कैलाली, लम्कीचुहाका २१ वर्षीय युवक छ महिनाअघि मात्र भारत गएका थिए। आमा पत्थरी र बुवा दमका रोगी छन्।
एक दाजु शारीरिक रूपले अशक्त छन्। आर्थिक अवस्था पनि राम्रो छैन। अरू दुई जना दाजु पैसा कमाउन भारत गएका थिए। उनी पनि साथीहरूसँगै पैसा कमाउन हिँडे।
‘दाइहरू पञ्जाबमै बस्नुहुन्छ। भाइ र म मुम्बईमा थियौं,' १२ वर्ष उमेरदेखि नै भारत जान थालेका उनले भने, 'भाइ मभन्दा बीस–पच्चीस दिनअघि फर्केको हो।‘
उनी मुम्बईको एउटा होटलमा खाना पकाउने काम गर्थे। जब भारतमा कोरोना संक्रमणको खबर आगोसरि फैलियो, उनलाई आमाले फोन गरेर बोलाउन थालिन्। उनी आफैं पनि डराएका थिए। परदेशमा डर लागेपछि सम्झिने त आफ्नै घर हो।
‘आमाले पैसा मात्र भएर हुन्न, ज्यान जोगाउनुपर्छ आइज भन्नुभो,' उनले भने, 'मलाई पनि डरै थियो।’
चैत ८ गते उनीहरू मुम्बईबाट गौरीफन्टाको गाडी चढे। उनीहरूको गाडीमा सय जनाभन्दा बढी नेपाली थिए। उनीहरू ६० घन्टामा गौरीफन्टा आइपुगे।
‘१० गते राति ११ बजेतिर गौरीफन्टा पुगियो। भारतका विभिन्न सहरबाट आएका हजारौं थिए,’ उनले भने, ‘राति बोर्डर पार गर्न नमिल्ने, बिहान स्वास्थ्य जाँचेर मात्र जान पाइन्छ भन्ने भयो।'
उनीहरू भोलिपल्ट पनि जान पाएनन्। घर फर्कन आन्दोलन गर्नुपर्यो। अठार घन्टापछि बल्ल उनीहरू नेपाल छिर्न पाए। उनीसँगै बैङ्लोरबाट आएका तीन जना साथी पनि थिए।
घर पुग्दा आमाबुवा आँगनमा भेट भए।
‘देखादेख मात्र भयो,’ उनले भने, ‘ममीले पहिले हातखुट्टा धोएर, नुहाएर मात्र भित्र पस भनेपछि झोला आँगनमै राखेर नुहाउन गएँ।'
घरमा बसेको डेढ घन्टा मात्र भएको थियो, उनलाई भेट्न प्रहरी आइपुगे। एक जना छिमेकी दाइ सँगसँगै थिए। ‘भारतबाट आएकालाई क्वारेन्टाइनमा बस्न भनिएको छ, तिमी पनि उतै जाऊ भने,’ ती दाइले भने।
उनी सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसे। त्यहाँ चार जना एकै कोठामा बस्थे।
‘क्वारेन्टाइनमा खाना बनाउने मान्छे राखेको थियो। खाना प्लास्टिकको थालमा दिन्थे। नल्कामा मोटर चलाएर पानी प्रयोग गर्थ्यौं,’ उनले भने।
क्वारेन्टाइनमा बसेको ६ या ७ दिनपछि धनगढीबाट स्वास्थ्य जाँच गर्ने मान्छे आए। उनीहरूको मुखबाट थुक (स्वाब) लिएर गए। त्यसको ४ दिनपछि टिकापुरबाट एम्बुलेन्स आयो। फेरि जाँच गर्न धनगढी जानुपर्ने भनियो।
‘मलाई पोजेटिभ छ भनेर भनिएको थिएन,’ उनले सम्झिए।
धनगढी आउँदासम्म पोजेटिभ छ भन्ने थाहा थिएन उनलाई। आइसोलेसनमा राखेपछि बल्ल उनले अनुमान गरे, ‘पोजेटिभ त होला, नभए किन राख्थे?’
'राति आमा फोन गर्दै रूनुभयो। बुबा पनि चिन्तित हुनुभयो। मलाई बल्ल डर लाग्यो। यहाँ किन बसाएको होला? मलाई किन केही सुनाएनन्? यस्तै कुरा सोच्थेँ,’ उनले भने।
त्यो साँझ निकै अप्ठ्यारो लागेछ उनलाई। साथीहरूले पनि फोन गरे। लामो समय बस्नुपर्दैन, आइहलिन्छ भनेर लुगाफाटो र फोन चार्जर पनि ल्याएका थिएनन्।
दोस्रो दिन फोन अफ भयो। तेस्रो दिनतिर डाक्टरले उनको स्वास्थ्य परीक्षण गरे। नमूना पनि लिए। उनको फोन पाँच दिनसम्म अफ भयो। एक जना नर्सले चार्जर ल्याएर दिएपछि बल्ल घरमा कुराकानी हुन थाल्यो।
आइसोलेसनमा बस्दा बिहान नास्ता, दिउँसो र बेलुकीको खाना नर्सहरूले ल्याएर दिन्थे। शौचालय नजिकै थियो। नुहाउन पनि शौचालय प्रयोग गर्थे।
‘नर्स र डाक्टरले हामीलाई राम्रो व्यवहार गर्नुभयो। यहाँ त उहाँहरू नै आफन्तजस्तो लाग्छ,’ उनले भने।
उनको स्वास्थ्य राम्रै थियो। त्यसैले खास केही भएको उनलाई लाग्दैनथ्यो। मनको त्यही विश्वासले उनी आइसोलेसनमा बसेका थिए।
‘आजभोलि त दिनभरि मोबाइल चलाउँछु। समाचार हेर्छु। फिल्म हेर्छु,’ उनले फोनमा सुनाए, ‘मलाई रुघा, ज्वरो, टाउको दुख्नेजस्ता लक्षण छैनन्।‘
आइसोलेसनमा बसेको १४ दिन बितेपछि शनिबार दिउँसो ११ बजेतिर फेसबुक हेर्दै थिए। चार जनाको पोजेटिभ र लम्कीका युवकको रिपोर्ट नेगेटिभ आयो भनेर लेखेको देखे। उनको मन खुसीले उफ्रियो। उनी जुरूक्क उठेर कोठाभित्र नाच्न थाले।
‘म उसै पनि नाच्ने-गाउने मान्छे। खबर देखेपछि कोठामा एक्लै उफ्रेर नाचेँ,’ फोनमै पनि उनी खुब खुसी सुनिएका थिए।
उनले त्यसपछि आमालाई फोन गरेर खबर सुनाए।
डाक्टरले अर्को रिपोर्ट पनि नेगेटिभ आए बल्ल डिस्चार्ज गर्न मिल्छ भनेका छन्। ‘मलाई विश्वास छ अर्को रिपोर्ट पनि नेगेटिभ नै आउँछ,’ उनले भने।
उनलाई घर गइहाल्न मन त लागेको छ, तर सबैले कोरोना लागेको मान्छे भनेर छिछि दुरदुर गर्छन् कि भन्ने चिन्ता छ।
‘मृत्युलाई जितेजस्तो अनुभव भएको छ। कोरोनाबारे मान्छेहरू चिन्तित छन् भने म सम्झाउँछु,’ उनले भने।