चितवनको इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरूङ शुक्रबार बिहानैदेखि पृथ्वीराजमार्गमा छिन्।
काठमाडौंलगायत जिल्लाबाट हिँडेर तराईका विभिन्न जिल्ला जाँदै गरेकाहरूलाई गाडीमै घरसम्म पुर्याउने काममा शुक्रबार बिहान ८ बजेदेखि उनी सक्रिय छन्।
‘हिँडेर आएका मानिसहरू अलपत्र परे। खाली गाडी रोकेर मानिसहरूलाई गन्तव्यमा पठाएकी छु,’ अध्यक्ष गुरूङले सेतोपाटीसँग भनिन्।
बिहीबारदेखि धादिङ र चितवनको सीमा मोवाखोलामा रोकिएका एक सय जना र आज हिँड्दै मोवाखोला पुगेका थप तीन सय जना गरी चार सय जनालाई गन्तव्यमा गाडी चढाएर पठाएको उनले जानकारी दिइन्।
अध्यक्ष गुरूङका अनुसार काठमाडौंमा सामान पुर्याएर रित्तै फर्किएका ट्रकलगायत सवारी साधनमा राखेर भैरहवा, बारा, पर्सा, बुटवल, उदयपुरलगायत ठाउँका मानिस पठाइएको छ।
‘काखमा स-साना बालबच्चा बोकेकी आमा र लौरी टेक्दै आएका बूढाबुढीका दु:ख हेर्न सकिनँ,’ अध्यक्ष गुरूङले सेतोपाटीसँग भनिन्, ‘कहीँ नरोकिने गरी सम्बन्धित ठाउँ नै पुग्ने गाडीमा राखेर मानिसहरू पठाइदिएको छु।’
शुक्रबार अपरान्ह ५० जना मानिसहरू मोवाखोला पुगेका छन्। उनीहरूलाई गाडीमा पठाएपछि मात्रै आफू घर फर्किने उनले बताइन्।
‘म ६ बजेसम्म राजमार्गमै बस्छु। मानिसहरू अलपत्र पर्न दिन्नँ,’ उनले भनिन्।
हिँडेर मोवाखोला पुगेका मानिसलाई साबुनपानीले हात धुन लगाएको र आराम गर्न लगाएको उनले बताइन्।
‘गाडी नपाउन्जेल हात धुने, नुहाउने, आराम गर्ने र भोक लागेकाहरूलाई चाउचाउलगायत खाने कुरा दिएका छौं,’ उनले भनिन्, ‘मानिसलाई पैदल नै गन्तव्यमा जान दिइरहने हो भने लकडाउन पनि उल्लंघन हुन्छ। मानिसहरूले दु:ख पनि पाउँछन् बरू गाडीमै पठाइदिएको हुँ।’
हिँडेर घर गइरहेकाहरूलाई उचित व्यवस्थापन गर्न ढिलाइ गर्न नहुने उनको बुझाइ छ।
‘बच्चा बोकेका आमाहरू र लौरी टेका बूढाबुढी हिँडेर दु:ख पाएको राम्रो लागेन,’ उनले भनिन्, ‘बिहानैदेखि म सडकमै बसेर उनीहरूलाई गाडीको व्यवस्था गर्दैछु।’
तस्बिरहरू:
सबै तस्बिर : गीताकुमारी गुरूङको फेसबुकबाट।