कोरोना भाइरसको संक्रमणपछि निको भएर फर्किँदा राजको घरमा आफन्तहरु पर्खाइमा थिए।
आँगनमा आमा, बुबा, दाजुभाई र केही छिमेकी उनलाई भेट्न हतारिएका थिए।
सेती प्रादेशिक अस्पतालमा १६ दिनको आइसोलेसन बसाइपछि आज साँझ उनी डिस्चार्ज भएर फर्केका हुन्।
अस्पतालबाट फर्किनु अघि उनले अरु उपचाररत बिमारीलाई शुभकामना दिए। ‘आफ्नो राम्रोसँग ख्याल गर्नुपर्यो, हिम्मत हार्नुभएन’ उनले भने ‘आइसोलेसनमा राम्रो बसाई थियो, डाक्टरहरुले पनि राम्ररी हेरिदिनुभयो।’
आफूमा लक्षण पनि केही नभएकाले ठीक हुन्छु भन्ने लागेको उनले बताए।
डिस्चार्जका क्रममा अस्पतालबाट स्वास्थ्यकर्मीहरुको टोलीले उनलाई फूलको गुच्छा हस्तान्तरण गर्दै बधाई दिए।
प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पनि बधाई दिँदै सरकारले जारी गरेका नियम पालना गर्न, जनचेतना फैलाउने काम गर्न आग्रह गरे।
एम्बुलेन्स चढी आफ्नो गाउँ प्रतापपुर पुगेका उनले भारतबाट फर्केको २९ दिनपछि घरभित्र प्रवेश पाए। आँगनमा पुग्दा केही मिटर टाढाबाटै आमाबुवा र आफन्तलाई ढोगे। आमाका आँखामा खुसीका आँशु रसाए, बुवा भावुक भए।
छिमेकीले खुसीको दिनमा रुन नहुने भन्दै सम्झाए। राज अब थप १५ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने छ।
स्वास्थ्यकर्मीको टोलीले उनलाई घरमा पालना गर्नुपर्ने कुराहरु लेखेर दिएका छन्। होम क्वारेन्टिनमा बस्दा उनले सामाजिक दुरी कायम गर्नुपर्नेछ। अरु कसैको सम्पर्कमा जान नहुने, प्रयोग गर्ने सामान अलग हुनुपर्ने जस्ता नियममा उनी थप केही दिन बाधिनुपर्ने छ।