घरमा आमा बितेपछि महाकालीपारिको क्वारेन्टाइनमा किरिया बसेका दार्चुलाका वासुदेव भट्ट शुक्रबार पनि घर फर्किन पाएनन्।
भारतीय अधिकारीहरूले केन्द्रबाट अनुमति नआएको भन्दै शुक्रबार पनि उनलाई वारि आउन दिइरहेका छैनन्।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार उनले बुधबार नै पिथौरागढका सबडिस्ट्रिक्ट म्याजिस्ट्रेटलाई वासुदेवलाई छोडिदिन पत्र पठाएका थिए।
‘मैले पत्र पठाएको दिन उनी विदामा रहेछन्। अर्को दिन आएर डिएमलाई फरवार्ड गरेछन्। डिएमले राजधानी देहरादुन पठाएछन्। देहरादुनले यो त केन्द्रको विषय हो भन्दै दिल्ली पठाएको छ,’ पौडेलले भने,‘केहीबेरअघि मात्रै मैले डिएमसँग कुरा गरेको थिएँ। उनले दिल्लीको गृह मन्त्रालयबाट कुनै जानकारी नआएको बताए। ’
वासुदेवलाई घर फर्काउने काम अहिलेसम्म प्रशासनिक तहमै भइरहेको छ।
नयाँदिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले यसबारे सहजीकरण गर्न आफूलाई कुनै औपचारिक जानकारी नआएको बताएको छन्।
‘उहाँको अवस्थाबारे हामीले समाचार पढेर थाहा पाएका हौं। अहिलेसम्म परराष्ट्रले यसमा सहजीकरण गर्नु भनेको छैन,’ राजदूत आचार्यले सेतोपाटीसँग भने।
दार्चुलाका सिडिओ पौडेलले यसअघि लकडाउनकै बेला महाकालीपारि नेपालीको मृत्यु हुँदा डिएमले नै निर्णय गरेर पठाएको भएकाले यसपालि पनि त्यसैगरी प्रक्रिया चालेको बताए।
‘अस्ति नै एक नेपालीको शव ल्याउँदा उनीहरूले सजिलै मानेका थिए। तर यसपालि धेरै नै समय लगाए,’ पौडेलले भने,‘अब म भोलि परराष्ट्र मन्त्रालयलाई पनि पत्र लेख्छु।’
भारतमा मजदुरी गर्न गएका शैल्यशिखर नगरपालिका-१ वासुदेव भट्ट चैत ११ गतेदेखि लकडाउन भएपछि अहिले सीमापारिको क्वारेन्टाइनमा बसिरहेका छन्। उनकी ५५ वर्षीया आमाको गत मंगलबार हृदयघातले मृत्यु भएको हो।