कोरोनाभाइरस रोकथामका लागि भन्दै अहिले गाउँ र शहरमा समेत बाटो बन्द गराएका छन्। स्थानीयले तगारो बनाएर, रूख ढालेर, ढुंगा राखेर अत्यावश्यक सवारीसमेत आवागमनमा अवरोध हुने गरी बाटो बन्द गराएका हुन्।
प्रशासनले यसरी सार्वजनिक बाटो बन्द गराउन नपाउने भनेपनि अधिकाँश गाउँ र शहरका भित्री बाटाहरु बन्द नै छन्।
तनहुँको एउटा सामुदायिक बनमा भने रूख ढालेर बाटो बन्द गराउने ३ जना युवालाई कारबाही गरेको छ।
तनहुँको भानु २ स्थित नारेश्वरदेखि दोरदोर गाउँ जाने मोटर बाटोमा सानो देउराली सामुदायिक वन पर्छ। कोरोना भाइरस रोकथामका लागि भन्दै स्थानीय युवाले चैत २५ गते मोटरबाटो छेउको ३ वटा रूख ढाले। बाटो छेकियो। सवारी साधनको आवागमन लकडाउनका कारण बन्द भएपनि युवाहरुले रूख नै ढालेर बाटोमा तेस्र्याएपछि अत्यावश्यक सवारी साधन पनि जान नसक्ने भयो।
बाटो छेक्न सामुदायिक बनका सालका रूख ढाल्ने स्थानीय ३२ वर्षीय विष्णुकुमार श्रेष्ठ, २८ वर्षीय दिलबहादुर सुनार र व्यास ११ का सन्दीप श्रेष्ठ थिए। उनीहरुलाई स्थानीय सामुदायिक वन समूहले कारबाही गरेको छ। सानो देउराली सामुदायिक वन समूहले यी ३ जना युवाबाट २५ हजार जरिवाना असुलेको छ।
वन ऐन र कार्यविधिले सामुदायिक वनको रूख अनधिकृत रूपमा काट्नेलाई जरिवाना गर्न सक्ने अधिकार दिएको छ। सोही अधिकारको प्रयोग गर्दै ती युवाहरुबाट जरिवाना असुल गरेको सामुदायिक वन समूहका अध्यक्ष कुमार खड्काले जानकारी दिए।
यता, जिल्ला वन कार्यालयले पनि उनीहरूलाई कारबाहीको तयारी गरेको छ। सामुदायिक वनको रूख काटिएको खबर पाउनेबित्तिकै वन कार्यालयका कर्मचारी अनुगमन गर्न पुगेका थिए। अनुगमनका क्रममा तीनवटा रूखका गरेर ६० क्युफिट काठ अनधिकृत काटेको पाइएको जिल्ला वन अधिकृत केदार बरालले बताए।
‘वन ऐन र कार्यविधि अनुसार १ क्युफिट सालको काठ अनधिकृत काटेको पाइएमा एक हजार जरिवाना हुन्छ,’ बरालले सेतोपाटीलाई भने, ‘उनीहरू ३ जनाबाट कम्तिमा ६० हजार जरिवाना हुन्छ।’
निजी जमिनमा हुर्किएकै भएपनि सालका रूख अनाधिकृत काट्न नपाइने उनले बताए।
लकडाउन खुलेपछि जिल्ला वन कार्यालयमा उनीहरू तीनै जनालाई हाजिर गराएर बयान लिने जिल्ला वन कार्यालय तनहुँको तयारी छ। लकडाउन खुलेपछि जिल्लामा हाजिर हुने गरी कागज बनाएर सामुदायिक वन समूहका अध्यक्ष खड्काको रोहवरमा उनीहरूलाई छाडिएको बरालले बताए।
लकडाउनमा बाटो छेक्ने निहुँमा रूख काट्न नपाइने भन्दै उनले अनधिकृत रूख ढाल्ने सबैलाई कारबाही गर्ने बताए।