उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १२ जनालाई कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि उक्त बस्तीमा र्यापिड टेस्ट गर्ने तयारी भएको छ।
शनिबार दिउँसो १ बजेबाट परीक्षण सुरू गरिने स्वास्थ्य कार्यालय प्रमुख डा. मोहन सुवेदीले जानकारी दिए।
उनले आज कम्तीमा सय जनाको र्यापिड टेस्ट गरिने बताए।
त्यस्तै बस्तीमा रहेका परिवारको एक जना सदस्यको पिसिआर परीक्षणको लागि स्वाब पनि झिक्ने तयारी गरिएको छ।
'र्यापिडको मात्र भर भएन। हामी परिवारको एक जनाको पिसिआर परीक्षणको लागि स्वाब पठाउँदैछौं,' डा. सुवेदीले भने, 'विराटनगरबाट सामग्री आएपछि हामी परीक्षण सुरू गर्छौं।'
संक्रमित १२ जनाको पनि गत बुधबार र्यापिड टेस्ट गर्दा नेगेटिभ देखिएको थियो। हिजो पिसिआरमा फेरि पोजेटिभ पुष्टि भएपछि सबैलाई विराटनगरको कोरोना विशेष अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।
मस्जिदमा संक्रमित १२ जनासँगै जम्मा १६ जना बसेका थिए। नेगेटिभ नतिजा आएका ४ जनालाई मोरङको टाँडीस्थित क्वारेन्टाइन स्थलमा पठाइएको छ।
आज परीक्षण गर्ने भनिएको बस्तीमा साढे तीन सय घरधुरी छन्। हिजै रातिबाट बस्तीलाई सिल गरिएको छ। अहिले उक्त क्षेत्रमा सुरक्षाकर्मी खटिएका छन्।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। उनीहरूमा कुनै लक्षण नरहेको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन्।