कोरोनाभाइरसको संक्रमण रोक्न नेपालमा चैत ११ देखि गरिएको लकडाउन दार्चुलाका वासुदेव भट्टका लागि गत मंगलबार बिहानसम्म भारतको सीमामा अड्किएका सयौं नेपालीलाई जस्तै थियो।
दार्चुलापारिको धार्चुलामा उनी हजार बढी नेपालीसँगै क्वारेन्टाइनमा बसेका थिए।
तर मंगलबार साँझ उनको जीवन बज्रपात आइलाग्यो। शैल्यश्वरी नगरपालिका-१ स्थित उनको घरमा उनकी आमा बितिन्।
अरूका लागि पो त्यो सामान्य मृत्यु थियो। उनका लागि त एकछिन आकाशै खसेजस्तो भयो। भक्कानिए।
सँगैका साथीभाइले सम्झाए। उनलाई जन्म दिने आमाको अनुहार अन्तिम पटक हेर्ने मन थियो। जेठो छोरो भएकाले चितामा दागबत्ती दिने कर्तव्य पनि उनकै थियो।
आमा गुमाएको पीडा भुल्दै गला अवरूद्ध पार्दै उनले दार्चुलाका जनप्रतिनिधि र सिडिओलाई फोन गरे। फोन उठाउनेहरूसँग आफूलाई घर आउन दिन अनुनय/विनय गरे।
उनलाई फर्किन पाइन्न। कसैले भनेनन् तर निर्णय दार्चुला र धार्चुलाका स्थानीय अधिकारीका हातमा थिएन। काठमाडौं र नयाँदिल्लीले सीमामा पूर्ण लकडाउन नो इफ नो बट भनेकाले निर्णय पनि उनीहरूले नै गर्नुपर्थ्यो।
घर फर्किने रातभरको प्रयासपछि पनि कुनै सिप नचलेपछि बुधबार बिहान उनका भाइलाई नै आमाको दाहसंस्कार गरे। वासुदेव क्वारन्टाइनमै कोरामा बसे।
अर्कोदिन दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उनलाई नेपाल आउन दिन अनुमति मागेर गृह मन्त्रालयमा पत्र पठाए।
गृहले बिहीबार जवाफ दियो। तर नेपाली पक्षले मात्र नाका खोलेर हुँदैनथ्यो।
बुधबार नै शैल्यशिखर नगरपालिका-१का वडाध्यक्ष भरतबहादुर खडायतले वासुदेवलाई फर्ता ल्याउन आवश्यक पहल गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाए।
कार्यालयले पत्र पाउन बित्तिकै धार्चुलाको एसडिएम कार्यालयमा पत्र पठायो। बुधबार रातिसम्म नेपाल फर्किन सक्ने बताए पनि उनि फर्किएनन्।
बिहिबार एसडिएम अनिल सुक्लाले डिस्ट्रिक म्याजिस्ट्रेट बिदामा बसेकाले पत्र अड्किएको बताए।
'उहाँ हिजो विदामा बस्नुभएको आज फर्किनुहुन्छ होला,' उनले सेतोपाटीसँग भनेका थिए।
बिहीबार पिठौरागढका डिस्ट्रिक म्याजिस्ट्रेट डा.विजयकुमार जोगदंडेले उनलाई फर्काउन अनुमति दिइसकेको बताए।
'मैले त अनुमति दिइसकें अब नाकाका कमान्डेन्टको भरमा हो,' जोगदंडेले सेतोपाटीसँग भने।
डिस्ट्रिक्ट म्याजिस्ट्रेटले अनुमति दिए पनि नाका खोल्न भारतको गृह मन्त्रालयसँग अनुमति लिनु पर्ने भन्दै देहरादुन खबर गरियो।
'हामीलाई पत्र आयो र १ बजेतिर गृहमा पठायौं। त्यसको जवाफ आएको छैन,' कमान्डेन्ट एसएसबी माधव घोशले शुक्रबार सेतोपाटीसँग भने, 'हामीलाई रिप्लाई आउनेबित्तिकै नाका खोलेर पठाउछौं।'
दार्चुलाबाट देहरादुन हुँदै दिल्लीको गृह मन्त्रालयमै पुग्यो तर शुक्रबार जवाफ आएन।
त्यसपछि नेपालको प्रशासनले परराष्ट्र मन्त्रालयमार्फत् पहल गर्ने तयारी गर्यो। यद्यपी त्यसको औपचारिक प्रक्रिया भने थालिएको थिएन।
आइतबार भने एसएबीले मन्त्रालयबाट जवाफ पाएपछि सुरक्षा निकाय र प्रशासनसँग कुराकानी भयो। तत्कालै जिल्ला प्रहरी कार्यालयको टोली नाकामा लिन पुग्यो।
'उनीहरूको केन्द्रले नै लकडाउन गरेको भएर स्थानीय तहले निर्णय गर्न सकेन,' सिडिओ पौडेलले सेतोपाटीसँग भने,'मैले पत्र पनि पठाए पटकपटक मौखिक रूपमा पनि कुराकानी गरें र आज उनलाई फर्काउने कुरा भयो।'
गृहको आदेश आएपछि एसएबीले वासुदेवलाई महाकालीको पुलसम्म ल्याइदियो।
त्यसपछि नेपाली पक्षले पनि आफ्नोतिरको ढोका खोल्यो।
अनि आमा गुमाएको पाँच दिनपछि वासुदेवले आइतबार आफ्नो माटोमा टेक्न पाए।
नेपाल आएपछि उनलाई जिल्ला अस्पतालमा लगेर कोरोनाभाइरसको एन्टिबडी भए/नभएको पत्ता लगाउन टेस्ट गरियो। उक्त टेस्टको नतिजा नेगेटिभ आएपछि एम्बुलेन्समा राखेर उनलाई घर पठाइएको छ।