ने स्थान छैन। सकेको हिँड्ने बाटो छोट्याउने हो,’ चौधरीले भने, ‘बाटोमा प्रहरीले रोक्न खोज्छ। समस्या सुनाएपछि छोड्छ। जनताले जनतालाई अप्ठेरोमा सघाउनुपर्छ नि।’
खेतीपातीको सिजन सुरू भएकोले परिवारका सदस्यले घर बोलाएको उनले बताए। ‘हामीलाई परिवारले बोलाइरहेका छन्। खेतीको सिजन सुरू भयो। जवान केटा सबै घरबाहिर छन्। लकडाउन नभएको भए पनि हामी यो बेला काम गर्न घर घर जान्थ्यौं,’ चौधरीले भने।
उनीहरूलाई खान, बस्नको व्यवस्थापन गरिदिन माग गर्दै जानकी गाउँपालिकाले सिरानचोक गाउँपालिकामा इमेलबाट पत्र पठाएको थियो। सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरूङले सेतोपाटीसँग कुराकानी गर्दै आफूहरूले खानबस्नको व्यवस्था गर्न खोजे पनि उनीहरूले नमानेको बताए।
‘मैले दुई घन्टा उहाँहरूसँग छलफल गरे। खानबस्नको राम्रो व्यवस्था गाउँपालिकाले बस्छ भनेको उहाँहरू मान्नुभएन। जसरी पनि घर जाने भन्नुभयो,’ गुरूङले भने, ‘जति मीठो खान दिए पनि यहाँ नबस्ने गाउँ जाने भनेर उहाँहरू बिहीबार यहाँबाट पैदल नै जानु भयो।’
६१ जनामध्ये ८ जना अजिरकोट गाउँपालिका मुच्चोक, ९ जना पालुङटार नगरपालिका र बाँकी सिरानचोक गाउँपालिकामा काम गर्दै आएका थिए।
‘भूकम्पपछि उहाँहरूलाई नेत्रराम चौधरीले कामका लागि गोरखा ल्याउनुभएको रहेछ,’ अध्यक्ष गुरूङले भने, ‘घर, स्वास्थ्यचौकी, विद्यालय भवन निर्माणमा उहाँहरू काम गर्दै आउनुभएको थियो।’
चार वर्षदेखि उनीहरू गोरखामा काम गर्दै आएका थिए।
‘६१ जनामध्ये ८ जना हिजो विहान यहाँबाट जानुभयो। बाँकी साथीहरू बेलुकी जानुभएको हो,’ उनले भने, ‘बाटोमा केही समस्या पर्यो भने खबर गर्नू भनेको छु।’
गुरूङका अनुसार गए राति उनीहरूले पटकपटक फोन गरिरहे। जब प्रहरीले बाटोमा रोक्छ तब गाउँपालिका अध्यक्ष गुरूङको मोबाइलमा नेत्ररामले फोन गर्थे।
‘प्रहरीलाई भनेर उनीहरूलाई छाडिदिन आग्रह गर्ने गरेको छु,’ उनले भने, ‘भोकै सडकमा राखेर के गर्ने? बरू हिड्न दियो भने त केही बाटो पार गर्छन्।’
चौधरीले आफूहरू कहाँ पुगेको, खाए/नखाएको गाउँपालिका अध्यक्षलाई जानकारी गराइरहेका छन्।
‘एउटा टोली कावासोती पुगेर खाना खाएको छ। अर्को टोली आँपटारीमा छौं भनेर भर्खरै खबर आएको थियो,’ गुरूङले भने, ‘कावासोतीमा वडाध्यक्ष र स्थानीय बासिन्दाले खाना खुवाएका छन् रे।’
गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले आफूले आग्रह गर्दा पनि उनीहरूलाई रोक्न नसकेको बताए।
‘यहीँ बस्नु सबै सेवा सुविधा हुन्छ भन्दा उहाँहरू मान्नुभएन,’ मेयर पन्तले भने, ‘गाडीमा पुर्याइदिने काबु स्थानीय सरकारमा छैन।’
हिडेरै कैलाली जान लागेका उनीहरूलाई छेपेटारस्थित सूर्योदय युवा क्लवले पनि क्वारेन्टाइनमा राख्न खोजेको थियो, सकेन।
कैलालीस्थित जानकी गाउँपालिका उपाध्यक्ष उमा महतोले गोरखाबाट पैदलै आएकाहरूलाई उद्धार गरिने जानकारी दिइन्। शुक्रबार सेतोपाटीसँग कुराकानी गर्दै उनले बर्दिया आइपुगेको टोलीलाई लिन आफू गाडी लिएर गइरहेको पनि बताइन्।
‘उहाँहरू त्यतिधेरै टाढादेखि आइहाल्नुभयो। बर्दियासम्म नगरपालिकाको गाडी लगेर उद्धार गर्दैछौं,’ उनले भनिन्। केही दिन अघि गोरखाबाट गएको एउटा टोली आज बर्दिया पुगेको छ।
गोरखाबाट अहिले चितवन हुँदै गइरहेको टोलीलाई पनि उद्धार गरिने उनले जानकारी दिइन्।
‘सिडिओसावहरूसँग कुराकानी गरेर अलि परसम्म उद्धार गर्न जाने भन्ने पहल गर्दैछौं,’ उनले भनिन्, ‘कोहलपुरसम्म भने पनि उद्धारका लागि जान्छौं।’
गोरखाबाट बर्दिया, पर्सा र रूकुमपश्चिम पनि हिँडेर मानिसहरू गइरहेका छन्।
बारपाक सुलिकोट गाउँपालिकामा काम गर्दै आएका ११ जनाको टोली हिँडेरै बर्दिया जाँदैछन्। ‘यहाँ बसेर काम भएन। हामी त हिँडेरै घर जाँदैछौं,’ शिव चौधरीले भने।