उदयपुरमा गरिएको र्यापिड टेस्टले चीनबाट ल्याइएको किटको विश्वसनीयतामाथि प्रश्न उठेको छ। बुधबार किटबाट गरिएका १२ परीक्षण उल्टिएपछि किटमाथि प्रश्न खडा भएको हो।
भारतबाट आएर उदयपुरको भुल्के मस्जिदमा बसेका १२ जना भारतीयसहित १६ जनाको गत बुधबार र्यापिड टेस्ट गरिएको थियो। जसमा १६ जनाकै नतिजा नेगेटिभ आएको थियो।
विदेशबाट आएका हुनाले उनीहरूको शुक्रबार पुनः पिसिआरमा स्वाब परीक्षण गरियो। त्यसमा १६ मध्ये १२ जनामा कोरोना पोजेटिभ भेटिएको हो।
'हामीले र्यापिड परीक्षण गर्दा नेगेटिभ देखाएको थियो। तर हामीलाई शंका लागेर सबैको स्वाब परीक्षणका लागि झिकेका थियौं,' परीक्षणमा खटिएका स्वास्थ्यकर्मी मोहन सुवेदीले सेतोपाटीसँग भने, 'त्यसपछि हामीले स्वाब कोशी अस्पतालको प्रयोगशालामा पठाएका थियौं।'
त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले र्यापिड टेस्टको नतिजा नेगेटिभ आएकोमा आश्चर्य व्यक्त गरे।
यसअगाडि नै चीनबाट ल्याइएका र्यापिड टेस्ट किटको गुणस्तरमा विज्ञहरूले प्रश्न तेर्स्याएका थिए।
'हामीलाई यसको नतिजामा विश्वास छैन। विश्व स्वास्थ्य संगठनले पनि यो किटलाई मान्यता दिएको छैन,' प्रयोगशालामै काम गर्ने एक स्वास्थ्यकर्मीले भने, 'सकेसम्म हामी यो किट प्रयोग गर्दैनौं।'
गत चैत २५ गते वीरगन्जबाट कैलाली पुगेका एक महिलाको पनि र्यापिड टेस्ट गर्दा नतिजा नेगेटिभ देखाएको थियो। त्यसपछि उनीसँगै नेगेटिभ आएका १६ जनालाई २९ गते घर पठाइयो। तर वैशाख १ गते पिसिआरमा गरिएको परीक्षणमा महिलामा कोरोना संक्रमण देखियो। लगत्तै महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरियो।
र्यापिड टेस्टले कोरोना संक्रमित व्यक्तिमा उक्त भाइरसविरुद्ध लड्ने एन्टिबडी बनेको छ वा छैन भनेर पत्ता लगाउने हो। विज्ञहरूका अनुसार कसैलाई कोरोना संक्रमण देखिएपछि व्यक्तिको शरीरले एन्टिबडी उत्पादन गर्न थाल्छ। यो एन्टिबडी दुई प्रकारको हुन्छ। एउटा 'आइजिएम' र अर्को 'आइजिजी'। आइजिम संक्रमण भएको दुई-तीन दिनमा उत्पादन हुन सुरू गर्छ र दुई सातासम्ममा हराएर जान्छ। त्यसपछि अर्को आइजिजी भन्ने एन्टिबडी उत्पादन हुन सुरू गर्छ। यसको काम पनि भाइरससँग लड्ने हो।
त्यसैले आइजिएम पोजेटिभ देखायो भने कोरोना भाइरस भर्खरै भएको भन्ने हुन्छ। आइजिजी पोजेटिभ देखायो भने कोरोना संक्रमण अलिअगाडि थियो भन्ने हो।
अर्को कुरा, कोरोना भाइरस मरेर गए पनि हाम्रो शरीरमा आइजिजी भन्ने एन्टिबडी लामो समयसम्म रहिरहन सक्छ। त्यस्तो बेला र्यापिड टेस्ट गर्दा पोजेटिभ तर पिसिआरमा परीक्षण गर्दा नेगेटिभ आउन सक्छ। त्यो भनेको हाम्रो शरीरमा कोरोना भाइरस मरिसक्यो तर त्योविरुद्ध लड्ने एन्टिबडी जिवित नै छ भन्ने हो।
मस्जिदमा रहेका १६ जना गत चैत ७ गते मोरङ, सुनसरी हुँदै उदयपुर आइपुगेका थिए। जसमा १६ मध्ये १२ जना भारतीय नागरिक छन्। उनीहरूले विदेशबाटै संक्रमण ल्याएको भन्ने देखाउँछ। यसै पनि नेपालमा अहिलेसम्म देखिएका सबैजसो संक्रमण आयातित छन्।
त्यसैले मस्जिदमा भएका १६ मध्ये १२ जना पोजेटिभ देखिएकालाई २० दिनअगाडि नै संक्रमण भएको भए र्यापिड टेस्टले पोजेटिभ देखाउनुपर्थ्यो। किनभने उनीहरूमा यो बेलासम्म एन्टिबडी उत्पादन भइसकेको हुनुपर्छ।
उनीहरूमा भर्खरै संक्रमण देखिएको हो भने उनीहरूलाई अरू कसैबाट यो साताभित्र सर्यो भन्ने सम्भावना छैन। उनीहरू चैत ७ गते उदयपुर आएदेखि त्यही मस्जिदमा छन्।
मस्जिदमा रहेका १६ मध्ये ४ जनाको भने र्यापिड र पिसिआर दुवै परीक्षणमा नेगेटिभ देखिएको छ। यद्यपी चार जनालाई पनि विराटनगरको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ।
सरकारले चीनबाट यो किट ल्याए लगत्तै विज्ञहरूले यसमाथि प्रश्न उठाएपछि सरकारले यसको गुणस्तर टुंगो गर्ने जिम्मा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्लाई दिएको थियो। तर परिषद्ले अहिले अनुसन्धान गर्ने बेला होइन भन्दै पन्छियो। त्यसपछि, स्वास्थ्य मन्त्रालयले त्यसको जिम्मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई दियो।
प्रयोगशालाले भने चीनबाट यो किट ल्याउन मन्त्रालयलाई सुझाएको थिएन। प्रयोगशालाकी निर्देशक डा. रूना झाले सेतोपाटीसँगको कुराकानीमा आफूले र्यापिड टेस्ट किट ल्याउन सिफारिस नगरेको बताएकी थिइन्।
मन्त्रालयको दबाबपछि प्रयोगशालाले यसको गुणस्तर नाप्ने जिम्मा लियो। लगत्तै अनुसन्धान परिषद्सँगको सहकार्यमा कैलाली र कञ्चनपुरबाट १ सय ९८ वटा नमूना 'क्रस चेक'का लागि ल्याइएको थियो। त्यो बेला एउटै व्यक्तिको स्वाब र रगतको नमूना ल्याइएको हो। एकै व्यक्तिका नमूना किट र पिसिआर दुवैमा जाँचेर किटको विश्वसनीयता प्रमाणित गर्ने भनिएको थियो।
तर मन्त्रालयले अहिलेसम्म त्यो रिपोर्ट सार्वजनिक गरेको छैन।
मन्त्रालयले कोरोना 'अपडेट'का लागि दैनिक सवा चार बजे गर्ने प्रेस ब्रिफिङमा आजसम्म पनि यसको रिपोर्टबारे केही बोलेको छैन। किटमाथि चौतर्फी प्रश्न उठिरहेका बेला मन्त्रालयले यसबारे प्रष्ट पार्नुपर्ने हो।
सेतोपाटीले पटकपटक यसबारे सोध्न खोज्दा पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मन्त्रालयलाई नै सोध्न भन्दै पन्छियो। मन्त्रालयमा कुरा गर्दा यसबारे राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले रिपोर्ट प्रकाशन गर्ने जनायो। तर अहिलेसम्म परिषद्ले रिपोर्ट प्रकाशन गरेको छैन।
सरकारले सात करोड बढी रकम खर्चेर चीनबाट ७५ हजार यस्ता किट ल्याएको छ।