कोरोना महामारीका कारण सुरू लकडाउनले धेरै देशमा मानवीय चहलपहल कम भएपछि जंगली जनावरले सन्तोषको सास फेर्न थालेका छन्। मानव अतिक्रमणको शिकार हुँदै आएका ती जनावर लकडाउन बेला आफ्नो प्राकृतिक बासस्थानमा रमाइरहेका दृश्य देखिएका छन्।
वेल्स (संयुक्त अधिराज्य) मा बाख्राको बथान होस् वा इटालीमा जंगली बँदेलको हुल– संसारका विभिन्न मुलुकबाट जंगली जनावरका मनमोहक क्रिडाको तस्बिर सार्वजनिक भएका छन्।
यही क्रममा दक्षिण अफ्रिकाको क्रूगर राष्ट्रिय निकुञ्जले केही यस्ता तस्बिर सार्वजनिक गरेको छ, जसमा सिंहहरू शान्त जंगलमा रमाइरहेका देखिन्छन्। जंगलको 'राजा' भनिने सिंहले सायद पहिलोचोटि वास्तवमै आफू राजा भएको अनुभूति गरेका छन्।
निकुञ्जभित्र बाटोमा घाम तापिरहेका सिंहको बथान यति शान्त मुद्रामा छन्, उनीहरूलाई त्यहाँका रेञ्जर रिचर्ड सौरीले फोटो खिचिरहेको पनि परवाह छैन।
‘यी सिंहहरू यहाँ आउने प्रायः पर्यटकको नजरमै पर्दैनन्। यस्तरी बाटोमै डुलिरहेको देखिनु त विरल घटना हो,’ क्रूगर निकुञ्जले बुधबार ट्वीट गरेको छ, ‘आज मध्याह्न सिंहको बथान रेस्ट क्याम्प बाहिरको सडकमा आरामले पल्टिरहेको देखियो।’
सामान्य दिनमा यो निकुञ्ज पर्यटकले भरिएको हुन्छ। मानवीय चहलपहलले डराएर जंगली जनावरहरू लुकिछिपी बस्छन्। कोरोना भाइरस रोकथाम गर्न दक्षिण अफ्रिकाले मार्च २५ देखि लकडाउन गरेपछि क्रूगर निकुञ्ज पनि बन्द छ।
‘मध्याह्न बेला यसरी बाटोमै सिंहहरू देखिनु यहाँको निम्ति असामान्य घटना हो,’ निकुञ्जका प्रवक्ता इसाक फालाले सिएनएनलाई भने, ‘लकडाउन नहुँदो हो त यो समय पर्यटकको भीडभाड हुन्थ्यो, जनावरहरू झाडीमा लुक्न जान्थे।’
पर्यटकको चहलपहल हुँदा यस्ता खुला ठाउँमा जनावर विरलै आउने गरेको पनि उनले बताए। ‘अहिले मान्छे नभएको मौका छोपेर खुला रूपमा घुमफिर गर्न पाएका छन्,’ उनले भने।